सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने भएको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
‘मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत उपभोक्तालाई नि:शुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत विद्युत् महसूल छूट दिने व्यवस्था गरेको छु,’ अर्थमन्त्री खतिवडाले भने ।
साथै सरकारले उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युतको डिमानन्ड शुल्क छूट र कम खपत हुने समयमा ५० प्रतिशत छूट उपलब्ध गराउने घोषणा गरेको छ ।
लकडाउन अवधिमा खानेपानी तथा सिँचाइ उपभोक्ता समितिको विद्युत् शुल्क मिनाहा गर्नुका साथै आगामी दिनमा विद्युत महसूलमा सहुलियत दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए ।