कोरोना भाइरसको जोखिम नटरेको भन्दै कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।
नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्।
कोरोना संक्रमण नि यन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ।
कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।
रोकिएको उद्धार उडान आजदेखि सुरु, आजै ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै
विदेशमा अलपत्र नेपालीको चौथो चरणको उद्धार उडान आजदेखि सुरु हुँदैछ ।
केही दिन रोकिएको उडान आज शुक्रबारदेखि फेरि सुरु भएको हो । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्मका लागि तय भएको छ । कोरोना महामारीपछि उडान बन्द हुँदा समस्यामा परेका विभिन्न २९ देशबाट ३५ हजार ८०४ जना हवाइमार्गमार्फत स्वदेश फर्किएका छन् ।
आज शुक्रबार नै विभिन्न देशबाट ९ उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । मलेसियाबाट मलिण्डो एअरले त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउने छ भने आज कुवेतबाट मात्रै चार उडानबाट नेपाली घर फर्कंदै छन् । हिमालय एअरको दुई उडानमार्फत कुवेतबाट नेपालीहरु स्वदेश फर्कंदै छन् ।
कुवेतबाटै जजिरा एअरका दुई जहाज पनि आज नेपाली लिएर आउँदैछन् । यूएईको दुबईबाट फ्लाई दुबईको एक उडानमार्फत आज नेपालीहरु स्वदेश आउँदैछन् । आज श्री एअरलान्स बैंकक गएर आउने छ भने हिमालय एअरलान्सको एक जहाज कुनमिङ् गएर आउने छ । गुआन्जाउबाट चाइना साउर्दन एअरलाइन्स पनि नेपाल आउँदै छ ।
आजै हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज कुवेत, यूएई र कतारमा त्यहाँ समस्यामा रहेका नेपाली लिन जाँदै छन् ।