काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईको वरियता/राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन् । ‘वरियताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें।’ सोमबार बिहान ट्वीटमार्फत उनले लेखेका छन्, ‘बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर,उहाँको वरियता/राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन।’
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ। चौथो वरियतामा राखेपछि सामाजिक संजालमा भट्टराई र जसपाको टिका टिप्पणी सुरु हुन थालेको छ।
पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो।
अध्यक्ष थापाले लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भइसकेको धारणा राखे। थापाले एकतागर्दा नाम तल राख्न मानेर बरु भट्टराईको उचाई अझै बढेको टिप्पणी गरेका छन्।
आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि जनता समाजवादी पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन। राजपा र समाजवादी पार्टीले वैशाख १० गते मध्यरातमा एकता घोषणा गरेका थिए। घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिएका थिए। जनता समाजवादी ५३ जनाको कार्यसमिति हुने भएकाले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य रहेका छन्।