नेपालीलाई लठ्याउँदै टिकटक : संगीत क्षेत्रलाई वरदान, लकडाउनपछि प्रयोग झण्डै दोब्बर

काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो ।

मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका रुपमा सुरुमा चिनिए पनि अहिले यो बहुआयामिक बनिरहेको छ ।

आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक एप हो । राजनीतिदेखि चलचित्रसम्म अध्यात्मदेखि संगीतसम्म सबै विधाका ‘हट टपिक’ सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन् ।

नेपालीहरुमा टिकटकले आफ्नो जादु चलाएको दुई वर्षजति भयो । सुरुमा टीनएजका केटीहरु यसमा आकर्षित भए । त्यसपछि विस्तारै हरेक उमेर समूहका नेपालीहरुलाई यसले लठ्याइरहेको छ । आजकाल बौद्धिक क्षेत्रका व्यक्तिहरुसमेत यसमा रमाउन थालेका छन् ।

कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । कुनै अन्तरवार्ताको विवादस्पद अंश पनि टिकटकमै पहिले आउँछ । जस्तो कि हालै एक सञ्चारकर्मीले टेलिभिजनमा नायिकालाई गरेको छुद्र गाली टिकटकमार्फत भाइरल भएको हो । अरु पनि थुप्रै स्क्यान्डल टिकटकले जन्माइरहेको छ । तसर्थ, सुरुवातमै भनिएजस्तो, यदि टिकटकमा तपाईं हुनुहुन्न भने धेरै कुरा मिस गर्नुहुनेछ ।

नेपालमा धेरै व्यवसायिक प्रतिष्ठानहरुले टिकटकको उपयोग गर्नतिर ध्यान दिएका छैनन् । अन्यथा १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा त्यसले लाखौं÷करोडौं रुपैयाँको विज्ञापनको काम गर्ने गर्न सक्छ । जस्तो कि ई–सेवाले बनाएको विज्ञापन गीत टिकटकमा भाइरल भयो । सञ्चार माध्यममार्फत यति प्रचार पाउनका लागि कम्पनीले निकै ठूलो धनराशी खर्च गर्नुपथ्र्यो ।

लकडाउनयता झन् लोकप्रिय

कोरोनाको प्रभाव बढ्न थालेपछि जब नेपालमा देशब्यापी लकडाउन भयो, मानिसहरु आ–आफ्नो घरभित्र कैद भए । यस्तो बेला युवा–युवतीहरुको समय बिताउने माध्यम बन्यो टिकटक ।

लकडाउनका समयमा नेपालमा टिकटक प्रयोगकर्ता अत्यधिक थपिएको देखिन्छ । यसको एकिन तथ्यांक पाउन नसकिए पनि लकडाउनभन्दा अगाडिको तुलनामा टिकटकको प्रयोग झण्डै दोब्बर बनेको अनुमान छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा प्रतिसेकेन्ड ५ सय देखि ५५० जीवी इन्टरनेट खपत हुन्छ । लकडाउनभन्दा अगाडिसम्म टिकटक प्रयोगकर्ताले मात्रै प्रतिसेकेन्ड ७ जीबी डाटा खपत गर्थे । यो अहिले १३ जीबी पुगेको छ ।

यसबाहेक एनसेल, एनटीसी र स्मार्ट सेलको मोबाइल ब्रोड ब्यान्डबाट पनि इन्टरनेट प्रयोग गर्नेले टिकटक चलाउँछन् । यसरी हेर्दा करिब टिकटकमा १५ जिबीपीएसभन्दा बढी डाटा प्रयोग भइरहेको अनुमान प्राधिकरणको छ । यस हिसाबले टिकटकको उपयोग ६० देखि७० प्रतिशतले बढेको मान्न सकिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् ।

आजकल फेसबुक र युट्युव छोडेर युवायुवती टिकटकमा झुण्डिन थालेका छन् । यसमा आउने ३ सेकेन्डदेखि १ मिनेटसम्मका भिडियोहरु हेरेर उनीहरु घन्टौं बिताइदिन्छन् । पहिले–पहिले युवायुवतीहरु घुमघाम वा जमघट गर्दा फोटो/भिडियो खिच्न हतारिन्थे । तर, अहिले टिकटक बनाउन कस्सिन्छन् ।

यसरी जन्मियो टिकटक

लिपसिंक (अरुको आवाजमा ओठ चलाएर अभिनय गर्ने काम) छोटा भिडियो बनाएर सेयर गर्ने सुविधा सबैभन्दा पहिले २०१० मा ‘डब्समास’ नामक एपले दिएको थियो । भाइन नामक अर्को एप पनि यस्तै फिचरहरु लिएर आयो । तर, टिकटक आएपछि यिनीहरुका दिन सकिए ।

