कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कुल ५८ हजार ४ सय ३३ पुगेको छ। कतार स्वास्थ्य मन्त्रालयले आज जारी गरेको रिपोर्टका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ सय २३ नयाँ संक्रमित थपिए हुन्। आज सार्वजनिक गरिएको रिपोर्टका अनुसार सोमबार मात्रै ३ हजार १ सय ४७ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या कतारमा ४० पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा कुल ३ हजार ८ सय ५० जनामा कोरोना परिक्षण गरिएको थियो। कतारमा हालसम्म कुल २ लाख २५ हजार ९ सय १९ जनामा कोरोना भाइरस परिक्षण गरिएको छ।
कोरोनाभाइरसबाट निको हुनेको संख्या पछिल्लो समय तिव्र रुपमा वृद्धि भाइरहेको छ। हालसम्म निको हुनेको संख्या ३३ हजार ४ सय ३७ जना पुगेको छ।
कुवेतमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रीद्वारा समकक्षीसँग छलफल
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुवेतमा रहेका नेपालीको बारेमा टेलिफोनमार्फत जानकारी लिनुभएको छ ।
कुवेतका परराष्ट्र मन्त्रीलाई सोमबार टेलिफोन गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको बारेमा जानकारी लिनुभएको हो । साथै उहाँले घर फर्कनुपर्ने अवस्थामा रहेकाको सुरक्षित स्वदेश फिर्तीका बारेमा समेत छलफल गर्नुभएको छ ।
कुवेतमा आममाफीमा सहभागी भएका झण्डै तीन हजार श्रमिक स्वदेश फर्कने दिन कुरेर बसिरहेका छन् । आममाफीमा सहभागी भएका बाहेक अन्य समस्यामा परेकालाई पनि सरकारले उद्धार गरेर स्वदेश ल्याउने तयारी गरिरहेको छ ।
यूएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंक र आईएमईको सहयोग
यूएईमा समस्यामा परेका नेपालीलाई दुईवटा रेमिट्यान्स कम्पनीले सहयोग गरेका छन् । सेञ्चुरी बैंकको सेञ्चुरी रेमिट र आईएमई रेमिटले खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेका हुन् ।
सेञ्चुरी रेमिटले आइतबार आबुधाबीको राहत वितरण टोलीलाई तीन सय किलो चामल र ५४ लिटर तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको छ । सेञ्चुरी रेमिटले एनआरएनएको राहत वितरण टोलीलाई आबुधावीमा खाध्य सामग्री प्रदान गर्ने सेञ्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलले बताउनु भयो ।
यस्तै आईएमई रेमिटले राहत वितरणमा खटिरहेका नेपाली संस्थामार्फत सहयोग हस्तान्तरण गरेको छ । आईएमईले एनआरएनए, नेपाली समाज र आबुधाबीमा रहेको राहत वितरण टोलीलाई गरी ५ हजार दिर्हाम (१ लाख ६० हजार रुपैयाँ भन्दा बढी) को सहयोग उपलब्ध गराएको यूएईका आईएमई प्रमुख उत्तम बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।