काठमाडौँ । कोभिड १९ विरुद्धको खोप विकास गर्न विश्वभरका वैज्ञानिकहरु संघर्षरत छन् । यस्तैमा रुसले अगस्टको दोस्रो साता ‘स्पुत्निक पाँच’ नामको खोप बनाएर दर्ता गरेको जनायो ।
रुसले आधिकारिक रुपमा पहिलो पटक कोभिड १९ विरुद्धको खोप दर्ता गरेको जनाए पनि अन्य देशका वैज्ञानिकले रुसको गतिविधिमा आशंका गर्दै आलोचना पनि गरे । खोप विकास मात्रै गर्ने होडबाजीका बीच कितपय देशहरुले जासुसी तरिका र चोरबाटो रोजेको भन्दै विज्ञहरुले आलोचना गर्न थालेका छन् । र यसो गर्दा अनावस्यक जोखिम निम्तिनसक्ने पनि विज्ञहरुको चिन्ता छ ।
यसबारे बीबीसीले आफ्ना सुरक्षा संवाददाता गोर्डन कोरेराको एक रिपोर्ट प्रकाशन गरेको छ । जहाँ कोभिड १९ विरुद्धको खोप उत्सुकता र मुल्यवान उपलब्धि हुने भए पनि यसको विकासमा शक्तिशाली देशहरुले चोरबाटो रोज्न थालेको बताइएको छ ।
उक्त रिपोर्टमा अमेरिकास्थित ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टीनले भनेका छन्, “चिकित्सकीय सामग्रीका लागि राजनीतिक दाउपेच यति विधि तीव्र भएको मैले कहिल्यै देखेको थिइन ।”
यतिसम्म कि, पछिल्लो समय कोभिड-१९ को खोपलाई राजनीतिक प्रतीकका रूपमा लिइएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुसार हाल खोप विकास गर्ने दौडमा करिब आधा दर्जन मुलुक छन् जो तेस्रो तहको परीक्षणको अन्त्यतिर छन्।
बीबीसीका अनुसार चीनका तीन, यूकेको एक, अमेरिकाको एक र जर्मनी-अमेरिकाको संयुक्त प्रयासमा एक छन्। तर गत जुलाईमा यूके, अमेरिका र क्यानडाले रुसी जासुसहरूले खोप विकासबारे सूचना ह्या’क गरेको आरोप लगाएका थिए तर रुसले त्यसको खण्डन गरेको थियो।
त्यसको अर्को हप्ता अमेरिकाले चिनियाँ ह्या’करहरूले पनि त्यस्तै प्रयास गरेको आरोप लगाएका थिए। चीनले पनि त्यो आरोपको खण्डन गरेको छ।
काउन्सिल अन फरेन रिलेसन्सको ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमस बोलीकीले भनेका छन्, “छोटो बाटो पक्कै पनि लिइएको छ। विशेषगरी रुसको हकमा ।” उनी थप्छन्, “खोप विकास गर्न गाह्रो छैन। त्यो सुरक्षित र प्रभावकारी छ भन्ने कुरा प्रमाणित गर्न गाह्रो छ। र विकास गर्न मात्रै आतुर देश छन् भने चोरबाटो रोज्न सक्छन्।”
रुसले अध्ययनको तथ्याङ्क प्रकाशन नगरीकनै र व्यापक परीक्षणबिना खोप दर्ता गरेपछि पश्चिमा मुलुकमा आलोचना भइरहेको छ। अमेरिकी सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि रुसमा विकास भइरहेको खोप सुरक्षित र प्रभावकारी भएकोमा गम्भीर आशङ्का व्यक्त गर्दैआएका छन् । यसवाहेक चुनावको तयारीमा रहेको अमेरिकामाथि पनि खोप निर्माणको कडा दबाव परिरहेको बताइन्छ ।
रिपोर्ट अनुसार पश्चिमा राष्ट्रमा ‘खोप राष्ट्रवाद’ पनि हावी भएको छ । शक्तिशाली देशहरु पहिलो चरणमा उत्पादन भएका खोप आफ्नो नियन्त्रणमा लिने प्रयासमा रहेको विज्ञहरु बताउँछन् । साथै कोरोनाभाइरसअघि नै रहेको राष्ट्रवादी शक्तिलाई यो रोगले झन् बलियो बनाइदिएको उनीहरु बताउँछन् । डब्लूएचओले भने विपन्न देशमा खोप वितरणमा सबैले हातेमालो गर्नुपर्ने भन्दै आग्रह गर्दैआएको छ ।