सोल : उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसका संक्रमित भेटिएपछि फैलिने डरले लक डाउनसहित संकटकाल घोषणा गरिएको त्यहाँको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
उत्तर कोरियाको एक सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना संक्रमित भेटिएकाले संकटकाल लगाउनुपरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरियाका सर्वोच्च नेता एवं राष्ट्रपति किम जोङ उनले शनिबार पोलिटब्यूरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गराएका हुन् ।
नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम सुरक्षासहित आपतकालीन प्रणाली लागू गर्न आदेश दिएका छन् । आफ्ना गतिविधि एवं विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दाबी गर्दै आएको थियो ।
रासस–एएफपी