काठमाडौँ । थाइ नरेश महावालिरालङ्कनले नेपाली भिक्षु सुगन्ध महास्थविरलाई देव पदको सम्मान प्रदान गरेका छन् ।
थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगतमा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् ।
थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ र उनी चार दशकयता थाइल्यान्डमा छन् । थाइ भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रम्ह आउँछ । त्यसपछि चौथो क्रममा देव पद रहेको छ ।
थाइल्यान्डको बौद्ध धर्ममा योगदान पुर्याएको हुनाले सम्मान स्वरूपमा त्यहाँको राजाले यो पद प्रदान गरेका हुन् । भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर पनि हुन् । थाइल्यान्डमा कुल ३ लाख २८ हजार २ सय ४४ भिक्षु रहेका छन् ।