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी बाइट डान्सले सुरुमा ‘डाउयीन’ नाम एप को विकास गरेको थियो सन् २०१६ को सेप्टेम्बरमा । पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो । यद्यपि, सन् २०१८ को २ अगष्टमा म्युजिकल. लीलाई खरिद गरेपछि टिकटक विश्वव्यापीरुपमा उपलब्ध भएको हो । एक अर्ब डलरमा टिकटकले म्युजिकल.लीलाई किनेको थियो ।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन् । बब्लीन, लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ ।

लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो । सन् २०२० को अगष्टमा टिकटकका विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघेका छन् । केवल चार वर्षको अवधिमा यो उपलब्धी अविश्वसनीय हो ।

विवाद र प्रतिवन्ध

टिकटकलाई लिएर केही देशहरुमा विवाद पनि उब्जिने गरेका छन् । प्रमुखरुपमा यस्तो विवाद अमेरिका र भारतमा देखिन्छ । यी दुई चीनका प्रतिस्पर्धी मुलुक हुन् ।

गत वर्ष भारतमा त्यहाँको अदालतले टिकटकले अश्लिलता फैलाएको भन्दै यसलाई रोक लगाएको थियो । तर, त्यो रोक लामो समय टिक्न सकेन । अदालतले आफ्नो फैसला उल्टाएपछि टिकटक फुकुवा भयो ।

यसै वर्ष चीन र भारतबीच लद्दाखमा तनाव भयो र त्यहाँ चिनियाँ पक्षबाट २० जना भारतीय सैनिक मारिए । यसको प्रतिरोध भारतले टिकटकमा पोख्यो । चीनसँग बदला लिने क्रममा भारतले टिकटक लगायतका पाँच दर्जनजति चाइनिज एपहरुलाई प्रतिवन्ध लगाएको छ ।

टिकटकको सबैभन्दा ठूलो बजार थियो भारत । गत वर्षको जूनसम्ममा त्यहाँ विश्वमै सबैभन्दा बढी १२ करोड टिकटक प्रयोगकर्ता थिए । भारतमा लागेको प्रतिवन्धले टिकटकलाई निकै ठूलो धक्का लागेको छ । भारतले गत जून २९ बाट टिकटकसहित चिनियाँ एपहरुमाथि प्रतिवन्ध लगाएको हो ।

अर्कोतर्फ टिकटकको अर्को ठूलो बजार अमेरिकामा पनि यसको अस्तित्व खतरामा परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार टिकटक बन्द गराउने धम्की दिइरहेका छन् । गत ६ अगष्टमा उनले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे जसले दुई लोकप्रिय चिनियाँ एप टिकटक र विच्याटलाई ४५ दिनभित्र बन्द गराउने भनिएको छ । कुनै अमेरिकी कम्पनीले खरिद गरेमा मात्र अमेरिकामा टिकटक जीवित रहन सक्ने छ । अहिले माइक्रोसफ्टसहित विभिन्न कम्पनीले टिकटक खरिदमा रुचि देखाएका छन् ।

टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ । अहिलेसम्म विश्वव्यापीरुपमा यो एप दुई अर्बपटक डाउनलोड गरिएको छ । टिकटकमा विश्वका एकसेएक प्रख्यात सेलिब्रिटीहरु जोडिएका छन् ।

एप ट्रेस नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ देशमा उपलब्ध छ । यीमध्ये १३५ देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ । सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी इंगेजमेन्ट हुने टिकटकमा नै हो ।

प्रतिभाको डबली

यदि तपाईंसँग कुनै प्रतिभा छ, र त्यसलाई संसारसँग उजागर गर्न चाहनुहुन्छ भने तपाईंले कुनै मिडियाको दैलो चहार्नु पर्दैन, कुनै यूट्युवरको पछि लाग्नु पर्दैन । मोबाइलमा टिकटक डाउनलोड गर्नुस्, आफ्नो प्रतिभा देखाएर भिडियो बनाउनुस् अनि पोष्ट गर्नुस् ।

धेरैले टिकटकलाई अभिनय वा डान्स देखाउन सकिने प्लेटफर्म मात्र ठान्छन् । त्यो सत्य होइन । आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिन्छ । कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन् । जादु देखाउने कला छ भने त्यस्तै भिडियो बनाउन सकिन्छ । जोक भनेर हसाउँदा पनि भयो । यसमा नअटाउने केही पनि छैन ।

नेपालकै केही टिकटकरहरुको उदाहरण लिउँ ।

अभिनय र डान्सबाट फलोअर्स कमाएका त धेरै छन् । अरु विधामा पनि कम छैनन् । जस्तो कि, फेस डान्स र रोबोट एक्ट गरेर प्रख्यात बनेकी छन् चितवनकी गृहिणी कञ्चन बराल चालिसे । उनलाई पाँच लाखभन्दा बढीले फलो गरिरहेका छन् । यस्तै, घरको भान्सामा आफ्नै आमासँग जोक बनाएर चर्चा कमाएका छन्, पुरु सिग्देलले । यी प्रतिनिधि पात्र हुन् ।

