दार्जिलिङका ‘खाँटी भारतीय’को सरिता गिरीलाई शुभकामना!

हामी यता दार्जीलिङमा छौ‍ं र खाँटी भारतीय हौं। तर नेपालमा लेखिएका चर्चित पुस्तक खोज्दै पढ्छौं। नेपालमा बनिएका राम्रा चलचित्र खोजी-खोजी हेर्छौं। नेपालका नेपाली गीतलाई यताका गीतलाईभन्दा बढी नै मायाले सुन्छौं। हाम्रो गाउँ-घरमा पुजा-आजा गर्दा पण्डित ‘बाजे’ नेपालकै हुन्छन्। हाम्रा दिदीबहिनीहरू चोली र फरिया अनि पोते र लाछा नेपालकै खोज्छन्। विवाहको भेलादेखि भानु र गिरी जयन्तीमा हामी दौरा-सुरूवाल र टोपी ढल्काएर जातीयता चिनाउँछौ‍ं।

अर्थात हामी नेपाललाई धेरै नजिकबाट माया गर्छौं। हृदयमा राख्छौं। नेपाललाई दुख्दा हाम्रो छाती चिरिन्छ। नेपालले राम्रो ख्याति कमाउँदा हाम्रो छाती गर्वले फेवाताल झैं फैलिन्छ। घमण्डले हाम्रो नाक सगरमाथा नै अग्लिन्छ।

हामी शिक्षित बेकारी हुँदा हामीलाई नोकरीको पहिलो ढोका खोलिदिने काँकरीभिट्टा र पशुपति फाटक नै हो। हुनेहरू विदेशको नाममा टाडै जालान् कमाउन तर निम्न-मध्यम वर्गीयका निम्ति कमाउन जाने विदेश भनेको नेपालै हो। कमाउनु त के दाल-भात-डुकुको जोहोसम्म गरिदिने काम नेपालले धेरैको निम्ति गरेकै छ। यो कलमकारले पनि सुर्खेत अनि बिराटनगरको चरम गर्मीमा एक दशक पसिना सुकाएकै हो। त्यसैले पनि नेपालसित म धेरै नजिक छु लाग्छ। भावनात्मक हामी नेपालदेखि पृथक छैनौं कहिल्यै लाग्छ।

भारतमा हामी तेस्रोदेखि चौथो पुस्ताका छौ‍ं अहिले। हाम्रा अघिल्ला पुस्ताका बाजे-बराजुको नेपालसितको निकटता आजकोभन्दा फरक थियो। सुगौली सन्धिले हामीलाई भारतीय बनाएको इतिहास ‘चियाको बोटमा पैसा फल्ने’ मिथकभन्दा बलियो यथार्थ हो। राजनैतिक हिसाबले अब हामी खाँटी भारतीय छौ‍ं।

सन् १९४७ मा भारत स्वतन्त्र हुँदा हामीले यहाँको संविधानमा हस्ताक्षर गरेर हाम्रो उपस्थिति यहाँ दर्ता गराइसकेका छौ‍ं। ‘अनि देवराली रून्छ’को कथा अबको पुस्ताका निम्ति किंवदन्ति मात्र हो। राजनैतिक पर्खालको रूपमा हामीलाई मेची र कालीले कहिल्यै पृथक गरिसकेको छ। हामीलाई तर हाम्रा जातीय संस्कार-संस्कृतिले, धार्मिक विश्वासले र सबैभन्दा धेर यो भाषिक परम्पराले भने नेपालतिरै तानेर राख्छ।

एकातिर हामी ‘हाम्रा कलाकार-साहित्यकार कि कालले लान्छ कि नेपालले लान्छ’ भनेर नेपालप्रति कृतज्ञता जाहेर गरिराखेका हुन्छौं भने अर्कोतिर ‘तुम लोग नेपाल से आया है नेपाल जाओ’ जस्ता गाली सुनेर नेपाली-गोर्खाली हुनुमा पश्चताप गरिरहेका हुन्छौं। उता फेरि ‘यी धोतीहरू भारतका र एजेन्टहरू हुन्।

बोली मात्र नेपाली यिनीहरू कहिल्यै नेपाली होइनन् र हुँदैनन्’ भन्ने मानसिकताका रापमा डढिरहेका हुन्छौं। माझधारमा परेका यी भारतीय नेपालीहरू न भारतमा सञ्चो र सुरक्षित छन् न नेपालमा मर्यादित र सम्मानित छन्। दुई धारे चुलेसीमा परेका हाम्रा दु:ख र पीडा बुझ्ने त्यो संयुक्त राष्ट्र जस्तो मुटु कहाँ पाउने होला नि हामीले?

