काठमाडौं। गत महिना किनबेचको तुलनामा जग्गा रोक्का राख्नेको संख्या बढिरहेकोमा साउन लागेपछि भने रोक्का राखिएका जग्गा फुकुवा गर्नेको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।
साउन महिनाको सुरुवाती कारोबारको ट्रेण्ड हेर्दा १ हजार घर जग्गा रोक्का (जग्गा धितो राखेर ऋण लिने) को काम हुँदा करिब एक हजार ३०० घरजग्गा फुकुवा (ऋण तिरेर जग्गा आफ्नो नाममा ल्याउने) को काम भएको छ।
असारको तथ्यांक हेर्दा दैनिक औसत ५०० वटाभन्दा बढी घरजग्गा फुकुवा हुँदा १ हजार बढी घरजग्गा रोक्का र २ हजार बढी घरजग्गा किनबेच हुने गरेका थिए।
साउन महिनाको सुरुवातमा भने रोक्का भन्दा फुकुवाको संख्या बढी देखिएको हो। रोक्का राख्ने भन्दा फुकुवा गर्नेको संख्या दैनिक १०० जनाभन्दा बढी देखिएको हो।
असार महिनाको अन्तिम ३ दिनमा ७ हजार ३०० घरजग्गा किनबेच हुनुका साथै २ हजार ८०० घरजग्गा रोक्का र १ हजार ८०० घरजग्गा फुकुवाको काम भएको थियो।
साउन लागेपछि भने जम्मा २ हजार ४०० मात्रै घरजग्गा किनबेच भएका छन्। जुन असार अन्तिममा एक दिनमा किनबेच हुने घरजग्गाको संख्या भन्दा पनि कम हो।
असारमा दैनिक २०० कारोबार, साउनमा १०० पनि नाघेन
असारमा दैनिक करिब २५० घरजग्गा किनबेच गराउने मालपोत कार्यालयहरुले पनि साउन लागेपछि भने ६० देखि ७० भन्दा बढी किनबेच गराउन सकेका छैनन्।
मालपोतका जनकपुर, इनरुवा, विराटनगर, वीरगंज, झापा र धनगढी लगायतका कार्यालयले असारमा दैनिक १०० देखि २५० वटासम्म घरजग्गा किनबेच गराइरहेका थिए।
अहिले भने यी कुनै पनि कार्यालयले १०० वटाभन्दा बढी घरजग्गा किनबेच गराउन नसकेको विभागको तथ्यांक छ।
ऋण लिने क्रमका किन ब्रेक लाग्यो?
साउन लागेपछि घरजग्गा धितो राखेर ऋण लिने क्रममा ब्रेक लागेको छ। असारमा भने यसरि ऋण लिने क्रम निकै बढेको थियो।
तीन महिना लामो लकडाउनका कारण ऋण स्वीकृत गराइसकेका बैंक तथा वित्तीय संस्थाले लकडाउन सहज हुनेबित्तिकै जग्गा रोक्का राख्न हतार गर्दा सुरुवाती दिनमा किनबेच भन्दा धितो राख्नेको संख्या बढी देखिएको थियो।
तर साउन लागेपछि भने सुरुदेखि नै ऋण लिनेको संख्यामा कमि देखिएको छ भने बैंक तथा वित्तीय संस्थामा नयाँ ऋणको माग गर्ने व्यक्ति तथा कम्पनीको संख्यामै कमि आएका कारण धितो कारोबार घटेको मालपोत कार्यालयले जनाएका छन्।
बेच्ने छन्, किन्ने छैनन्
घरजग्गा किन्ने मान्छे नहुँदा बेच्न चाहने मान्छेले पनि बेच्न नसकेको मालपोत कार्यालय जनकपुरमा प्रमुख वासु कोइरालाले बताए।
धेरै मानिस विदेश जाने मध्येको प्रदेश हो २ नम्बर प्रदेश। त्यसकै अस्थायी राजधानी जनकपुरमा विदेशबाट आउने रेमिट्यान्सले धेरै घरजग्गा किनबेच हुने गरेका थिए। यतिबेला रेमिट्यान्स पनि आउन बन्द भएको कारण जग्गा बेच्ने मान्छे हुँदा हुँदै पनि किन्ने मान्छे नभएको कोइरालाले बताए।
एक आर्थिक वर्षमा एक पटकमात्रै कित्ताकाट गर्न पाउने सरकारी नीतिका कारण पनि असर परेको हो। असारमा कित्ताकाट गरे साउनमा पनि कित्ताकाट गर्न पाउने भएकाले सुविधा लिने उद्देश्यले मात्र असारमा अधिक घरजग्गा किनबेच हुने गरेका थिए। गत आर्थिक वर्षमा पनि त्यस्ता जग्गाको कित्ताकाट गरिएकोले कारोबार केही बढेको देखिएको हो।
साउनमा कारोबार घट्नुको अर्को कारण भनेको जग्गाको न्युनतम मूल्यांकन बढ्नु हो। साउन १ गतेदेखि लागू हुने जग्गाको नयाँ न्यूनतम मूल्यांकन बढेर आउँदा बढी कर तिर्नुपर्ने भएकाले धेरै जसो किन्ने व्यक्तिले असार अन्तिममै घरजग्गा किनबेच गरिसक्छन्। तर यस पटक अधिकांश कार्यालयले पुरानै न्यूनतम मूल्यांकनलाई निरन्तरता दिएको मालपोत कार्यालयले जनाएका छन्।
समस्यामै परेका मानिसहरु बाहेक अरु मानिसहरु घरजग्गा किनबेचमा संलग्न नहुँदा पनि साउनमा कारोबार घट्ने मालपोत कार्यलयहरुको प्रक्षेपण छ। समस्यामा परेका मानिसहरुले असारमै टुक्रे जग्गाको किनबेच गरिसकेका छन्। ठूलो घरजग्गा किनबेच गर्ने रियल स्टेट कम्पनीले यतिबेला नयाँ कामको थालनी गर्न नसक्ने भएकाले पनि साउनमा घरजग्गा किनबेच कम हुने अनुमान छ।