तपाईं बस चढेर संसारको एक कुनाबाट अर्को कुना जान इच्छुक हुनुहुन्छ ?
यात्रा कम्पनी एड्भेन्चर्स ओभरल्यान्डले भारतको राजधानी दिल्लीबाट बेलायतको राजधानी लन्डनसम्म जाने बस सेवा शुरू गर्न खोजेको छ ।
यस विलासी बसमा २० जना यात्रु हुनेछन् । सन् १९५०/ ६० को दशकमा संसार घुम्न हिप्पीहरूको बसबाट यो आंशिक प्रभावित भएको हो ।
बसले ७० दिनमा १८ वटा देश पार गर्नेछ । यात्रुहरूले यात्राका क्रममा म्यान्मारका पगोडा, चीनको ग्रेट वाल र मस्को तथा प्राग जस्ता ऐतिहासिक शहरको पनि भ्रमण गर्न पाउनेछन् ।
एड्भेन्चर्स ओभरल्यान्ड तुषार अग्रवाल र सञ्जय मदनले शुरू गरेका हुन् । उनीहरू यात्रामा अत्यन्तै रुचि राख्छन् ।
सन् २०१० मा लन्डनबाट दिल्लीसम्म एक्लै गाडी चलाएर आएपछि बस सेवा शुरू गर्ने विचार आएको अग्रवाल बताउँछन् ।
एड्भेन्चर्स ओभरल्यान्ड आरम्भ गरेदेखि अग्रवाल र मदनले भारतबाट बेलायतसम्मका तीन यात्रा गराइसकेका छन् । त्यसक्रममा यात्रुहरूले आफ्नै गाडी ल्याउँछन् र जत्था बनाएर हिँड्छन् ।
उनीहरूले आइसल्यान्डका हिउँमा अनि रुसका जमेका तालमा ड्राइभिङ पनि गराएका छन् ।
‘धेरै मानिसलाई यसरी सडकमार्गबाट यात्रा गर्न मन लाग्छ तर उनीहरू गाडी चलाउा चाहिँ चाहँदैनन्,’ अग्रवालले भने । ‘त्यसैले हामीहरूले मानिसहरू आरामदायी रूपमा बसमा बसेर लामो यात्रा गरून् भन्ने सोचका साथ बस सेवा शुरू गरेका हौं ।’
लन्डनसम्म जाने बसको पहिलो यात्रा सन् २०२१ को मध्यतिरबाट शुरू हुनेछ । त्यतिखेरसम्म कोरोनाभाइरसका कारण लगाइएका नियन्त्रण खुकुलो हुने अपेक्षा छ ।
‘यात्राका लागि सबभन्दा राम्रो समय अप्रिलदेखि जुन महिनासम्म हो किनकि त्यतिखेर भारतबाट म्यान्मार हुँदै चीन र किर्गिजस्तानका अग्ला पहाड पार गर्न अनुकूल मौसम रहन्छ,’ अग्रवालले भने ।
यो सडकयात्रा सस्तो चाहिँ छैन । अग्रवालका अनुसार, यसका लागि २० हजार डलर अर्थात् लगभग २४ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर बीच बाटोसम्म मात्र जान्छु भन्न पनि पाइन्छ । सीएनएनबाट