साँझ हेर्दा हरियो देखिने बाली विहान उठ्दा गायव, कसरी रोक्ने यो विनासकारी किरा सलह ?

काठमाडौँ।  केही वर्षयता अमेरिकी फौजी किराले तराईमा मकैबाली र गोलभेंडालगायतका बाली नष्ट गरिरहेका बेला अर्को हानिकारक किरा प्रजाति सलहको जोखिम बढेको छ । अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया, इरान र पाकिस्तान हुँदै भारतसम्म सलहको प्रकोप देखा परिसकेको छ ।

भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा सलह देखापरिसकेको छ । सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै र मसला बालीमा क्षति पु‍र्‍याइसकेको छ ।

सलह एक प्रकारको फट्यांग्रा प्रजाति हो, तर योसँग फौजी किराभन्दा बालीमा छिटो र कैयौं गुणा क्षति गर्न सक्ने क्षमता हुन्छ । त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक प्रेमबहादुर बुढाका अनुसार गर्मी बढेपछि सलह फैलिने सम्भावना बढ्ता हुन्छ । ‘३०–४० डिग्रीभन्दा बढी तापक्रम भयो भने सलहको स्थानान्तरणको गति पनि बढ्छ,’ बुढाले बुधबार कान्तिपुरसित भने, ‘गर्मी बढ्यो भने जोखिम बढ्ता हुन्छ, चिसो क्षेत्रमा यसले स्थानान्तरण गर्न सक्दैन ।’

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन (एफएओ) ले पनि कोरोनाले कृषि क्षेत्रमा ठूलो प्रभाव पार्ने आकलन गरिरहेका बेला सलहले खेती प्रणालीलाई चौपट पार्ने उल्लेख गरेको छ । एफएओले यो किरा प्रजातिको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । अफ्रिकी मुलुकहरूमा क्षति पुर्‍याएको सलहले एसियाली क्षेत्रमा पनि विध्वंस गर्ने विश्लेषण विशेषज्ञहरूको छ ।

विशेषज्ञहरूले यस पटक देखा परेको सलहको आकार विगतमा अफ्रिका, मध्यपूर्व र एसियाली खाडी मुलुकहरूमा देखिएको भन्दा २० गुणा ठूलो भएको बताएका छन् । त्यसैले अमेरिकी फौजी किराले भन्दा धेरै क्षति गर्ने विश्लेषण गरिएको छ ।

सहप्राध्यापक बुढाका अनुसार वायुको गति उच्च भयो भने पनि सलह भित्रिने सम्भावना बढी हुन्छ । ‘पश्चिमतिरबाट वायुको वेग आयो भने नेपालको भूभागमा पनि सलह हावासँगै भित्रिन्छन्,’ उनले भने, ‘हावा जतातिर बगेको हुन्छ, ती किराले त्यही बाटो पछ्याउँछन् । नेपालको पश्चिम भागसँग जोडिएका स्थानमा सलहको प्रकोप देखिसकिएको छ ।’

सलहको संख्या लाखौं वा करोडौंको परिमाणमा हुन्छ । तिनले उड्दै जाँदा बाटोमा पर्ने खाद्य बाली मात्र होइन रूखबिरुवा, बुट्यान, झाडी, डाँठ सबै सखाप पार्दै अघि बढ्छन् । त्यसैले वैज्ञानिकहरूले यसलाई खतरनाक किरा प्रजातिका रूपमा व्याख्या गरेका छन् । सलहले एक सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । एउटै समूहमा ४ देखि ८ करोड संख्यामा हुने भएकाले ३५ हजार मानिसलाई खान पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।

त्रिविको प्राणीशास्त्र केन्द्री्रय विभागकी पूर्वप्राध्यापक आनन्दशोभा ताम्राकारले वर्षा भइरह्यो भने सलह भित्रिने सम्भावना न्यून हुने बताइन् । ‘अहिलेजस्तै दैनिक पानी परिरहने हो भने नेपालमा सलह भित्रिने सम्भावना कम हुन्छ,’ उनले भनिन्, ‘भित्रिहाल्यो भने त्यसलाई नियन्त्रण गर्न धेरै गाह्रो छ, सानो लगानी र प्रविधिबिना यसलाई नियन्त्रण गर्न गाह्रो छ ।’ विगतका वर्षहरूमा पनि नेपालमा सहलले क्षति गरेको बूढापाकाहरूको अनुभव छ ।

