भारत र इरानबीच भएको रेलमार्ग निर्माण सम्झौता रद्द भएसँगै इरानले चीनसँग सम्झौता गर्दा पाकिस्तान गदगद बनेको छ ।
इरानले चीनसँग ४०० अर्ब डलरको सम्झौता गरेको हो ।
पाकिस्तानले चीनलाई आफ्नो सर्वकालीन मित्र मान्ने गर्छ र इरान–चीन सम्झौतासँगै पाकिस्तानलाई इरानसँगको सम्बन्ध बलियो बनाउन आधार प्राप्त हुनेछ ।
शिया सुन्नी विवादका कारण पाकिस्तान र चीनको सम्बन्ध त्यति सुमधुर छैन यद्यपि यी दुई छिमेकी हुन् ।
चीनले इरानसँग सम्बन्ध बढाएर पश्चिम एसियामा वर्चस्व स्थापना गर्न लाग्दा भारतलाई ठूलै झट्का लागेको छ । यसले पाकिस्तानलाई दंग पारेको छ ।
इरानले चीनको प्रस्ताव चार वर्षसम्म टारिरह्यो तर अमेरिकी प्रतिबन्धको दबाब अब झेल्न गाह्रो परेपछि स्वीकार गरेको छ । चीनको मध्यस्थतामा पाकिस्तान र इरानबीचको शिया सुन्नी झगडा पनि मत्थर हुनेछ ।
इरानले आफ्नो चाबहार बन्दरगाहलाई पाकिस्तानको ग्वादर बन्दरगाहसँग जोड्नेछ । ग्वादर वस्तुतः अहिले चीनको नियन्त्रणमा छ ।
चाबहारबाट जम्मा ३५० किलोमिटर पर रहेको जस्क बन्दरगाह पनि चीनलाई दिइने सम्भावना छ ।
इरानमा चीनको नियन्त्रण बढ्ने सम्भावनासँगै भारतको कनेक्टिभिटी समस्यामा पर्छ । पाकिस्तानसँग दूरी कायम गर्नका लागि भारतले अफगानिस्तानमा जरंज र दिलारामको बीचमा २०० किलोमिटर लामो सडक बनायो ।
त्यसबाट भारतले अफगानिस्तानका साथै मध्य एसियाली देशहरूको बजारसम्म पहुँच बनाउन खोजेको थियो ।
उक्त सडकलाई इरान र मध्य एसियाली देशहरूसँग जोड्नका लागि भारत र इरानबीच दुई सम्झौता भएका थिए । पहिलो थियो चाबहार–जहेदान सडक र दोस्रो थियो चाबहार बन्दरगाह । सन् २०१६ मा भएको सम्झौता अहिलेसम्म अलमलमा छ ।
अमेरिकी प्रतिबन्धका कारण कुनै पनि देशले उपकरण दिन नमानेकाले यो परियोजना शुरू हुनै सकेन । बाध्य भएर इरानले चीनको साथ मागेको हो ।
इरानसँग सम्झौता गरेर चीनले त्यहाँको तेलखानीमा आँखा लगाइरहेको छ । इरानसँगै उसले अफगानिस्तान र मध्य एसियाका पाँच ठूला मुसलमान देशका तेलखानीमा पनि हिस्सेदारी खोजेको छ ।
यसका लागि पाकिस्तानको इस्लामिक राष्ट्रको पहिचानलाई चीनले भजाउने भरपूर कोशिश गर्नेछ ।
अनि चीनको नजर अफगानिस्तानको दुर्लभ पदार्थ खानीमा समेत छ । पाकिस्तानसँगै इरानमा पनि चिनियाँ नियन्त्रण कायम भएमा अफगानिस्तान र भारतबीचको सम्बन्ध समस्यामा पर्ने सम्भावना रहन्छ ।
उता मध्य एसियाली देशहरू कुनै बेलामा सोभियत रुसकै एक अंग थिए र रुसकै प्रभाव उनीहरूमा छ । तर चीनले ती देशमा प्रभाव बढाउन थालेको छ । चीनका राष्ट्रपति सी चिनफिङले महत्त्वाकांक्षी पेटी सडक पहलको घोषणा नै कजाकास्तानबाट गरेका थिए । मध्य एसियाली देशमा समेत प्रभाव जमाउन सफल भएमा चीन महाशक्ति बनिहाल्छ ।