काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले नेपालमा चिनियाँ प्रभाव बढेको र यसलाई भारतले तोड्नु पर्ने बताएका छन् । भारतीय पत्रिका दी प्रिन्टसँगको अन्तर्वार्ता दिँदै उनले पछिल्लो समय नेपालमा चिनियाँ भूमिका बढ्दै गएकोप्रति भारत सचेत रहनु पर्ने बताए ।
‘नेपालसँगको व्यापार, लगानी र कनेक्टिभिटीका परियोजनासहित चीन नेपालको आन्तरिक राजनीतिमा पनि चासो बढ्दै गएको छ’, उनले भनेका छन् ।
आफ्नै पार्टीभित्र अल्पमतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कार्डमा सत्ता टिकाइराखेको आरोप लगाउँदै पूर्वराजदूत रेले भने, ‘प्रधानमन्त्री ओली पार्टीभित्रैबाट र विभिन्न मुद्दाहरुमा अलोकप्रिय भइरहेका बेला उनले चिनियाँ कार्ड प्रयोग गरेर आफ्नो सत्ता बचाएको स्पष्ट देख्न सकिन्छ ।’
नेपालमा विकसित चिनियाँ कार्डलाई अन्त्य गर्न आवश्यक रहेको भन्दै पूर्वराजदूत रेले भने, ‘नेपालको ’पूर्वनिर्धारित स्थिति’ भनेको कि त भारतविरोधी भावना र अर्को भनेको चिनियाँ कार्डको प्रयोग हो । यो दुवै कुरालाई नेपालबाट अन्त्य गर्नुपर्छ ।’
नेपालको अतिक्रमित भूमिलाई समेटेर भारतले आफ्नो राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेका बेला उनको सो अभिव्यक्ति आएको हो ।
गत नोभेम्बर २ मा भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नक्सा जारी गरेको थियो । यसपछि नेपालले पटक पटक वार्ताको मितिसमेत तोकेर पठाउँदा बेवास्ता गर्दै आएको भारतले मे ८ मा सो क्षेत्रमा बनाएको बाटो नै उद्घाटन गरेपछि नेपालले पनि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गरेको छ ।