भारतीय घोषणा गरेको कोरोना भाइरसको खोप विवादित, डेढ महिनामैमानव प्रयोगका लागि असम्भव

नयाँदिल्ली । भारतको स्वास्थ्य अनुसन्धान परिषद् (आईसीएमआर) ले अगस्ट १५ भित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने घोषणा विवादमा तानिएको छ । परिषद् भारतको बायोमेडिकल अनुसन्धानको नियमन, समन्वय र प्रवर्द्धन गर्ने सर्वोच्च संस्था हो ।

परिषद्का प्रमुख डा. बलराम भार्गवले गत बिहीबार कोभिडविरुद्ध तयार पारिएको ‘कोभ्याक्सिन’ खोपको हालसम्मको परीक्षण सफल रहेको र अगस्ट १५ भित्र सर्वसाधारणमा प्रयोगमा ल्याउने गरी त्यसअगावै सबै किसिमका क्लिनिकल ट्रायल सम्पन्न गरिसक्न विभिन्न १२ वटा परीक्षण केन्द्रलाई पत्राचार गरेपछि त्यसलाई लिएर विवाद सिर्जना भएको हो ।

यति छोटो अवधिमा खोप ल्याउने घोषणाप्रति वैज्ञानिक र अनुसन्धानकर्मीहरूले समेत प्रश्न उठाएका छन् । यसले भारतका मात्र होइन पश्चिमा मुलुकका अनुसन्धानकर्मीहरूलाई पनि आश्चर्यमा पारेको छ ।

कोभिड–१९ को खोपका लागि संसारभरका कहलिएका अनुसन्धान संस्थानहरू भिडिरहेका बेला परिषद्को डेढ महिनाभित्रै नयाँ खोप प्रयोगमा ल्याउने घोषणाले उनीहरूलाई आश्चर्यमा पार्नु अस्वाभाविक होइन । सँगै उनीहरूले यति छोटो अवधिमा कुनै पनि नयाँ खोप मानव प्रयोगका लागि तयार हुनु असम्भव भएको भन्दै परिषद्ले ल्याउने भनेको खोपको अनुसन्धान र परीक्षणमै प्रश्न उठाएका छन् ।

बेलायत, अमेरिकालगायत मुलुकहरू भइरहेको अनुसन्धानले कोभिड–१९ विरुद्धको खोप बजारमा ल्याउन कम्तीमा पनि एकदेखि डेढ वर्ष लाग्ने देखाएको छ । त्यही भएर कतिपय विशेषज्ञहरूले एक महिनाभित्र खोपका लागि गर्नुपर्ने तीन चरणको परीक्षण सम्भव नभएको भन्दै चाँडै खोप ल्याउने नाममा मानव स्वास्थ्यमै खेलवाड गर्न लागिएको समेत आरोप लगाएका छन् ।

खोपको विकास आईसीएमआर र पुनेस्थित नेसनल इन्स्टिच्युट अफ भायरोलोजीसँगको समन्वयमा भारत बायटेक इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । हालसम्मको परीक्षण उत्साहजनक रहेको पनि आईसीएमआरले जनाएको छ ।

खोपको पूर्वचिकित्सकीय अध्ययनका तथ्यलाई गहिरो अध्ययनपछि औषधि महानियन्त्रण कार्यालयले पहिलो र दुई चरणको मानवमा गरिने क्लनिकल परीक्षणको अनुमति दिइएको बताइएको छ । यही परीक्षणका लागि आईसीएमआरले अगस्ट १५ भित्र सक्न भन्दै गत बिहीबार सबैलाई परीक्षण केन्द्रलाई पत्राचार गरेको थियो । त्यसपछि परीक्षणलाई लिएर प्रश्न उठेको थियो । साथै परीक्षणमा सहभागी हुन चाहनेहरूका लागि ७ जुलाईसम्म छनोट गरिसक्न पनि परिषद्ले आदेश दिएको छ ।

सामान्यतया कुनै पनि खोपको परीक्षणका लागि कम्तीमा पनि एकदेखि डेढ वर्ष लाग्ने हुँदा परिषद्को परीक्षणको पछिल्लो निर्णय र परीक्षणमाथि नै प्रश्न उठेको हो ।

त्यसैगरी नयाँ खोप प्रयोगमा ल्याउनका लागि अगस्ट १५ को मिति तोक्नुका पछाडि राजनीतिक कारण रहेको समेत दाबी गरिएको छ । विपक्षी पार्टीहरूले आईसीएमआरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुकूल हुने गरी समयसीमा राखेको दाबी गरे ।

खोप सार्वजनिक गर्ने दिन भारतको स्वतन्त्रता दिवस पर्छ । उक्त दिनमा भारतीय प्रधानमन्त्रीका तर्फबाट रणनीतिक र दूरगामी प्रभाव पार्ने घोषणा गर्ने परम्परा रहँदै आएको छ । विपक्षी दल र विशेषज्ञहरूले स्वतन्त्रता दिवसकै दिन खोप सफल भएको घोषणा गर्ने रणनीतिअनुरूप नै मिति तोकिएको दाबी गरेका छन् ।

