२३ साउन, काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए ‘नकारात्मक पात्रहरुको भूमिका फेरेर’ भए पनि अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल पार्टीको स्थायी कमिटी सदस्यसमेत हुन् । रिमालले शुक्रबार सामाजिक सञ्जालबाटै सचिवालय सदस्य श्रेष्ठलाई ‘इनफ इज इनफ’ भन्दै यसरी गाली गरे, ‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’
रिमालले प्रवक्ता श्रेष्ठलाई यसरी सामाजिक सञ्जालबाटै गाली गर्नुको कारण थियो- बुधबार राजधानी आयोजित पत्रकार भेटघाट कार्यक्रम । र, शुक्रबार दिउँसो सम्पादकहरुसँग म्यारिट होटलमा गर्ने भनेर वीचैमा स्थगन भएको छलफल ।
बुधबार नयाँबानेश्वरस्थित एक कलेजमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले करिब ४० जना पत्रकारहरुसँग भेटघाट गरेका थिए । सो कार्यक्रममा प्रवक्ता श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार नचलेको बताएका थिए ।
हुनत बुधबारको कार्यक्रममा बोल्ने नारायणकाजी श्रेष्ठ एक्ला थिएनन्, त्यहाँ प्रचण्ड, माधव र झलनाथले पनि बोलेका थिए ।
शीर्षनेताहरुले प्रवक्ताको भन्दा कडा स्वरमा केपी ओली पक्षको आलोचना गरेका थिए । तर, प्रधानमन्त्रीका सल्लाहकार रिमालले ठूला नेताहरुलाई केही भन्न सकेनन्, प्रवक्ता श्रेष्ठलाई चाहिँ आदेशकै भाषामा टि्वटबाटै हप्काए ।
आखिर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको कार्यक्रममा त्यस्तो के भनेका थिए, जसले विष्णु रिमाललाई उत्तेजित बनायो ?
नेकपाका नेता-कार्यकर्ताहरुका लागि यो विषय सान्दर्भिक हुने ठानेर सो दिन श्रेष्ठले गरेको भाषणको मूल अंश यहाँ प्रस्तुत गरिएको छ –
नेपालमा ठूलो युगान्तकारी परिवर्तनपछाडि हामीले संविधानमा उपलब्धीहरुलाई संस्थागत गर्यौं । त्यसपछाडि संविधान अन्तरगत निर्वाचनमा गयौं । र, निर्वाचनमा जनताले दिएको जनादेशअनुसार हामीले करिब दुई तिहाई बहुमत हासिल गरेर अहिले सरकार चलाइराखेका छौं ।
नेकपाले यो ऐतिहासिक परिवर्तनलाई सामाजिक-आर्थिक क्षेत्रमा विस्तारित गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष हासिल गर्ने र समाजवादको आधार तयार पार्ने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने र त्यसै आधारमा तयार पारिएको घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्ने लक्ष राखेको छ ।
र, अहिले यसैअनुसार एकीकृत पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने रसरकारलाई अहिलेको सन्दर्भमा, जुन नयाँ ऐतिहासिक चरणमा हामी प्रवेश गरेका छौं, सामन्तवाद-साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको सन्दर्भमा हामीले पुँजीवादी-जनवादी क्रान्तिका उपलब्धीहरुलाई सामाजिक-आर्थिक क्षेत्रमा विस्तारित गरेर समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र अन्ततः समाजवादको निर्माण गर्ने दिशातिर जाने भन्ने ढंगबाट अगाडि बढेका छौं ।