एक जना कविताका सामान्य पाठक पनि म। कविता मेरो लेखन र पठनको विधा पनि। मन पराएर नेपालका केही कविहरूका कविता पनि पढ्छु। प्रिय कविहरूका लहरमा नेपालका धेरै कवि मेरा सूचीमा छन्। साहित्यका सिर्जना परम्परा, सिद्धान्त र प्रवृत्ति चिन्नुलाई अध्ययन हामीले नेपालबाटै गर्नुपर्छ। नेपालका सबै सर्जक नेपालको राष्ट्रीयतामा चुर्लुम्म डुबेका हुन्छन्, उनीहरूका देशप्रेम, राष्ट्रभक्ति र स्वदेश पूजन उदाहरणीय लाग्छ।

तर धेरै सर्जकहरूका देशप्रेम भारतको विरोधितामा हुर्केको हुन्छ। अहिले मोदीलाई गरिने गालीमा उनीहरूको राष्ट्रभक्ति चर्को भएको हुन्छ। ‘विस्तारवादी र मिचाहा धोती’ भनेर उनीहरूको स्वदेश पूजन पूर्ण हुन्छ। भारत-पाकिस्तानको क्रिकेट म्याचमा भारत हार्दा पाकिस्तानमा भन्दा धेर पटेका नेपालमा पड्किन्छ।

मेरा एक प्रिय कवि कुर्लन्छन् यसरी-

तिम्रो मकसद के हो मरेन्द्र नोदी? (नरेन्द्र मोदी)
तिम्रो मसला के हो साजनाथ रिँह? (राजनाथ सिँह)
हेर, आज म टिल्ल मातेको छु,
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैंश हरण गर्न
किन यसरी नाङ्गै निस्क्यौ इण्डिया गेटबाट?
-लज्जा; भूपिन खड्का।

अर्का प्रिय कविको नाद यस्तो छ-

निर्लज्जहरूको बेखौफ जात्रा छ
दिलदिमागमा त्रासका किटाणु उड्छन्
रूखहरूमा चराचुरूङ्गीको चिरबिर बिथोलिन्छ
घरआँगनमा खेलिरहेका बच्चाहरू तर्सिन्छन्
तीखा तीखा दाँतहरूले टोकिरहन्छन्
चम्काउँदै रौद्र आँखाहरू, लुछाचुँडी गरिरहन्छन्
चपाइरहन्छन् परेवाका पखेटाहरू।

यस कुरूप समयमा
देखिन्छ भित्तामाथिको थोत्रो मानचित्रमा
झुन्डिएको छ हड्डीको टुक्रो।
-देश हड्डी र कुकुरहरू; चन्द्र गुरूङ।

यस्ता कैयन अरू पनि छन्। यस्ता कविताका पाठक हामीले ताली ठोक्नुपर्ने कि गाली बक्नुपर्ने? नाट्यसम्राट समले भनिदिएका छन्- ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’।

हाम्रो देशभक्ति, राष्ट्रप्रेम र स्वदेशको मायामा योभन्दा ठूलो असमञ्जसता र किंकर्तव्यमूढता अरू कसैले झेल्न परेको छैन सायद। ताली र गाली दुवै केही गर्न नसक्ने वर्गमा परेका छौं। बुझ्नुहोस् है प्रिय कवि अनि सर्जकहरू बन्धुहरू!

अहिले फेरि भारत-नेपाल सम्बन्ध धरापमा परेको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा लिएर सारा नेपाली एक मुख भएर भारतविरोधी मुहिममा लागिपरेका छन्। सरिता गिरी जीवन र ज्यान जोखिममा हालेर केही फरक प्रकारले नेपाललाई जोगाउने उद्योगमा छन्। उनले संसदमा अनि मिडियामा जुन तर्कहरू राखेकी छन् त्यसले उनलाई विवादको चरममा पुर्‍याएको छ।

एक सचेत नागरिकको हैसियतमा वा एक जनप्रतिनिधिको हकमा उनले राखेका प्रस्तावहरू सुन्न न त उनको आफ्नै पार्टी तयार छ न त सरकार र विपक्षी नै। बस् आज उनले ‘भारतीय छोरी’ हुनुको सजाय खप्दैछन्। ‘नेपालकी बुहारी’ले भोग्ने प्रताडना झेल्दैछन्। आफ्नैहरूबाट पाइने घृणा, तिरस्कार र अवहेलनाको चरम भोगिरहेकी छिन्। यसैले उनी आज एक्ली छिन्।

सगरमाथामा बेस क्याम्पमा सेना छाउनी बसिसक्दा नेपाल र नेपालीलाई केही जस्तो लाग्दैन। विश्वको सर्वोच्च चुचुरो सगरमाथालाई हाम्रो हो भनेर मानचित्रमा गाभ्दा पनि नेपाललाई केही फरक पर्दैन, डल्लै नदीलाई दुवाली फर्काएर हुम्ला, ताप्लेजुङ, दोलखा, सङ्खुवासभा आदि सीमाक्षेत्रका सैयौं हेक्टर भूमि आफ्नो पार्दा नेपाल र नेपालीलाई केही असर पर्दैन।