विशेषज्ञहरूले मिचाहा किरा प्रजाति र सलह जस्ता किरा बढ्नुमा जलवायु परिवर्तनलाई कारण मानेका छन् । यस्ता किरा प्रजातिको कैयौं हजार गुणाले बढोत्तरी भएको पाइएको छ । सहप्राध्यापक बुढाका अनुसार सलहले दुई सातामा अण्डाबाट करिब सयको संख्यामा बच्चा जन्माउने भएकाले यसको संख्या विस्तार छिटो हुन्छ ।

यिनका बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क किरा ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्ने र ४–५ हजार किमि १० दिनमै यात्रा गर्न सक्छन् । नेपाल भित्रिहाले भने यस्ता किराको बढ्ता असर तराई मधेसमा पर्ने उनको विश्लेषण छ ।

सलह धेरै संख्यामा र ठूलो क्षेत्रलाई ढाकेर बस्ने र हिँड्ने भएकाले यसलाई नियन्त्रण गर्न विश्वमै चुुनौती बनेको छ । यसको नियन्त्रणका लागि अफ्रिकी मुलुकहरूमा मेसिनमार्फत विषादी छरिएको थियो । कतिपय मुलुकहरूले हेलिकप्टरको सहायताले समेत विषादी छर्किएका छन् । भारतको गुजरात र राजस्थानमा सलह नियन्त्रण कार्यालय स्थापना गरिएका छन् भने नियन्त्रणका उपायहरूको समेत खोजी जारी छ ।नेपालमा कति छ जोखिम ?

पन्जाब र राजस्थान हुँदै नेपालसँग जोडिएका उत्तर प्रदेश र उत्तराखण्डसम्मै सलह फैलिएकाले नेपालसमेत यसको उच्च जोखिममा पर्ने देखिएको छ ।

अहिले उत्तराखण्ड र उत्तरप्रदेश बढी जोखिममा देखिएकाले नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट नेपाल छिर्न सक्ने सम्भावना देखिन्छ । विगतका वर्षहरूमा भारतमा असार महिनादेखि असोजसम्म देखिएकोमा अहिले वैशाख, जेठमै देखिएको छ । विशेषज्ञहरूले यसलाई आनुवांशिक गुणमा आएको बदलाब भनेका छन् ।

गर्मी कायम भइरह्यो भने यसको जीवनचक्रमा समेत परिवर्तन ल्याउन सक्छ । गर्मी बढिरह्यो भने यिनको प्रजनन क्षमतासमेत बढ्छ । त्यसो हुँदा यसको प्रकोप बढी हुन्छ । नेपालमा सामान्यतया जेठ अन्तिम सातादेखि मनसुन सुरु हुन्छ । मनसुन सक्रिय भएर वर्षा भयो भने फैलावटको सम्भावना न्यून हुने प्राणीशास्त्रीहरू बताउँछन् ।

मनसुन बंगालको खाडी हुँदै नेपालको पूर्वीभागबाट प्रवेश गर्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा एक साता ढिलो गरी अर्थात् असार पहिलो साता मनसुन सुरु हुने देखिन्छ ।

त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख तेजबहादुर थापा पाकिस्तान र भारतमा आइसकेकाले नेपाल पनि उच्च जोखिममा रहेको विश्लेषण गर्छन् । उनले भने, ‘नेपालमा यसको सम्भावनाबारे हामी पनि अनुसन्धानमा जुट्दैछौं ।’ किरा प्रजातिमा विद्यावारिधि गरेका त्रिविका सहप्राध्यापक दयाराम भुसाल केही मिचाहा झार नियन्त्रणका लागि म्याक्सिकन खपटे किरा लाभकारी बनेजस्तै सलहको नियन्त्रणका लागि मिचाहा किरा व्यवस्थापन केन्द्र स्थापना गर्न सकिने सुझाउँछन् ।

त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डिन रामनारायण झा बेलैमा विषादी छर्कने हो भने हानिकारक किरा नियन्त्रण गर्न सकिने बताउँछन् । उनको सुझाव छ, ‘अहिले नै हामीकहाँ उपलब्ध बीएफसीलगायत विषादी छर्कनेतिर सरकारले ध्यान दिनुपर्छ ।’ कान्तिपुरबाट 

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…