संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलीफा बिन जायेदले सन् १९७२ मा बनेको इजरायल बहिष्कार कानून समाप्त गर्ने आदेश शनिवार जारी गरेका छन् ।
उक्त कानूनले इजरायलसँग कुनै पनि आर्थिक र वाणिज्यिक सम्बन्ध राख्न यूएईलाई प्रतिबन्ध लगाएको थियो ।
यो घोषणा अमेरिका र इजरायल सरकारको प्रतिनिधिमण्डल अबु धाबी पुग्नुअघि गरिएको हो । अमेरिका, यूएई र इजरायलबीच एक सम्झौता गरेर दुई देशको सम्बन्ध सहज बनाउने कोशिश गरिएको छ ।
अमेरिका र इजरायल सरकारको प्रतिनिधिमण्डल इजरायलको विमान उडान संख्या एआई–९७१ बाट अबु धाबी पुग्दैछन् । इजरायलबाट यूएई सीधै आउने यो पहिलो उडान हुनेछ ।
शेख जायेदको नयाँ आदेशअनुसार, ‘यूएईमा बस्ने कुनै पनि व्यक्ति र कम्पनीले इजरायलको कुनै व्यक्ति वा स्थानीय व्यापारी तथा निकायसँग वाणिज्यिक तथा वित्तीय सम्झौता गर्न सक्छ ।’
यूएईमा इजरायलका सबै सामान र उत्पादन ल्याउन र बेच्न अनुमति पनि दिइएको शेखले बताए ।
विश्लेषकहरू शेखको ताजा घोषणा औपाचरिक र प्रतीकात्मक महत्त्व बोकेको बताएका छन् । विगत दुई दशकदेखि इजरायल र यूएईबीच अनौपचारिक व्यापार बढिरहेको थियो ।
इजरायली अधिकारीहरूका अनुसार, विगत २० वर्षमा कम्तीमा ५०० इजरायली कम्पनीहरूले यूएईमा व्यापारिक सम्झौता गरेका छन् ।
१७ दिनअघि इजरायल र यूएईले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा एक सम्झौता गर्न लागेको बताएका थिए । त्यसमार्फत दुई देशबीच कूटनीतिक तथा व्यापारिक सम्बन्ध घनीभूत बनाउने कोशिश गरिने बताइएको थियो ।
यस सम्झौताले पश्चिम एसियाको राजनीतिमा उथलपुथल ल्याउने बताइएको छ ।
इजरायलका परराष्ट्रमन्त्री गबी अश्केनाजीले भने, ‘यूएईले शान्तिको दिशामा ठूलो कदम उठाएको छ र यसबाट क्षेत्रमा स्थिरता आउनेछ । दुवै देशका लागि पर्याप्त आर्थिक र व्यावसायिक अवसरहरू यसबाट उत्पन्न हुनेछन् ।
दुवै देशले आधिकारिक रूपमा अनेकौं सम्झौता कार्यान्वयन गर्न सक्नेछन् ।
दुवै देशका अधिकारीले रक्षा, चिकित्सा, पर्यटन र उद्योगको क्षेत्रमा मिलेर काम गर्ने भएका छन् ।
दुवै देशबीच अहिलेसम्म आधिकारिक हवाई सम्पर्क थिएन । सोमवार इजरायली विमान तेल अभिभबाट उड्दा साउदी अरबको आकाश हुँदै यूएई पुग्ने हो कि हैन भन्ने स्पष्ट छैन किनकि इजरायल र साउदीबीच आधिकारिक सम्बन्ध छैन ।