काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा सफाइका काम गर्नको लागि पौने चार करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । भारत सरकारको तर्फबाट पशुपति मन्दिर परिसर क्षेत्रको सरसफाइको लागि ३ करोड ७२ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सफाइ सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी वा पहिले एसडीपीज) को रुपमा यस परियोजनालाई नेपाल–भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइने छ ।
यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पीएडीटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्नेछ ।
सहमति अनुसार १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठेकेदारको पहिचान गर्नेछ ।