कुखुराको मासु सस्तियो, उपभोक्ता र किसानभन्दा बिचौलियालाई फाइदा

काठमाडौँ — हरियो तरकारीको मूल्य उचाइमा पुगिरहेका बेला ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाउँदै गत शुक्रबार प्रतिकिलो २ सय ४० रुपैयाँ तोकेको छ ।

‘कुखुरा मासु बिक्री नै भएको छैन । मूल्य निरन्तर घटाउँदै बिहीबार २ सय ५५ र शुक्रबार पुनः २ सय ४० रुपैयाँ तोकेका छौं,’ संघका अध्यक्ष जगबहादुर बीसीले भने, ‘अवस्था यस्तै रहे मूल्य थप घट्न सक्छ ।’

कुखुराको मासु सस्तिए पनि उपभोक्ता किसानभन्दा बिचौलियालाई फाइदा भएको छ । जिउँदो कुखुरा तराईमा प्रतिकिलो १ सय ३५ रुपैयाँमै बिक्री भइरहेको छ । उपत्यकामा जिउँदो ब्रोइलर किलोको १ सय ७० रुपैयाँ तोकिए पनि किसानले करिब १ सय ५०/६० रुपैयाँ मात्र पाएका छन् ।

‘जिउँदो ब्रोइलरको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ तोकिएको छ । तर हामीले किलोको १ सय ४० देखि १ सय ५० रुपैयाँ मात्रै पाएका छौं,’ ललितपुरको टीकाथलीस्थित गरिखान देऊ कृषि तथा पशुपन्छी फार्मका सञ्चालक नवीन कार्कीले भने, ‘दाना उद्योग, ह्याचरी र कोल्ड स्टोरका कारण किसानले मूल्य पाएनन् ।’ बजारमा खपत उस्तै रहे पनि बिचौलियाको मिलेमतोमा किसानको मूल्य घटाएको उनको आरोप छ । सरकारले पनि बिचौलियाको मात्रै कुरा सुन्दा किसान पीडित बनेको उनको भनाइ छ ।

‘कोरोनाको बहानामा संघले बिक्री नभएको भन्दै मूल्य घटायो । संघमा दाना उद्योग, ह्याचरी र ठूलो कोल्ड स्टोरका सञ्चालक नै छन् । एउटै व्यक्तिले तीनैवटा व्यवसाय सञ्चालन गरेका छन्, उनीहरूले सेटिङमा मूल्य घटाउँछन्,’ कार्कीले भने, ‘जिउँदो कुखुराको मूल्य घटाएर कोल्ड स्टोरले मौज्दात गरिरहेका छन् ।

त्यसपछि अभाव बनाएर किलोमै ४ सय रुपैयाँमा बेच्छन् ।’ त्रिसिमा पोल्ट्री फार्मका सञ्चालक देवकुमार साहको भनाइ पनि उस्तै छ । सर्लाहीमा एक किलो जिउँदो ब्रोइलर कुखुरा १ सय २५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए । ‘अहिले लागत नै बढी छ । कुखुरा बिक्री गरेर लागत खर्च पनि उठ्दैन,’ उनले भने, ‘२५ सय चल्ला हालेको थिएँ । यही अवस्था रहे करिब डेढ लाख नोक्सानी हुने देखियो ।’

संघले मासुको मूल्य २ सय ४० रुपैयाँ तोके पनि खुद्रामा २ सय ६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ब्रोइलर कुखुराको मूल्य घट्दा सर्वसाधारणलाई केही राहत भएको छ । किसानले भने लागत मूल्य पनि उठाउन सकेका छैनन् ।

चल्लाको मूल्य, दाना, भिटामिनसहित एउटा कुखुरालाई ४० दिनसम्म पाल्दा करिब २ सय रुपैयाँ खर्च हुने चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काले जानकारी दिए । तर जिउँदो कुखुराको भाउ घटेर उपत्यकामा प्रतिकिलो १ सय ७० रुपैयाँ हुँदा समस्या भएको उनले बताए ।

व्यवसायीका अनुसार अहिले व्यापार छैन । कोरोना संक्रमण फैलिने क्रम तीव्र भएका कारण पसल खुल्न पाएका छैनन् । छिट्टै बेच्नुपर्ने प्रतिस्पर्धाका कारण किसानले मूल्य नपाएको बताएका छन् ।

संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँ तोके पनि किसानले तोकेको त्यसभन्दा १० रुपैयाँ कम पाउँछन् । व्यवसायीले बिल बनाउँदा थप १ प्रतिशत कम मूल्य दिन्छन् । ठूलो डिपार्टमेन्ट स्टोरसँगको मिलेमतोमा संघले मूल्य घटाएको चम्पादेवी पोल्ट्री फार्मका सञ्चालक विष्णु खड्काको भनाइ छ ।

सस्तो हुँदा स्टोरहरूले पर्याप्त मात्रामा खरिद गरेर मौज्दात गर्छन् । त्यसपछि बजारमा अभाव देखाएर बढी मूल्यमा बिक्री गर्दै आएको उनले बताए । किसानले उधारोमा दाना, चल्ला किन्छन् । चल्ला हुर्केपछि मूल्य निर्धारणमा पनि त्यस्तै व्यवसायीकै एकाधिकार भएको राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिका संयोजकसमेत रहेका खड्काले बताए ।

‘जिउँदो कुखुराको मूल्य १ सय ७० रुपैयाँ छ । तराईमा गर्मी बढेको छ, जसरी नै बेच्न पाए हुन्थ्यो भन्नेमा किसान छन् । तराईबाट प्रतिकिलो १३४–५० मा आइरहेको छ,’ खड्काले भने, ‘बिक्री नभएर कुखुरा मर्ने अवस्था पनि आएको छ । त्यही भएर सस्तोमा बेच्न बाध्य भए ।’ २५ दिनको अवधिमा कुखुराको मूल्य प्रतिकिलो ७० रुपैयाँले घटेको उनले बताए । अब मूल्य घटे किसान विस्थापित हुने उनको भनाइ छ ।

यता संघका अध्यक्ष बीसी पनि कुखुराको तौल राम्रो भए प्रतिकिलो १ सय ७० रुपैयाँ हुँदा किसानलाई घाटा नलाग्ने दाबी गर्छन् । सुरुमा लकडाउन हुँदा किसान अत्तालिए । सस्तोमा बिक्री भयो । घाटा लागेपछि किसानले चल्ला राखेनन् । त्यसपछि बजारमा मासु अभाव भयो । साउन पहिलो/दोस्रो सातासम्म मूल्य बढेर ३ सय ९० देखि ४ सय २० रुपैयाँसम्म पुग्यो ।

‘कुखुराको मासुको मूल्य बढेपछि किसानले महँगोमा चल्ला राखे । यसबीचमा केही सहज पनि भएको थियो,’ अध्यक्ष बीसीले भने, ‘तर सरकारले निषेधाज्ञा जारी गरेपछि धेरै समस्या भयो । त्यसपछि मासु बिक्री भएन ।’ यसअघि संघले ०७६ पुस पहिलो साता प्रतिकिलो मासु २ सय ५० रुपैयाँ तोकेको थियो । माघमा मासु ४ सय २० रुपैयाँसम्म पुगेको बीसी बताउँछन् ।

सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे २ देखि ३ लाख किलो कुखुराको मासु बिक्री हुन्छ । निषेधाज्ञाका कारण करिब ३० प्रतिशत मात्रै खपत भएको संघले जनाएको छ । ‘चैतको लकडाउन खुलेपछि मासु क्षेत्रमा पुनः चहलपहल बढेको थियो । खपत पनि बढिरहेको थियो,’ संघका सचिव देवकुमार गिरीले भने, ‘होटल, क्यान्टिन, क्याफेलगायत व्यवसाय बन्द छन् । होम डेलिभरी पनि बन्द छ । त्यसैले बजारमा करिब ३० प्रतिशत मात्रै खपत भइरहेको छ ।’

होटल/रेस्टुरेन्ट र एयरलाइन्समा २५ देखि ४० प्रतिशत खपत हुने गिरीले जानकारी दिए । उक्त क्षेत्र ठप्प हुँदा मासुको बजार स्वतः घटेको उनको भनाइ छ । ‘अहिले कुखुरा डम्पिङ गर्नुपर्ने अवस्था आयो । ब्रोइलर कुखुरा होल्ड गर्न मिल्दैन । जति धेरै दिन भयो, दाना बढी खाने हुन्छ,’ गिरीले भने, ‘त्यसैले किसानले पनि सक्दो चाँडै बिक्री गर्न चाहेका छन् ।’

 

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…