भारत–चीन सम्बन्धमा रुसको इन्ट्री : कसको सम्बन्ध बलियो ?

बीबीसी। भारतीय रक्षामन्त्री राजनाथ सिंह सोमबारदेखि तीनदिने रुस भ्रमणमा निस्किएका छन्। उनले रुसको उच्च सैन्य अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। विश्वयुद्धमा जर्मनीमाथि सोभियत संघ विजयी भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा आयोजित भव्य सैन्य परेडमा समेत उनले उपस्थिति जनाउने भएका छन्।

कोभिड–१९ महामारीका कारण चार महिनासम्म यात्रा प्रतिबन्ध लागेका कारण भारतका केन्द्रीय मन्त्री विदेश भ्रमणमा निस्किएको यो पहिलोपटक हो।

भारतको लद्दाखमा चीनसँगको गतिरोध कायमै रहँदा रक्षामन्त्री सिंहको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। सीमामा भएको विवादका बीच पनि रक्षामन्त्री सिंहले आफ्नो यात्रा स्थगित नगर्नुमा मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन्, ‘रुससँग भारतको दशकौं पुरानो सैन्य सम्बन्ध छ। रक्षामन्त्री सिंहले त्यहाँका उच्च अधिकारीसँग दुवै देशबीच सैन्य सहयोग बढाउने विषयमा छलफल गर्नेछन्।’

भारतीय सञ्चारमाध्यमले पनि रक्षामन्त्रीको यो यात्रालाई भारतको सैन्य क्षमता बढाउने प्रयासका रूपमा व्याख्या गरेका छन्। उता विश्लेषकका अनुसार कोभिड–१९ का कारण रुसबाट भारतले पाउने हतियार र डिफेन्स सिस्टमको वितरणमा समय लाग्ने भएको छ। यसलाई छिटो छरितो गराउन पनि उनी रुस गएका हुन्।

सम्झौतामा ढिलाइ

भारतले लामो समयदेखि कैयौं महत्वपूर्ण रक्षा सम्झौतामा आलटाल गर्दै आएको छ। उसले कहिले पैसा छैन भन्ने त कहिले अन्य कारण देखाउँदै पन्छन खोजेको छ। विविध प्रयोजनमा उपयोगी हेलिकप्टरको सन्दर्भमा समेत त्यस्तै भएको थियो। मस्कोमा रहेका पत्रकार विनय शुक्लाले बीबीसीसँगको कुराकानीमा भने, ‘रुसले ६० हेलिकप्टर तयार छ, एक सय ४० वटा भारतमै आएर बनाइदिन्छौं भनेको थियो। तर कर्मचारीबीच नै हानाथाप पर्‍यो र तयार भएका ४० वटा मात्र लिने कुरा भयो। सन् २०१४ सम्म यही विषयमा निर्णय हुन सकेन।’

एम्बुलेन्सका रूपमा पनि उपयोग गर्न सकिने ती हेलिकप्टर भारतसँग भएका भए गलवान घाटीमा घाइते भएका सैनिकलाई तत्काल उपचारका लागि पुर्‍याएर ज्यान बचाउन सकिने उनले बताए। हेलिकप्टर मात्र होइन, रुससँग राइफल बनाउने करार पनि भएको थियो। दुईपक्षीय सम्झौताबमोजिम फ्याक्ट्री बन्यो। तर त्यसमा पनि कर्मचारीतन्त्र हावी भयो। सुखोई र मिग विमान भारतीय वायु सेनाको मेरुदण्डका रूपमा लिइन्छ। तर यसको खरिद प्रक्रिया पनि अहिलेसम्म अड्किएको छ।