नेपालका केही टिकटकरहरुको अविश्वसनीय फ्यान फलोइङ छ । जस्तो कि अष्ट्रेलियामा बस्ने अञ्जु भण्डारी नाम गरेकी नेपाली युवतीका ७२ लाख फलोअर्स छन् । उनी सन् २०१५ मा भएको एसएलसी प्रिन्सेस प्रतियोगिताकी विजेता हुन् ।

ट्विनी गल्र्सका नामले चिनिने प्रिज्मा र प्रिन्सी खतिवडाले ६५ लाख फलोअर्स कमाएका छन् । उनीहरुका फलोअर्स नेपालमा मात्रै सीमित छैनन् । भारत, पाकिस्तानलगायत दक्षिण एसियाली देशमा पनि छन् ।

टिकटकबाट कमाएको लोकप्रियताले उनीहरुलाई मोडलिङमा धकेलेको छ । अहिले म्युजिक भिडियोमा पनि मोस्ट डिमान्डेड नाम हुन् प्रिज्मा र प्रिन्सी ।

प्रिज्मा भन्छिन्, ‘हामीले कलाकारितामा लाग्ने कुनै सोचाइ नै बनाएका थिएनौं, टिकटकले नै हामीलाई यो फिल्डमा ल्याएको हो ।’

टिकटकबाट म्युजिक भिडियो वा फिल्ममा आएका कलाकारहरु अरु पनि छन् । एउटा चलचित्रमा नायिका बनेकी रेश्मा घिमिरेले कुनै चर्चा पाउन सकिनन् । पहिलो चलचित्र नै असफल भएपछि उनलाई कुनै अफर आएन । तर, टिकटक उनका लागि वरदान बनिदियो । अभिनय र नृत्य दुवैमा पोख्त उनी अहिले म्युजिक भिडियोमा चर्चित र व्यस्त छिन् । टिकटकमा गरेको अभिनयबाट उनले निकै राम्रो फ्यान फलोइङ कमाउन सफल भइन् ।

नेपाली संगीतलाई बरदान

टिकटकका फाइदाहरुको कुरा गर्दा पहिलो त यो मनोरञ्जन वा टाइमपासका लागि उपयोगी भयो । दोस्रो आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म र तेस्रो सूचनाको स्रोत पनि भयो ।

त्यसबाहेक नेपालमा टिकटकले पुर्याएको महत्वपूर्ण योगदान हो, नेपाली गीत–संगीतको प्रवर्द्धन । नेपाली संगीत क्षेत्रका लागि टिकटक एउटा बरदान नै सावित भइरहेको छ । युवापुस्तालाई नेपाली मौलिक लोकसंगीततर्फ यसले तानेको छ । उनीहरु विदेशी गीत–संगीतबाट नेपाली गीत–संगीत, त्यसमा पनि विशेषतः लोकसंगीततर्फ मोडिनु निकै सुखद विषय हो ।

यदि तपाईंले राम्रो गीत बनाउनुभएको छ भने त्यसको विज्ञापनमा अब पैसा खर्च गर्नुपर्दैन । टिकटकरहरुले निःशुल्क विज्ञापन गरिदिन्छन् । अहिले धेरै नेपाली गीतहरुले टिकटकबाटै यूट्यूवमा भ्यूज बढाइरहेका छन् ।

उदाहरणका लागि निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र…’ बोलको गीतले सुरुमा राम्रो भ्यूज पाइरहेको थिएन । तर, टिकटकमा जब भाइरल भयो, यसको युट्युव भ्युज ह्वात्तै उकालो लाग्यो ।

कतिपय पुराना र कालजयी गीतहरुलाई पनि टिकटकले युवा पुस्तासम्म पुर्याइरहेको छ । भारतमा टिकटक प्रतिबन्धित भएपछि अहिले हिन्दी डाइलग वा गीतमा नेपालीहरुले टिकटक बनाउने क्रममा पनि निकै ह्रास आइरहेको छ । नेपालीहरुले नेपाली गीतमै टिकटक बनाइरहेका छन् । यसले नेपाली संगीतको अन्तर्राष्ट्रिस्तरमै प्रवद्र्धन भइरहेको छ । यसकारण कि केही नेपाली टिकटकरहरुका अन्य देशहरुमा पनि धेरै फलोअर्स छन् । उनीहरुले नेपाली गीतमा टिकटक बनाउँदा ती देशसम्म नेपालको संगीत पुग्छ ।

कतिपय विदेशी नागरिकहरुले पनि नेपाली गीतमा टिकटक बनाएको देख्न सकिन्छ ।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…