१६ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।
बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।
हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।
अब मास्क नलगाउनेलाई एक महिना कैद
मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।
संक्रमणलाई नि’यन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिए ।
‘कोरोनाले महामारीको रुप लिइरहेका बेला सबैले सावधानी अपनाउनु पर्ने हो । तर हेलचेक्राई गरिरहेका कारण संक्रमण फैलिएको पाइयो,’ उनले भने, ‘त्यही भएर कोरोनाबाट सबैलाई सुरक्षित राख्नका लागि कारबाहीको बाध्यकारी निर्णय गर्नुपर्ने अवस्था । नियम उल्लंघन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।’