काठमाडौं। रुसको एक अस्पतालमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स नादिया जुकोभा फेरि चर्चामा आएकी छिन् । उनी अब एक टेलिभिजनमा समाचारवाचिका बनेकी छिन् ।
डेलीमेलको रिपोर्टअनुसार नादियालाई मस्कोको दक्षिणमा रहेको तुला नामको शहरमा स्थानीय च्यानलले समाचारवाचिका बनाएको हो । तत्कालको लागि नादियाले त्यो टेलिभिजनमा मौसमसम्बन्धी समाचार सुनाउनेछिन् ।
समाचारवाचिका भए पनि उनले नर्सको रुपमा समेत आफ्नो काम जारी राख्नेछिन् । यसअघि नादियालाई रुसको एक खेलकुदसम्बन्धी कपडाको ब्राण्डले मोडलको अफर दिएको थियो तर उनले त्यो अफर अस्वीकार गरेकी थिइन् ।
टिभीमा आफ्नो भूमिकालाई लिएर नादियाले यो आफ्नो लागि ठूलो कुरा भएको बताइन् । यो अवसर दिएकोमा उनले च्यानललाई धन्यवाद दिइन् ।
यसअघि रादर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्यटी गरेको भन्दै उनको निकै आलोचना भएको थियो । २३ वर्षकी नादियालाई अस्पतालले अनुचित ड्रेस कोडको आरोपमा जागिरबाटै निकालेको थियो ।
नादियालाई जागिरबाट निकालेपछि भने अस्पतालको पनि आलोचना भएको थियो । पछि नादियाले आफूले सोही अस्पतालमा जागिर फिर्ता पाएको बताएकी थिइन् ।
आफूले पारदर्शी गाउनभित्र भित्री वस्त्र मात्र लगाएको विषयमा नादियाले आफूलाई पीपीइ लगाएर लगातार काम गर्दा निकै गर्मी भएकोले भित्री वस्त्र मात्र लगाएको बताएकी थिइन् । उनले पीपीइ त्यति धेरै पारदर्शी भएकोप्रति आफूले ध्यान दिन नसकेको बताएकी थिइन् ।