काठमाडौं । मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुको छुट्टै एशोसिएसन खुलेको छ । देशभर सञ्चालित डिजिटल टेलिभिजन लगायतका विभिन्न सेवाहरु दिँदै आएका अपरेटरहरुले शुक्रबार आयोजित पत्रकार सम्मलेलनमार्फत् ‘डिजिटल टिभि अपरेटर्स एशोसिएसन अफ नेपाल’ नामको छुट्टै संघको गठन गरिएको हो ।
उक्त संघमा हाल सञ्चालनमा रहेका सबैजसो डिजिटल टेलिभिजन अपरेटर्सहरुको सहभागिता रहने जनाइएको छ । शुक्रबारको कार्यक्रममार्फत् घोषणा गरिएको उक्त संघको तदर्थ समितिमा डिसहोमका सुदीप आचार्य अध्यक्ष तोकिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले पहिलेदेखि नै मल्टिसिस्टम अपरेटरहरुको छुट्टै संस्थाको आवश्यकता महशुस गरेको भएपनि पछिल्लोपटक भारतीय टेलिभिजनहरुले नेपालको विरुद्धमा अनर्गल प्रचार गरेपछि ती टेलिभिजन बन्द गर्ने क्रममा यसको आवश्यकता थप महशुस हुँदै गएको बताए ।
उनले यो संघले मल्टी अपरेटरहरुको हितको लागि सरकारसँग पहल गर्ने, सेवाको शर्त र गुणस्तरहरुलाई एकीकृत गर्ने तथा विदेशी टेलिभिजन च्यानलको मूल्यको लागि सामुहिक बार्गेनिङ गर्ने उद्देश्य लिएको समेत बताए ।