भारतीय मिडियाको आरोप : चीन र पाकिस्तान मिलेर केपी ओलीको सरकार टिकाउन लागिपरेका छन्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली केन्द्रित भएर यतिबेला सत्ता युद्ध चलिरहेको छ । नेपालमा सरकारमाथि देखिएको संकटको बारेमा भारतीय पत्रिका इकोनोमिक टाइम्सले आफ्नो दोस्रो पृष्ठमा विस्तारित रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टमा प्रधानमन्त्री केपी ओलीले आफ्ना कुर्सी बचाउनका लागि नेपाल कम्युनिस्ट पार्टीलाई फुटाउने कोशिस गरिरहेको उल्लेख छ । पत्रिकाका अनुसार यस मामिलामा पाकिस्तान र चीनमाथि ओली सरकार बचाउने खेलमा लागिरहेको आरोप लागेको छ ।

ओलीमाथि राजीनामाको दबाब छ । त्यही भएर उनले अचानक संसदको बजेट अधिवेशनलाई अन्त्य गर्ने फैसला गरेका थिए । पत्रिकाको दाबी छ, ‘ओली एउटा अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास गरिरहेका छन् ।’ रिपोर्ट अनुसार ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि सम्पर्क गरेका छन् ।

ओली दल विभाजनसम्बन्धी अध्यादेश पुनः ल्याउन चाहन्छन् । अध्यादेशको सहयोगले पार्टी फुटाएर ओली सत्तामा विराजमान भइराख्न चाहन्छन् । यसमा उनलाई चीन र पाकिस्तानको समर्थनको रहेको पत्रिकाले दाबी गरेको छ ।

पत्रिकामा भनिएको छ, ‘भारतविरोधी फैसलाको बारेमा ओली पाकिस्तानका प्रधानमन्त्री इमारान खानको पनि सम्पर्कमा रहेका छन् । यसको साथै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि ओलीलाई सत्तामा टिकाइराख्न प्रयासरत छिन् । हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँ स्थित चियिनाँ दूतावासको पनि हात रहेको छ । होउ नेपालअघि पाकिस्तानमा तीन वर्ष रहेकी थिइन् ।’

ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ । ओलीले बिहीबार संसद बजेट सत्रलाई स्थगित गर्ने निर्णय लिएका थिए जसलाई राष्ट्रपतिले स्वीकृत गरेका छन् ।

नेकपाको स्थायी समितिमा कूल ४४ सदस्य रहेका छन् । जसमध्ये ३० जनाले ओलीले राजीनामा माग गरेका छन् । अधिवेशन अन्त्य गर्दै ओलीलाई आफ्नो पक्षमा समर्थन जुटाउन र संसदमा तत्काल अविश्वास प्रस्तावबाट बच्ने समय मिलेको छ ।

त्यस्तै, अध्यादेशले ओलीलाई बहुमत पुर्याउन र पार्टी फुटाउन सहज हुनेछ । ओलीविरुद्ध पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत रहेका छन् । स्रोतः इकोनोमिक टाइम्स/ बीबीसी

यसैबीच प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी फुटिसकेको घोषणा गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको भेटमा यस्तो बताएका हुन् । उनले आफुलाई पार्टीबाट निक्लन समेत प्रचण्डलाई ध’म्की दिएको बताइएको छ ।

‘पार्टी त फुटिसक्यो सही कुरा हो । भोलि तपाईंहरुले मलाई निकाल्नुस्, त्यसपछि म घोषणा गर्छु,’ ओलीले प्रचण्डसँग भनेको भनाइ उद्धृत गर्दै एक नेताले भने । ओली र प्रचण्डसँगै छलफलमा केहिबेर महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रचण्डले शुक्रबार साँझ सचिवालयका ६ सदस्यहरुसँग ओलीसँग भएको कुराकानी वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई सुनाएका थिए ।

ओलीले भेटमा आफूले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा नदिने अडान पनि लिएका छन् । ‘प्रधानमन्त्री र अध्यक्षको कुरा गर्न आउनु भएको हो भने कुरै नगर्नु । त्यो सम्भावना छैन,’ ओलीले प्रचण्डलाई भनेका थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई अर्को प्रस्ताव पनि गरेका छन् । ‘पार्टी एकता नै गर्ने हो भने एउटा कुरा अझै बाँकी छ । तपाईंले फैसला गर्नुपर्यो, मेरो टिममा बसेर काम गर्ने कि माधव नेपालको टिममा बसेर काम गर्ने ?’ ओलीले प्रचण्डलाई भनेका थिए ।

