डा. ललितकुमार लाल दास, जसले ७० दिनमा जडिबुटीबाट कोरोनाविरुद्ध खोप नेपालमै बनाए

कोरोना भाइरस (कोभिड- १९) को महामारी । टेलिभिजनको स्क्रिनमा कोभिड- १९ ले विश्वभर मान्छे मरेको दृश्यले हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) का प्राध्यापक डा. ललितकुमार लाल दास विचलित भए ।

यो कस्तो रोग हो, जसको औषधि र भ्याक्सिन पनि छैन । अझ कति मर्ने हो ? उनको माथिङ्गल नै हल्लियो ।

नेपालमा पनि ११ चैतमा लकडाउन भयो । उनी स्यानिटाइजर खोज्न बजारमा निस्के तर औषधि पसलमा स्यानिटाइजर उनले पाएनन् ।

‘त्यसपछि औषधि पसलमा प्रयोग गरिएको स्यानिटाइजरमा केके केमिकल प्रयोग गरेको रहेछ, त्यो टिपेर ल्याएँ’, डा. दास भन्छन्, ‘त्यसमा सबै केमिकल कम्पोजिसन थियो तर मैले १३ गते नै हर्बल स्यानिटाइजर बनाएँ । स्यानिटाइजरले चर्चा पायो । प्रतिक्रिया पनि राम्रो आयो ।’

स्यानिटाइजार उत्पादन सफल भएपछि उनको मन, मस्तिष्क यतिमै चुप बसेन । थप के गर्ने ? ‘खोप बनाउन सकियो भने !’ डा. दास सोच्न थाले ।

सरकारले गाइडलाइन्स निकाल्यो, जसमा लेखिएको थियो- ‘जडिबुटीहरू गुर्जो, अदुवा, बेसार खानू । यी जडिबुटी खायो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।’

‘कुनै न कुनै रूपमा दैनिक जीवनमा प्रयोग गरिएको सञ्जीवनी जडिबुटी हो । कोरोना भाइरससँग यी जडिबुटीको के सम्बन्ध छ ?’, डा. दास घोत्लिए ।

उनले पढेको विषय पनि यही थियो । उनले अठोट लिए यसमा केही गरेर मानव जातीको हितको लागि केही गर्छु भन्ने । यो महामारीमा देशका लागि योगदान दिनु मेरो कर्तव्य हो भनेर डा. दास कोरोनाको अध्ययनमा होमिए ।

कोरोनाको बाहिरी भाग र भित्री भागमा के छ ? यसको बनावट कस्तो छ ? कोरोनाको बाहिरी भागमा रहेको काँडा जस्तो र भित्र रहेको आरएनए (प्रोटिन) कस्तो छ ?

कोरोना भाइरसको बनावट र ग्लाइको प्रोटिनबीचमा के सम्बन्ध छ ? यसले कसरी मान्छेलाई असर गरिरहेको छ ? डा. दासले यी विषयमा गहिरो अध्ययन गरे । अन्तत: उनले पनि निष्कर्ष निकाले- काँडा र प्रोटिनलाई ब्रेक गर्न सकियो भने भाइरस कमजोर हुन्छ ।

‘ब्रेक त गर्ने तर कसरी ?’ उनले दिमाग चलाए । जडिबुटीबाट भाइरसलाई ब्रेक गर्न पो सकिन्छ कि ! कस्ता जडिबुटीबाट ब्रेक गर्न सकिएला ? फेरि उनी जडिबुटीको अध्ययन, अनुसन्धान गर्न थाले ।

उनले सरकारले निकालेको गाइडलाइनका जडिबुटीलाई नै लिए साथै एन्टी अक्सिडेन्ट एक्टिभिटिज भएका फलफूल पनि लिए । उनले यसबाट के निचोड निकाले भने यी कम्पोनेन्टले शरीरभित्र इम्युनिटी पावरको विकास गर्छन् ।

इम्युनिटी पावर राम्रो भयो भने कोरोनासँग ‘फाइट’ गर्न सक्छ । भाइरसलाई ‘कन्ट्रोल’ गर्न सक्छ ।