तर आईसीएमआरले ती आरोपको खण्डन गर्दै खोपको परीक्षणका क्रममा सुरक्षा र व्यक्तिको अधिकारको सम्झौता नगरिने र विश्वव्यापी प्रचलित मापदण्ड पूरा गरिने जनाएको छ । आईसीएमआरले भने पूरा विश्व नै कोभिड–१९ महामारीले आक्रान्त भएकाले विभिन्न देशले मानिसहरूको ज्यान जोगाउनका लागि खोपको परीक्षण गरिरहेको र त्यही क्रममा भारतले पनि आफ्नै खोपको विकास गर्ने दिशामा अगाडि बढेको जनाएको छ । त्यसका लागि सुरक्षा, गुणस्तर, मापदण्डलगायत सबै सर्तहरू पूरा गरिने पनि उसले जनाएको छ ।

सामान्यतया कुनै पनि नयाँ खोप तीन चरणको मानव परीक्षणबाट गुज्रिन्छ । परिषद्ले समन्वय गरेको खोपका लागि पहिलो र दोस्रो चरणको अनुमति मात्र पाएको छ । त्यसका लागि सुरुमा करिब १५ महिना लाग्ने अनुमान गरिएको थियो ।

तर अहिले एक्कासि आएर डेढ महिनाभित्र सबै परीक्षण सक्ने भनिएपछि खोपको अनुसन्धान र परीक्षणविधिमाथि विशेषज्ञहरूले नै प्रश्न उठाएका हुन् । उनीहरूको भनाइमा खोपको परीक्षण दु्रत गतिमा गर्न सकिए पनि त्यसलाई बजारमा ल्याउन कम्तीमा एक वर्ष लाग्छ ।

यसरी प्रश्न उठाउनेमा दिल्लीस्थित एम्स्का निर्देशक रनदीप गुलेरिया छन् । उनी कोभिड–१९ को राष्ट्रिय कार्यदलको क्लिनिकल रिचर्स ग्रुपका प्रमुख हुन् । ‘अति चुनौतीपूर्ण र कठिन काम हो । यदि हामीले सकारात्मक नतिजा हात पारिहाल्यौं भने पनि ठूलो परिमाणमा उत्पादन गर्न त्यत्तिकै गाह्रो छ,’ गुलेरियालाई उद्धृत गर्दै भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले लेखेको छ ।

तर, आईसीएमआरले भने नागरिकहरूको बृहत् स्वास्थ्य हितलाई ध्यानमा राखी परीक्षणलाई तीव्रता दिइएको आईसीएमआरको दाबी छ । त्यसैगरी परिषद्ले खोपको विकासको प्रक्रियालाई प्रशासनिक प्रक्रियाका हुने र झन्झटबाट मुक्त राख्न खोजिएको समेत जनाएको छ ।

भारतमा कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिरहेको छ । सोमबार साँझसम्ममा भारतमा भाइरस संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरूको सूचीमा रुसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

संक्रमितमध्ये १९ हजार २ सय ६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । र, ४ लाखभन्दा बढी उपचारपछि निकोसमेत भइसकेका छन् । संक्रमण बढ्दै गएपछि भारत सरकारले परीक्षण, क्वारेन्टाइन र बिरामीहरूको उपचारलगायतमा ठूलो दबाब सामना गर्नुपरेको छ ।

उपचार व्यवस्था कमजोर भएकोमा चर्को आलोचनासमेत भइरहेको छ । त्यही आलोचना र दबाबलाई ओझेल पार्न सरकारको निर्देशनमा परिषद्ले अर्को महिना भाइरसविरुद्धको खोप प्रयोगमा ल्याउने घोषण गरेको आलोचकहरूको दाबी छ ।

भर्खरै प्रकाशित

अफगानिस्तानी पुरुषहरुको दाह्री नकाट्न नाऊहरूलाई तालिबानको निर्देशन

काबुल । अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले नाऊहरूलाई दाह्री खौरन र छोटो बनाउन प्रतिबन्ध लगाएको छ । इस्लामिक शरिया कानुनको उल्लंघन हुने भन्दै तालिबानले नाऊहरुलाई दाह्री…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…

एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् । सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९…

साउदीमा रहेका पुरुषसँग भिडियो कलबाट विवाह गरि घर गएकी युवतीको…

सामाजिक संजालको प्रयोग र यसका सकारात्मक अनि नकारात्मक पक्षका घटनाहरु छरपस्ट भईरहदा रोल्पामा अनौठो घटना घटेको छ। फेसबुकको भिडियो कल कुराकानी अनि त्यस पछिको माया…