एसइईमा ‘ए प्लस’ दिन निजी विद्यालयलाई अभिभावकको दबाब

०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा विद्यालयको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने सरकारको निर्णयपछि अभिभावकले निजी विद्यालयमा उच्च ग्रेडका लागि दबाब दिन थालेका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएको र विद्यालयसमेत क्वारेन्टाइनका रूपमा प्रयोग भएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेपछि अभिभावकले दबाब दिन सुरु गरेका हुन् ।

सरकारको निर्णय सञ्चारमाध्यममार्फत जानकारी पाएपछि निजी विद्यालयका अभिभावकले विद्यालय सञ्चालक र शिक्षकलाई दबाब दिन थालेको पाइएको छ । जोरपाटीस्थित एक निजी विद्यालयका शिक्षक गणेश बस्नेतले सरकारको निर्णय जानकारी पाएलगत्तै बिहीबार बिहानैबाट अभिभावकहरूको फोन आउन थालेको बताए ।

‘एसइईको नम्बर विद्यालयले दिने भन्ने खबर सुन्यौँ, हाम्रा बालबालिकालाई ए प्लस दिनुपर्छ भनेर फोन आइरहेका छन्,’ उनले भने, ‘स्कुलले पहिलेका मूल्यांकनलाई आधार नबनाउने हो भने सबैलाई सबै विषयमा ए प्लस दिन दबाब छ, जिम्मेवार नहुने हो भने २५ अंकको प्रयोगात्मकमा राम्रालाई पनि २५ र कमजोरलाई पनि २५ अंक दिएजस्तै हुन्छ ।’ राम्रो मूल्यांकन नभएमा कोरोना ब्याच भनेर ०७६ को एसइई दिने विद्यार्थीलाई खिन्नता हुन सक्ने उनले बताए । यो त एउटा उदाहरण मात्र हो, यस्तो दबाब जताततै सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसइईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । एसइईको विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । ६ चैतमा हुने भनिएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको चौकीमा पुगिसकेका थिए । कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा एक दिनअघि स्थगित भएको थियो ।

अहिलेको व्यवस्थाअनुसार परीक्षा लिनुपर्ने भएकाले आन्तरिक मूल्यांकनका लागि कानुनी व्यवस्थासमेत मिलाउनुपर्दछ । विद्यालयले गरेको मूल्यांकन जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र त्यहाँबाट राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको शिक्षामन्त्री पोखरेलले बताए ।

सरकारको निर्णयबाट विद्यार्थी र अभिभावकले मिश्रित प्रतिक्रिया दिएका छन् । अभिभावक अर्जुन कोइरालाले संक्रमणको जोखिमबाट बच्नका लागि एसइई परीक्षा नगर्ने निर्णय सकारात्मक भएको बताए । उनले आफ्नो छोराको पनि मिश्रित प्रतिक्रिया रहेको बताए । ‘लामो समयको अन्योल हटेकोमा छोरा खुसी छ, तर आफ्नो तयारी गरेर पर्फमेन्स हेर्न नपाएकोमा दुःखी छ,’ उनले भने ।

परीक्षाको मानसिक तनावमा रहेका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट ग्रेडसिट दिने निर्णयले राहत भएको छ । तर, विद्यार्थीको क्षमताअनुसार आन्तरिक मूल्यांकन सही नभएमा जीवनभर पनि तनाव हुन सक्ने शिक्षाविद्हरू बताउँछन् । एसइईपछि कक्षा ११ मा छनोट गर्ने विषयले विद्यार्थीको भविष्यलाई समेत प्रभाव पार्दछ । एसइईमा विद्यालयले विद्यार्थीको सही मूल्यांकन नगरे भोलिको बाटोसमेत प्रभावित हुने खतरा छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारको निर्णय आइनसकेको र आएपछि मात्र अवस्था विश्लेषण गर्न सकिने बताए । अहिलेसम्म विद्यालयले गरेका आन्तरिक मूल्यांकन बोर्डमा पठाउने चलन नभएको र प्रयोगात्मकमा जस्तै गरी नम्बर दिएर पठाएमा समस्या हुने बताए । विद्यार्थीको एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने भएकाले संवेदनशील विषय भएको उनको भनाइ छ ।

आंशिक र खुला विद्यालयको मूल्यांकन झनै कठिन

एसइईमा नियमित मात्र नभएर आंशिक र खुला विद्यालयका विद्यार्थीले समेत आवेदन फारम भरेका छन् । ०७६ मा कुल चार लाख ८२ हजार सात सय सात सहभागी हुने भएका थिए । एसइई परीक्षाका लागि रजिस्ट्रेसन भरेका ३१ हजारभन्दा बढी विद्यार्थी घटेका छन् ।

कक्षा ९ मा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेकामा एसइईको फारम भर्ने नियमिततर्फ साधारण र प्राविधिक गरी चार लाख ६६ हजार एक सय थिए । त्यसैगरी, ग्रेड वृद्धिका लागि १६ हजार ६ सय सात विद्यार्थीले फारम भरेका छन् । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था छ ।

नियमिततर्फका विद्यार्थीको शैक्षिक संस्थाले आन्तरिक परीक्षा लिएको र उनीहरूको रेकर्ड हुने सम्भावना भए पनि अघिल्लो वर्षको नतिजालाई चित्त नबुझाएर ०७६ को परीक्षामा सहभागी भएकाको मूल्यांकन चुनौतीपूर्ण छ । बोर्ड अध्यक्ष पौडेलले यी विषयमा शिक्षा मन्त्रालयले छलफल नगरेको बताए ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…