काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् ।
ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले सीतागुफा परिसरमा मन्दिर बनाउने तयारी भइरहेकै समय भारतीय पक्षले विवाद खडा गर्न स्तम्भ नै उखेलिदिएका बताए ।
‘बिहानसम्म सीमास्तम्भ थियो, पुजाआजा सकिएर फर्किएपछि एकाएक गायब भयो, उखेलेर त्यही नजिकै फालिएको रहेछ’, खनालले राजधानीसँग भने, ‘यो भारतीय पक्षले मन्दिर बनाउन नदिन र त्यस क्षेत्रलाई संरक्षण हुनबाट रोक्न विवाद खडा गर्न गरेको प्रपञ्च हो ।
पर्साको ठोरी गाउँपालिका–२ मा पर्ने सीता गुफा रहेको पहाडको शिरमा नेपाल र भारत सीमा छुट्याउन गाडिएको ४३६ नम्बरको पिलर, शनिवार उखेलेर त्यहाबाट भारत तर्फको भूभागमा फालिएको अवस्थामा भेटिएको हो।
सीता गुफा रहेको पहाडको शिरमा रहेको ४३६ नम्बरको पिलर गाडिएको स्थान भन्दा ५ मिटर भारत तर्फको भूभागमा फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए।
पिलर उखेलेर फालिएको खबर पाएलगत्तै शनिबार साँझ त्यहा पुगेका सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘ शनिवार दिउँसो साढे १२ बजे पुग्दा पिल्लर गाडिएकै ठाउँमा दुरुस्त थियो, तर अहिले आएर हेर्दा उखेलेर भारततर्फ फालिएको अवस्थामा भेटियो, यस विषयमा अनुसन्धान गरिरहेका छौँ।’ दाहालका अनुसार पिलर उखेलेर फालिएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ।
ठोरीका स्थानीयले भने प्रधानमन्त्रीको अभिव्यक्तीपछि सीता गुफा एकाएक चर्चामा आएपछि भारतीय सुरक्षाकर्मीले उक्त स्थान आफनो भूमीमा पार्ने नियतले सीमाको पिलर उखेलेर फालेको हुन सक्ने बताएका छन्। प्रहरीले भने पिलर कसले फालेको हो भनेर पुष्टि गरिसकेको छैन।
सीता गुफा रहेको सुमेरु पहाडमा शनिवार साँझ नेपाली सुरक्षाकर्मीसँगै पुगेका ठोरी ३ का वडा अध्यक्ष सूर्य लामाले भने,‘पहाडको चट्टानमा गाडिएको पिल्लर आफै ढल्ने सम्भावना नै छैन, उखेलेर नै फालेको हो।’
प्रधानमन्त्रीले राम जन्मभूमी ठोरीमै पर्ने अभिव्यक्ति दिएपछि ठोरीको सीता गुफा चर्चामा आएको भन्दै उनले नेपालको यो पवित्रस्थल भारतीय भूमीमा पार्ने नियत राखेर उखेलेर फालेको हुन सक्ने बताए।
‘यदि भारतीय पक्षबाट यो काम भएको हो भने हामीलाई स्वीकार्य हुँदैन’, उनले भने, ‘हामी हाम्रो भूमीको रक्षाका लागि ज्यान दिन पनि तयार छौँ।’