रुसको एस–४०० डिफेन्स सिस्टम

भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान हुनासाथ ‘एस–४०० डिफेन्स सिस्टम’को चर्चा हुन थालेको छ। केही मिडियाका अनुसार रुसले यो डिफेन्स सिस्टमको वितरण मिति पछाडि धकेलिदिएकाले भारतका लागि चिन्ताको विषय बन्न पुगेको छ। भारत सरकार रुसमा निर्माण हुने ‘एस–४०० : लङ रेन्ज सरफेस टु एअर मिसाइल सिस्टम’ किन्न चाहन्छ। यो मिसाइलले जमिनबाट हावामा आक्रमण गर्न सक्छ। ‘एस–४००’ लाई विश्वकै सबैभन्दा प्रभावशाली एअर डिफेन्स सिस्टम मानिन्छ। यसका कैयौं विशेषता छन्। यसले एकैसाथ ३६ ठाउँमा निशाना लगाउन सक्छ। चीनसँग पहिलेदेखि नै यो डिफेन्स सिस्टम छ, जुन रुसबाटै प्राप्त भएको हो। चीनभन्दा पहिले रुसले भारतलाई यसका लागि प्रस्ताव गरेको थियो। तर भारत पनि चीनले किनेपछि मात्र यो किन्न तयार भयो।

हतियारका सन्दर्भमा चीन पनि रुसमाथि धेरै निर्भर छ। चीनले रुसमा बन्ने गरेको फाइटर जेटको इन्जिनको नक्कल गरेर आफैं बनाउने धेरै कोसिस गरे पनि सफल हुन सकेन। त्यसैले यसका लागि चीनले लाइसेन्स लिनुपर्ने भयो। रुसले यसको नियन्त्रण सधैं आफ्नै हातमा राख्दै आएको छ।

रुसले चीनलाई दिएको ‘एस–४००’ अमेरिकाबाट आफ्नो रक्षा गर्न मात्र दिइएकाले त्यसको दायरा कम भएको बताइन्छ। तर भारतलाई दिन लागेको सोही मिसाइल सबैभन्दा बढी दायराको रहेको जनाइएको छ। रक्षामन्त्री सिंहको यही भ्रमणमा भारतलाई उक्त हतियार प्रदान गर्ने सम्बन्धमा केही सूचना दिइने आशा गरिएको छ।

कसको सम्बन्ध बलियो ?

भारत र रुसको बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले कुनै पनि देशसँग भारतको कलह परेमा रुसले भारतलाई सहयोग गर्छ भन्ने आमबुझाइ छ। तर अन्तर्राष्ट्रिय मामलाका जानकार एवं अब्जर्भर रिसर्च फाउन्डेसनका स्ट्राटिजी स्टडी प्रोग्राम प्रमुख हर्ष पन्तका अनुसार यो विषय यति सजिलो भने छैन। भारतसँगको सम्बन्धमा नयाँ आयाम ल्याउने कोसिस रुसले गरिरहेको छ। अहिले यो सम्बन्ध खालि रक्षामा मात्र सीमित छ। अन्य कैयौं विषयमा दुई देशबीच मतभेद छ। इन्डो प्यासिफिक रणनीतिमा भारतभन्दा बढी चीनसँग रुस नजिक मानिन्छ।

रुस बहुध्रुवीय विश्व बनोस् भन्ने चाहन्छ। तर यस विषयमा रुससँग चीनको पुरानो मतभेद छ। चीन कहीँ न कहीँ भारतभन्दा रुसलाई आफ्नो नजिक ठान्छ। त्यसैले चीन र भारतबीच तनाव हुँदा आफ्नो अन्तर्राष्ट्रिय स्थितिमा पनि असर पर्छ भन्ने रुसले ठान्छ।

सामाजिक सञ्जालकाअनुसार भारतले भन्यो भने रुसले चीनलाई धम्क्याउन सक्छ र आफ्नो नियन्त्रण लिन सक्छ। तर प्रा. हर्ष पन्तकाअनुसार रुस एउटा कमजोर शक्ति हो जसलाई उठ्नका लागि चीनको सहायता जरुरी पर्छ। रुसको आर्थिक अवस्था खराब छ, जसलाई चीनको सहयोग चाहिन्छ। उनी भन्छन्, ‘ रुसका लागि भारत एक महत्वपूर्ण साथी हो। तर ऊ भारतको एकतर्फी समर्थन गर्ने स्थितिमा भने छैन। भारत र चीनबीच तनाव बढे पनि रुसको उपयोगिता धेरै हुन्छ। किनभने भारतसँग यस्ता धेरै हतियार छन् जसको मर्मतसम्भारका लागि रुसकै आवश्यकता पर्छ।’

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…