काठमाण्डौ । युरोपेली देशहरुले कोरोना भाइरसको खोप तयार हुनासाथ ४० करोड डोज खोप आफूहरुले पाउने गरी एउटा औषधि उत्पादक कम्पनीसँग सम्झौता गरेका छन् ।
कोराना भाइरसविरुद्धको खोप उत्पादनको काम अन्तिम चरणमा पुर्याएको दाबी गरेको औषधि उत्पादक बहुराष्ट्रिय कम्पनी एस्ट्रजेनेकासँग युरोपेली देशहरुको प्रतिनिधि संस्था इन्क्लुसिभ भ्याक्सिन अलायन्सले सम्झौता गरेको हो । सम्झौता अनुसार कोरोना भाइरसको खोप तयार भएलगत्तै युरोपेली देशले ४० करोड डोज प्राप्त गर्ने छन् ।
जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डसको नेतृत्वमा रहेको अलायन्सले प्राप्त गर्ने खोप युरोपियन युनियनका देशहरुमा वितरण गर्ने बताइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
खोप आउँदो डिसेम्बरसम्म तयार भएर आपूर्ति सुरु हुने अपेक्षा रहेको उत्पादक कम्पनी एस्ट्रोजेनेकाले बताएको छ । तत्कालका लागि ४० करोड डोज खोपको लागि जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डसले पैसा दिने बताएका छन् ।
एस्ट्रजेनेकासँग अमेरिकाले यसअघि नै सम्झौता गरिसकेको छ । अमेरिकाले कम्पनीलाई एक अर्ब २० करोड डलर लगानी गर्ने र खोप बनेलगत्तै अमेरिकालाई ३० करोड डोज खोप उपलब्ध गराउने सम्झौता भएको छ ।
एस्ट्रोजेनेकासँग इजाजत रहेको खोप सुरुका दुई चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएपछि तेस्रो चरणको परीक्षणको लागि अनुमति पाएको खबरमा उल्लेख छ ।