कोभिड- १९ लाई दुईवटामा ‘ब्रेक’ गर्न सकियो भने कमजोर हुने उनको सारभूत अर्थ थियो । त्यसपछि बिहानदेखि रातीसम्म ल्याबमै अध्ययन, अनुसन्धान र खोप बनाउन युद्धस्तरमा होमिए ।

उनले भाइरसका लागि २ वटा इन्जाइम बनाए । कोरोनाको माथिको लेयर त हटाउन मिल्यो, त्यसपछि के गर्ने ? सुरुमा भाइरस जस्तो थियो । पछि उत्परिवर्तन भइरहेको थियो । मान्छेमा भाइरस छ कि छैन भनेर समेत थाहा नहुने स्थिति आयो । कारण- लक्षण नहुने तर परीक्षण गर्दा पोजिटिभ देखिने ।

यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ त ? उनले अरू ६ वटा मोडेल तयार पारे । २ वटा इन्जाइमको रेसियोबाट ३ वटा मोडेल तयार पारे- एस वान, एस टु र एस थ्री ।

अर्को इम्युनिटी पावरको एस फोरदेखि नाइनसम्म बनाए । मोडेल पनि तयार भयो । सबैभन्दा बढी एन्टी अक्सिडेन्ट बनाउन उनलाई समय लाग्यो । बिहान ६ बजेदेखि राती ७ बजेसम्म उनी ल्याबमै खटिए । उनले एक्लै ७० दिनमा खोपकाे माेडेल तयार पारे ।

‘यो प्रयोगबाट पुष्टि भयो भने कोरोनाविरुद्धको खोप बन्न सक्छ । खोपमा कुनै केमिकल छैन । पैसाका लागि गरेको पनि होइन । मानव जातिको कल्याणका लागि बनाएको हुँ’, डा. दास भन्छन् ।

खोप परीक्षणमा रहेकाले कुनकुन जडिबुटीको प्रयोग गरिएको छ, त्यो खुलाइएको छैन ।

‘जति पनि जडिबटी प्रयोग गरिएको छ, त्यो हामीले नियमित प्रयोग गर्ने गरिएको नै छ’, उनले भने, ‘परीक्षण सफल भएपछि सबै नाम आउँछ ।’ स्वास्थ्यवर्द्धक जडिबुटीबाट खोप बनाइएको उनले दाबी गरे ।

‘गुर्जो पनि प्रयोग गरिएको छ । गुर्जोले इम्युनिटी पावर बढाउँछ’, डा, दासले भने, ‘यसले कोरोना भाइरसको प्रोटिनलाई ब्रेक डाउन गर्छ ।’

खोपका विषयमा विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओसँग पनि उनले छलफल गरे ।

‘डब्लूएचओले आफ्नो गाइडलाइन भन्यो । कुनै पनि मेडिसिन बनाउन पर्‍यो भने सरकारमार्फत् आउनुपर्छ । भाइरोलोजी ल्याबबाट टेस्ट भएको हुनुपर्छ’, उनले भने, ‘अब यो खोप डब्लूएचओमा पुर्‍याउने काम सरकारको हो ।’

‘मैले पढेको कुरा प्रयोग गरेको मात्र हो । मेरो काम सकिएको छ । अब सरकारको काम हो । मैले गरेकामा खुसी छु तर यसको रिजल्ट आयो भने राम्रो हुन्थ्यो । यसमा सरकारले सहयोग गर्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।

विश्वका वैज्ञानिकहरू कोरोनाविरुद्धको भ्याक्सिन बनाउन जुटिरहेका छन् । नेपालमा पनि जडिबुटीबाट खोप बन्नु खुसीको कुरा हो । यदि सफल भयो भने डा. दासको मात्र होइन, नेपालको नाम आउनेछ । यसले थोरै भए पनि आशाको दियो बालेको छ ।

०००

जीवनमा अनेकन आरोह र अवरोहलाई पार गर्दै डा. दास यहाँसम्म आइपुगेका हुन् । बाराको महागढीमाई – ९ उनको जन्मभूमि । यही माटोमा उनले धेरै हन्डर र ठक्कर खाए । उनलाई म ठूलो हुँ भन्ने कहिल्यै घमण्ड भएन । अरूबाट थिचोमिचोमा पर्दा पनि उनले धैर्य छाडेनन् ।

