कतारमा कोरोनाभाइरसबाट संक्रमितहरुको उपचारमा देश अनुसार कुनै भेदभाव नरेको कतारका लागि नेपाली राजदुत नारदनाथ भारद्वाजले बताउनुभयो। कान्तिपुरका लागि होम कार्कीले लिएको अन्तरवार्तामा उहाँले सो कुरा बताउनु भएको हो। यस्तो छ कान्तिपुरमा नेपाली राजदुतको संक्षिप्त कुराकानी।
कतारमा कति नेपाली कामदार संक्रमित छन् ?
हामीलाई समग्र बिरामीको जानकारी छ । यति जना नेपाली भन्ने छैन । संक्रमितमध्ये ५७ जना मात्रै नेपाली दूतावासको सम्पर्कमा छन् । तर अस्पताल वा क्वारेन्टाइनमा योभन्दा बढी छन् । २ जना नेपालीको अवस्था गम्भीर छ । १ जनाको मृत्यु भइसकेको छ । निको भएर बाहिर निस्केकाले पनि उपचार पद्धतिबारे हामीलाई जानकारी दिइरहेका छन् । यहाँको मृत्युदर भने न्यून छ ।
कुन क्षेत्रमा बढी नेपाली संक्रमित देखिएका छन् ?
कतार सरकारले हामीलाई संक्रमित भएकाको क्षेत्र छुट्याएर दिएको छैन । सम्पर्कमा आएअनुसार धेरैजसो निर्माण क्षेत्रमा काम गर्ने देखिएका छन् । त्यसपछि यातायात, ग्यारेज, क्लिनर र मार्केटिङ क्षेत्रमा काम गर्नेहरू संक्रमित छन् ।
बेड अभावले थप उपचारका लागि अस्पताल वा क्वरेन्टाइनमा लगिएन भन्ने गुनासो पनि छ नि ?
पोजिटिभ देखिएको तर अस्पताल नलगिएको भन्ने गुनासो आएको छ । बिरामीबाट आएको कुरालाई नै सत्य मानेर प्रतिक्रिया दिइहाल्ने स्थिति छैन । कतारले ४ हजार बेड उपलब्ध छ भनिरहेको छ । अहिलेसम्म बेड अभाव भएको देखिँदैन । क्वारेन्टाइनमा एउटै हलमा छुट्याएर बेड राखिएको छ । संसारभर उपचार गर्ने पद्धति एउटै हो । यहाँ पनि त्यही हो ।
कतिपय अपार्टमेन्टमा बस्दा रिजल्ट पोजिटिभ आएको र उपचारमा नलगिँदा साथीहरूले कोठामा छिर्न नदिएर छतमै बस्नुपरेको गुनासो आएको थियो । मैले सम्बन्धित ठाउँमा लेखेर पठाएँ । त्यसमा तुरुन्तै रेस्पोन्स पनि भयो । केस नियमित बढिरहेको छ । कसैले उजुरी दिए यथार्थता कतिसम्म हो भनेर बुझ्नुपर्छ । यहाँ धेरै सिकिस्त बिरामी छैनन् भन्ने लाग्छ । यहाँबाट खबर नआए पनि नेपालबाट आउँछ । परिवारले खबर गर्छन् ।
उपचारको अवस्था कस्तो छ ?
कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्नो नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ ।
यस्तो बेला दूतावासको विशेष भूमिका भएन भन्ने चौतर्फी गुनासो छ नि ?
कूटनीतिक लक्ष्मण रेखाले धेरै ठाउँमा असजिलो उत्पन्न हुन्छ । कुनै बिरामीले बोलाउनासाथ हामी जान सक्दैनौं । प्रक्रिया पूरा गर्नुपर्छ । अस्पताल वा क्वारेन्टाइनमा गइहाल्न सुरक्षाको कुरा पनि आउँछ । एक त हामी आफंै न्यून जनशक्तिले काम गरिरहेका छौं । गइहाल्दा कतार सरकारलाई विश्वास नगरेको जस्तो देखिन्छ ।
संक्रमण बढिरहेको छ । टेस्टले बढी देखिएको हो । सरकारले नियन्त्रण गर्ने अवस्था रहेको भन्दै आश्वस्त पार्न खोजेको पनि देखिन्छ । समग्रमा अहिले आत्तिने स्थिति छैन । लकडाउन छैन । सुरक्षामा कडा नियम छ । मास्क नलगाउनेलाई २ लाख रियाल जरिवाना हुन्छ ।