काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले नेपाल र भारतको कूटनीति सम्बन्ध खल्बल्याउने बताएका छन्।
सोमबारको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता कोइरालाले यसले नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेको बताए।
‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कूटनीति खल्बल्याउँने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’, कोइरालाले भनेका छन्।
उनले लुम्बिनीको विषयमा नेपालीले सम्झौता गर्न नसके जस्तै भारतीयले श्रीराम र अयोध्याका विषयमा गम्भीर रहेको बताएका छन्। ‘जसरी गौतमबुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं,’ उनले भने, ‘त्यसैगरी भारतीयहरु श्रीराम र अयोध्याका विषयमा केही कुरा सुन्न चाहँदैनन्।’
प्रधानमन्त्रीले रामको जन्मस्थान अयोध्या नेपालमै रहेको र यो चितवन नजिक ठोरीमा रहेको बताएका थिए। भारतले नक्कली अयोध्या खडा गरेको आरोप प्रधानमन्त्रीको थियो।