काठमाडौँ – विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।
खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उनका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।
मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
कोभिड–१९ नि’यन्त्रणका कमान्डर नै आइसोलेसनमा
सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नि यन्त्रणमा झनै समस्या देखिएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ ।
नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ को महामारी तीव्र रूपमा फैलँदै गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झनै सक्रिय हुनुपर्नेमा सक्रियता कम देखिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम आइसोलेसनमा बसेका हुन् । सिसिएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनीहरू छाउनीस्थित सिसिएमसीको कार्यालयमा बैठक बसेका थिए ।
मन्त्रीहरूसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरूको पनि पिसिआर परीक्षण गरिए पनि उनीहरूको नतिजा आउन बाँकी छ । नतिजा नआउँदासम्म उनीहरू होम आइसोलेसनमै बस्नेछन् ।
सरकारले यसअघि कोरोना रोकथाम तथा नि यन्त्रणका लागि उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । रक्षामन्त्रीको नेतृत्वमा रहेको सो संयन्त्रलाई खारेज गरेर सरकारले सिसिएमसीलाई सक्रिय बनाउँदै आएको छ । कोरोना रोकथाम उच्चस्तरीय संयन्त्र खारेज गरेर सरकारले सिसिएमसीमा मन्त्रीहरूलाई थप गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।