काठमाडौं। भारतले जम्मु र कश्मिरको विशेष दर्जा अन्त्य गरेको बुधबार ५ अगष्टमा एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको अवसरमा यस विषयमा अन्तर्राष्ट्रिय जगतले आफ्नो धारणा राखेका छन् ।
हिजो आधिकारिक धारणा सार्वजनिक गर्ने क्रममा चीन र अमेरिका आश्चर्यजनक रुपमा एउटै पक्षमा उभिएका छन् र भारत एक्लिएको छ । दुवै शक्ति राष्ट्रले कश्मिर मामिलामा भारतले स्थिति नियन्त्रणमा लिन नसकेको र त्यहाँको स्थिति एक वर्ष भइसक्दा पनि सामान्य हुन नसकेको भन्दै भारतको आलोचना गरेका छन् ।
द हिन्दूको रिपोर्टअनुसार चीनले आफ्नो प्रतिक्रियामा कश्मिरको विशेष दर्जा खोस्ने भारतको निर्णय अवैध र अमान्य भएको बताएको छ । चीनले कश्मिरको यथास्थितिलाई चलाउने कार्य आफूले स्वीकार नगर्ने बताएको छ ।
उता अमेरिकाको विदेश मामिलासम्बन्धी संसदीय समितिले पनि कश्मिरमा स्थिति अझै सामान्य नभएकोप्रति कडा प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेको छ ।
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ कमिटी अन फरेन अफेयर्सले जयशंकरलाई लेखेको पत्रमा कश्मिरको स्थितिलाई लिएर चिन्ता व्यक्त गरिएको छ ।
पत्रमा लेखिएको छ ‘जम्मु कश्मिरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० हटेको एक वर्ष हुँदा पनि स्थिति सामान्य भएको छेन । यस विषयमा हामी चिन्तित छौं । हामीले यो क्षेत्रको सुरक्षा चिन्ता र आ तंक वादको चुनौतीहरुलाई बुझेका छौं ।’
अमेरिकाले पत्र पठाउनुअघि चीनले पनि यस विषयमा प्रतिक्रिया दिएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले आफूहरुले कश्मिरको स्थितिमा सूक्ष्म निगरानी गरिरहेको बताउँदै कश्मिरको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमान्य भएको बताएका थिए । उनले यो विषयलाई दुई पक्षको छलफलबाट शान्तिपूर्ण तरिकाले हल गर्नुपर्ने बताएका थिए ।