जवाफमा प्रचण्डले यो असम्भव भएको र यस्ता अनावश्यक कुरा नर्गन सुझाएका थिए । उनले ओलीलाई सहमतिमा आउन पनि भनेका थिए । शनिबार स्थायी कमिटी बैठक बस्नुअघि प्रधानमन्त्री ओलीसँग प्रचण्डले छलफल गर्ने तय भए पनि बैठक नै स्थगित भएको छ । त्यो छलफलपछि मात्रै कसरी अगाडि बढ्ने भन्नेबारे बैठकबाट निर्णय गर्ने तयारी प्रचण्ड र नेपाल समूहको छ ।

यस्तै ओली समूहले उपाध्यक्ष गौतमलाई फकाउने प्रयास पनि जारी राखेको छ । शुक्रबार साँझ महासचिव पौडेल, शंकर पोखेरललगायतका नेताहरुले गौतमलाई भेटेका थिए । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड=बीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै प्रचण्डलाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले पार्टीको काम गर्ने भन्ने हो । अध्यक्ष प्रचण्डले भने मंसिर ४ को सहमति कार्यान्वयनमा ओलीले नै बाधा सिर्जना गरेकाले अब पार्टी एकता गर्दा जेठ २ मा भएको सहमतिअनुसार जानुपर्ने प्रस्ताव गरेका छन् । जेठ २ को सहमतिको स्पिरिट भनेको दुवै अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने हो । यसको अर्थ ओलीले अब पद छोड्नुपर्छ भन्ने हो ।

जेठ २ को पाँचबुँदे सहमतिको बुँदा नम्बर ४ मा समानता र सहमतिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । यस्तै सहमतिमा एकता महाधिवेशन गर्ने, सिद्धान्त, समानता र सम्मानजनक र न्यायोचित एकता गर्ने, एकता महाधिवेशन नहुँदासम्म सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा गर्ने, दुवै अध्यक्षको सहमति र हस्ताक्षरलाई मात्रै आधिकारिक मानिने उल्लेख छ । दाहालले एकीकरणको यही बिन्दुमा पुगेर छलफलको थालनी गर्न ओलीलाई प्रस्ताव गरेका थिए तर ओली त्यसलाई स्वीकार्न तयार भएनन् ।

प्रचण्डको प्रस्तावमा छलफलमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माले सहमति जनाएका थिए । सरकारको लोकप्रियता खस्किरहेको र पार्टीभित्र पनि समस्या बढेको अहिलेको सन्दर्भमा पुरानै सहमतिमा फर्किन उचित हुने धारणा शर्माको थियो । पूर्व माओवादी धारका अधिकांश नेताहरु दाहालले मंसिर ४ मा गरेको सहमति नै गलत थियो भन्ने निष्कर्षमा पुगेका छन्, यो निष्कर्ष स्वयम् प्रचण्डको पनि हो । ‘तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले नै पार्टी एकता गरेकाले पार्टी बचाउने काम पनि उहाँहरुकै हो,’ स्थायी कमिटी सदस्य मणि थापाले भने, ‘दुवै अध्यक्षहरुले २०७५ जेठ २ गतेको सहमतिभन्दा अझै अगाडि गएर छलफल थाल्नुपर्छ र त्यसमा नयाँ समस्याबारे पनि कुराकानी हुनुपर्छ ।’

जेठ २ को सहमतिमा उल्लेख भएको आलोपालोमा सरकार चलाउने प्रावधानअनुसार प्रचण्डले यही साउनदेखि सरकारले नेतृत्व पाउन सक्थे । त्यसैले पनि प्रचण्ड पक्षीय नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक स्थान दिने, मुख्यमन्त्री र मन्त्रीमा नेपाल निकट नेताहरुलाई व्यवस्थापन गर्नेगरी अघि बढ्नुपर्ने पक्षमा छन् । बैठकमा ओली र प्रचण्डबीच ठोस सहमति हुन नसकेको नेता शर्माले बताए । ‘नेताहरुबीच खुलमखुल्ला छलफल भयो, विषयबस्तुमा ठोस सहमति भएको छैन, फेरि छलफल हुन्छ,’ उनले भने ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…