काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताएका छन्।
बुधबार अयोध्यामा राम मन्दिरको भूमिपूजन समारोहमा उनले यस्तो बताएका हुन्।‘रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ,’ मोदीले भनेका छन्। विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको उल्लेख गरे। नेपाल, चीन, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, कम्बोडियालगायतका थुप्रै मुलुकमा राम पुजनीय रहेको उनले बताए।
मोदीले अयोध्यामा भगवान रामको मन्दिर बन्नु भारत वर्ष र हिन्दूधर्ममा आस्था राख्नेहरूका लागि ठूलो सौभाग्य रहेको बताए । उनले सम्बोधनका क्रममा भगवान रामको जन्म अयोध्यामा भएको भनाइ पटक–पटक दोहोर्याएका थिए।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले राम मन्दिर निर्माणलाई विगत तीन दशकभन्दा बढी समयदेखि नै राजतीनिक मुद्दाका रुपमा उठाउँदै आएको थियो । यो शिलान्यासलाई सत्तारुढ भारतीय जनता पार्टी र त्यस निकट हिन्दुवादी संस्थाहरुले वैचारिक र राजनीतिक जितका रुपमा लिएका छन् ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको अयोध्या नेपालमा पर्ने अभिव्यक्ति दिएपछि अयोध्याको विषयमा नेपालमा पनि चासो र चर्चा बढेको हो ।
मोदीले अयोध्यामा बुधबार आयोजित भव्य समारोहबीच हिन्दू मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका हुन्।मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन्।
शिलन्यासपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले५०० वर्ष लामो र कडा सङ्घर्ष लोकतान्त्रिक र संविधानसम्मत तरीकाले सम्पन्न भएको प्रतिक्रिया दिएका छन्। भूमिपूजा कार्यक्रममा भाग लिन पुगेका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।
भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि मानिएको अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले मध्ययुगिन बाबरी मस्जिद भत्काएको थियो। त्यो मस्जिद पहिले त्यहीँ रहेको राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।
दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम संगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।