हामीले करिब अढाई वर्षजति सरकार सञ्चालन गर्यौं । र, अहिले नेपाली समाजमा पनि र स्वभाविकरुपमा सरकार बनाउने पार्टीमा अहिले बहस भइराखेको छ । यो बहस र छलफल, अन्तरविरोध, अन्तरसंघर्षका रुपमा पनि पार्टीभित्र चलिरहेको छ । र, त्यसको मुख्य केन्द्रमा नेपाली समाजको सामाजिक-आर्थिक रुपान्तरण गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गरेर समाजवादको आधार तयार पार्ने काममा हामी सफल भयौं कि भएनौं ? कति भयौं, कति भएनौं ? यसको समीक्षा गर्नुपर्यो । र, जति कमजोरीहरु छन्, तिनलाई सच्याउनुपर्यो र हामी यो दिशातिर जानुपर्यो । हाम्रो राजनीतिक दस्तावेजले पनि त्यही भन्छ । हाम्रो घोषणापत्रले पनि त्यही भन्छ । जनादेश पनि त्यही छ । त्यसकारण जनादेशको अपेक्षाअनुसार, घोषणापत्र अनुसार, राजनीतिक दस्तावेज अनुसार कामहरुलाई त्यस दिशातर्फ अगाडि बढाउने अभिमूखीकरण गर्ने उद्देश्य लियौं कि लिएनौं र उपलब्धीहरु हासिल गर्यौं कि गरेनौं त भन्दा हामी सन्तुष्ट हुने गर्ने ठाउँ भएन ।
तत्काल कोभिड -१९ देखा पर्यो । विश्वव्यापी महामारी र प्रकोप देखापर्यो । यसको रोकथाम, नियन्त्रण र उपचारको प्रक्रियालाई कसरी अगाडि बढाउने, अर्थतन्त्र र समाजका विभिन्न क्षेत्रका विभिन्न आयामहरुमा पारेका असरहरुलाई कसरी सम्बोधन गर्ने ? र, विशेषतः अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने र अन्ततः सामाजिक न्यायसहितको समृद्धि कसरी हासिल गर्ने ? तत्कालका रुपमा हामीले बहस गर्नुपर्ने यी विषयहरु हुन् ।
अहिले हेर्दाखेरि कोभिड -१९ को रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा अझै हामीले गम्भीर हुनुपर्ने अवस्था छ । र, मुख्यतः अर्थतन्त्रलाई कसरी पुनरुत्थान गर्ने र अन्ततः हामी कसरी सामाजिक न्यायसहितको समृद्धिको ठाउँमा पुग्छौं भनेर गम्भीररुपमा छलफल गर्दाखेरि अर्थतन्त्र पुनरुत्थानको दिशातिर अहिलेको बजेट र सरकारले चालेका कार्यक्रमहरुले त्यो दिशातिर लैजान्छ त भन्दाखेरि आशा गर्ने ठाउँ देखा परिरहेको छैन ।
यस्तो अवस्थामा पार्टीले सबै प्रक्रियाको लिड गर्ने पार्टीले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा निर्वाचनमा गयो र जनताले जनादेश दिए भनेपछि यसको सारा समीक्षा गर्ने र कमी कमजोरी जहाँनेर छ, त्यसलाई सच्याउने र उपलब्धीहरु हासिल गर्ने कामको नेतृत्व चाहिँ पार्टीले गर्छ । पार्टी अहिले यही बहसमा छ ।
केन्द्रविन्दुमा चाहिँ अहिलेको कोभिड १९ को रोकथाम र उपचार अनि अर्थतन्त्रको पुनरुत्थान गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशातिर हामी गयौं कि गएनौं भन्दाखेरि सकारात्मक दिशातर्फ नगई यही ढंगले अगाडि बढ्ने हो भने हामी गम्भीर नकारात्मक ठाउँमा पुग्छौं र हामी सकारात्मक ढंगले चुनावमा जाने स्थिति बन्छ कि बन्दैन भनेर हामी गम्भीर बहसमा छौं ।
तर, त्यसका निम्ति पार्टी पनि ठीक ढङ्गले अगाडि बढनुपर्ने हुन्छ । अहिलेसम्मको स्थिति हेर्दाखेरि चाहिँ पार्टीको सांगठानिक काम पनि पूरा भएन । विधि पद्दतिका आधारमा पार्टी सञ्चालन गर्ने कुरा शून्य भयो । पार्टी पूरै निष्कृय, अकर्मण्य, गतिहीन र यस्तै ढङ्गले अगाडि बढ्ने हो भने अकर्मण्य र बिसर्जनको दिशातिर जाने खतरा पैदा भयो । पार्टीमा खाली बैचारिक स्खलन होइन, पूरै भ्रष्टीकरणको दिशामा जाने खतरा पैदा भएको छ ।