‘म गरिब परिवारमा हुर्केको मान्छे हुँ । ठूलो मान्छे होइन । लोभ पनि छैन । तपाईंले मेरो पृष्ठभूमि सोध्नु भयो । मेरो भित्रै छोयो’, उनको पृष्ठभूमि सोधेपछि डा. दास बोल्नै सकेनन् । उनको गला नै अवरुद्ध भयो । आवाज नै रोकियो । उनी भावशून्य भए ।

ठूलो परिवार । ६ दाजुभाइ, २ दिदीबहिनी । आर्थिक अभावकाबीच पनि बुबाले छोराहरूलाई पढाउनुभएको रहेछ ।

‘लेखापढी गरेर बुबाले पढाउनुभयो । २०४८ सालमा बुबा बिरामी पर्नुभयो । उपचार गर्न पैसा भएन । पैसाको अभावले उपचार नभएर बुबाले धर्ती छाड्नुभयो’, बुबालाई सम्झिएर डा. दास फेरि भक्कानिए ।

बुबालाई गुमाउँदा उनी एमएस्सी पढ्दै थिए । घरको मियो नै नभएपछि उनले आफैँ काम गर्दै पढे । ५ वर्ष भयो उनले आमालाई पनि गुमाएको । एक जना दाजुलाई पनि गुमाए ।

‘मेरो घर, जग्गा, सम्पत्ति टन्नै होला भन्ने मान्छेलाई लाग्छ’, उनी भन्छन्, ‘कलैयामा छाप्रो छ । देख्नुभयो भने तपाईं छक्क पर्नुहुन्छ । पढ्नलाई धेरै पढेँ । पीएचडी गरेँ तर सम्पत्तिमा कहिल्यै लोभ भएन ।’

उनले २०५० सालदेखि पढाउन सुरु गरे । कलैया क्याम्पसबाट पढाउन सुरु गरेका दास हेटौँडाको मकवानपुर क्याम्पस हुँदै २०५५ सालमा फरेष्ट्री क्याम्पसमा आइपुगेका हुन् ।

‘मकवानपुर क्याम्पमा आउन डर लागेको थियो । तराईको मान्छे के हो कसो हो भन्ने भयो । विद्यार्थीले पनि पढाएको राम्रो भनेर प्रशंसा गरे’, उनी भन्छन् ।

उनको सोझोपनको फाइदा उठाएर बेलाबेलामा उनलाई अरूले दुःख दिने गुनासो गर्छन् दास । ‘सोझो मान्छेले दुःख पाउने रहेछ’, डा. दास भन्छन्, ‘बेलाबेलामा मैले पनि दुःख पाउँछु ।’

उनका एउटा छोरा र एउटी छोरी छन् । श्रमतीको साथ र सहयोगले पनि यहाँसम्म आइपुगेको बताउँछन् उनी ।

उनलाई धेरैले ‘डा. सा’बले नि पुरानो मोटरसाइकल चढ्ने हो ? गाडी चढ्नुपर्छ’ भन्छन् तर उनी वर्षौंदेखि पुरानो मोटरसाइकल चढ्छन् ।

‘सुरुमा साइकल चढेँ । पछि पुरानो ‘सिटी हन्ड्रेड’ बाइक किनेँ । अहिले पनि सेकेन्ड ह्यान्ड बाइक चढेर हिँडेको छु’, डा. दास भन्छन्, ‘कतिले पीएचडी गरेको मान्छे पनि मोटोरसाइकल चढ्ने हो भन्नुहुन्छ ।’

उनी सरल र साधरण जीवन जिउन चाहन्छन् ।

‘जीवन त सङ्घर्ष हो तर आफू सही हुँदाहुँदै पनि दुःख पाउँछु । आफूसँग जे छ, त्यसैमा सन्तुष्ट छु । मैले बनाएको खोपले कोरोना महामारीमा मानवको हित होस्’, डा. दास यति चाहन्छन् । शिलापत्रबाट 

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…