जसरी थाहै नपाई तिब्बत र हङक‍ङलाई अजिङ्गरले बाछो निले जस्तै नेपाललाई पनि निल्छ है भनेर चेताउनी दिनु ‍सरिताको महाभूल भयो। धार्मिक, सांस्कृतिक तथा पारम्परिक सामञ्जस्य रहेको भारतसित मिलेर समस्या सुल्झाऊँ भनेर सुझाव दिनु उनको महापाप भयो। संविधान संशोधनको पद्धत्ति अलि गल्ती भयो, पहिले हामी प्रशस्त प्रमाण जुटाऊँ अनि संविधान संशोधन गरौं भनेर जानेको कुरो सिकाउनु महादोष भयो। भूभाग हाम्रो हो भनेर पहिल्यै प्रमाण दिनुसक्नुपर्थ्यो।

नक्सा प्रकाशित गरेर प्रमाण सिद्ध गर्ने विशेषज्ञ समिति गठन गर्नु मूर्खता भयो। भोलि यो भूभाग हाम्रो भएको प्रमाणित नभए फेरि अर्को मानचित्र तयार गर्न सरकारले अर्को सविंधान संशोधन गर्ने त? भनेर आलोचनात्मक प्रश्न गर्नु सरितालाई राष्ट्रविरोधी खेमामा उभ्याउनु सबैलाई सजिलो भयो।

नेपालको राजनीतिसित हामीलाई चासो छैन। हामी त्यसका विशेषज्ञ पनि होइनौं तर हामीलाई सामाजिक सञ्जालले, सञ्चार‍माध्यमले र आफन्तहरूका सञ्चो-सुविधाको उत्सुकताले त्यता तानिहाल्छ। किनभने हाम्रो भाषाको माध्यमले हामी यति नजिक छं कि दिल्लीकोभन्दा हामी काठमाडौंको चिन्ता धेर गरिरहेका छौंजस्तो लाग्छ।

यसैले भारतीय मिडियाहरूले डिजाइन गरेको नेपाल र नेपालीमाथिको अवधारणा हामी हाँसेर टारिदिन्छौं। लोक भाषामा भन्नु हो भने पादेरै उडाइदिन्छौं। तर सरिता गिरीको सन्दर्भमा हामी भारतीय नागरिकको हैसियतमा रहेर नेपालका नागरिकलाई गहिरिएर सो‍चिदिने आग्रह गर्छौं।

उनले संसदमा हिन्दी भाषामा प्रत्त्युत्तर राखिन्। त्यो पनि सह्य भएन। ‘हिन्दी बोल्ने हो भने भारत जा’ भन्ने गाली सुन्नुपरिरहेछ। यता विशाल भारतमा हामी संसदमा नेपाली भाषामा सपथ मात्र लिने काम ‘ऐतिहासिक’ भनी तोकिदिन्छौं। संसदमा नेपालीमा आफ्नो सम्भाषण राख्ने हाम्रा सांसदका त हामी पुजै गर्छौं। अब भाषिक आधारमा खेदाखेद गर्नु हो भने कसकसलाई कति असर पर्ला, यसको हिसाब लाउने नेपालमा कोही छन् कि? यसरी भारतीय संसदमा नेपाली भाषा गुञ्जायमान हुँदा तपाईंको छाती ढक्क फुलिएर ५६ इन्चको हुँदैन?

आज म सरिता गिरीलाई त्यहाँ एक्लो हुटिट्याउँ देखिरहेको छु। अमेरिकी संसदमा जर्ज बुसदेखि ट्रम्पसम्म झेलिसकेकी नेन्सी पेलोसी जस्तै एक्लै सरकारलाई झक्झकाउने राष्ट्रवादी पाइरहेको छु। उनले पनि जानेकी छन्- ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’।

भलै मलाई नेपालको आन्तरिक मामिलामा बोल्ने हक-अधिकार छैन। त्यहाँका साथीहरूको राष्ट्रप्रेमलाई प्रश्न गर्ने कुनै नैतिक औकात पनि छैन। भारतको पक्षमा बोलेकोमा होइन आफूलाई लागेको बोल्न उभिएकी एकल साहसी महिलाको पक्षमा म उभिएको छु। यसो गर्दा पनि तर म र हामी चुलेसीको धारैमा छौं। भोलि सरिता गिरीलाई ‘भारत जा’ भनेजस्तै हामीलाई पनि ‘नेपाल जा’ भन्यो भने त्यो ठूलो चिन्ताको विषय बन्नेछ। किनभने नेपालले हामीलाई स्वीकार्ने होइन। भुटानी नेपाली झैं शरणार्थी बनेर अर्कै मुलुकमा बिलाउनुपर्ने हुन्छ।

त्यसैले सरिता गिरीलाई मेरो शुभकामना!

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…