टेक्सासस्थित होस्टनमा रहेको चिनियाँ महावाणिज्य दूताबास बन्द गर्ने अमेरिकी निर्णयलगत्तै चीनले पनि कडा कदम उठाउन थालेको छ।
महावाणिज्य दूतावास बन्द गर्ने अमेरिकी निर्णयको बदलामा चीनले सिचुवान प्रान्तको छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने तयारी गरेको हो।
जस्तालाई त्यस्तै नीतिको अबलम्ब गर्दै चीनले अमेरिकी दूतावास बन्द गर्न लागेको एससीएमपीले उल्लेख गरेको छ। आफ्नो महावाणिज्य दूतावास बन्द गर्ने अमेरिकी निर्णयपछि चीनले बुधबार उक्त कार्यको कडा प्रतिवाद गर्ने बताएको थियो।
वासिङ्टनले चीनको ग्वाङझाओ, सांघाइ, सेनयाङ, छेन्दु र वुहानमा महावाणिज्य दूतावास स्थापना गरेको छ। त्यस्तै चीन प्रशासित हङकङ र मकाउमा पनि अमेरिकी वाणिज्य दूतावास छन्। हाल चीनले बन्द गर्ने योजना बनाएको अमेरिकी महावाणिज्य दूतावास सन् १९८५ मा निर्माण भएको थियो।
विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको चीन र पहिलो अर्थतन्त्र रहेको अमेरिकाबीच हाल सुरक्षा, व्यापार, प्रविधिजस्ता विषयमा विवाद जारी छ।
पछिल्लो समय कोरोना भाइरसकै विषयमा पनि दुई देशबीच तनाव बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई कहिले वुहान भाइरस त कहिले चिनियाँ भाइरस भन्दै चीनप्रति आ’क्रोश व्यक्त गरिरहेका छन्।
चीनले कोरोना भाइरसको सूचना लुकाएका कारण विश्वभर कोरोना फैलिएको अमेरिकी आरोप छ भने हङकङमा चीनले सुरक्षा कानुन लागू गरेपछि अमेरिकाले एक–देश, दुई प्रणालीको उल्लंघन भएको बताउँदै हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियत बन्द गरेको छ।
अमेरिकाले चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानलाई स्वतन्त्र देश भएको बताउँछ भने पछिल्लो समय अमेरिकाले हुवावेसहितका चिनियाँ प्रविधि कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको छ।
यस्तै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा अमेरिकाले अन्य दाबीकर्ता देशहरुको साथ दिएको छ। यी विवादले पनि दुई देशबीचको सम्बन्धको दूरी बढिरहेको छ। र एकले अर्कालाई सकेजति प्रतिबन्ध लगाउँदै जाने स्थितिमा पु¥याएको छ।