काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेका कारण चीनको सत्तारुढ पार्टीका एक सदस्यले गम्भीर परिणाम भोग्नु परेको छ ।
कोरोना महामारीसँग जुध्ने मुद्दामा चिनियाँ राष्ट्रपति सीको सार्वजनिक रुपमा आलोचना गरेका चीनको सरकारी रियलस्टेट कम्पनीका पूर्व अध्यक्ष रेन झिकियाङलाई सत्तारुढ कम्युनिस्ट पार्टीबाट निष्काशन गरिएको छ । यतिमात्र होइन उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा पनि चलाइने भएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले शुक्रबार यसको घोषणा गरेको हो । रेन झिकियाङले गएको मार्चमा एक अनलाइनमा लेख प्रकाशित गरेका थिए ।
त्यसपछि उनी देखिएका थिएनन् । रेन झिकियाङले लेखेको यो लेखमा उनले सी जिनपिङमाथि वुहानमा डिसेम्बरमा सुरु भएको प्रकोप नियन्त्रण गर्न असफल भएको आरोप लगाएका थिए । यसलगत्तै उनी चीन सरकारको निशानामा थिए ।
रिपोर्टका अनुसार बेइजिङमा शिचेंग जिल्लाको अनुशासन निरीक्षण आयोगले आफ्नो वेबसाइटमा ६९ वर्षका रेनमाथि भ्रष्टाचार, रकम अपचलन, घुस लिएको र सरकारको स्वामित्व भएको एक कम्पनीमा आफ्नो पदको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाइने बताएको छ ।
हायुआन समूहका पूर्व अध्यक्ष र पार्टीका उपसचिवलाई पार्टीबाट निष्काशन गरिएको र उनको मुद्दा अभियोजन पक्षलाई सुम्पिएको एजेन्सीले जनाएको छ । उनको अपराधबारे कुनै विवरण भने दिइएको छैन ।