कतारका नेपाली उच्च जोखिममा : सयौं जनाको एकै क्याम्पमा बसाइ

काठमाडौँ — कतारमा नेपाली कामदार कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेका छन् । झन्डै २८ लाख ८१ हजार जनसंख्या रहेको कतारमा ३७ हजार ९७ जना संक्रमित भइसकेका छन् । संक्रमण तीव्र गतिले बढिरहेको छ । कतारमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९१ जना संक्रमित भएका छन् ।

जसमा आप्रवासी कामदारको संख्या उच्च छ । कतारमा कूल जनसंख्याको झन्डै १२.५ प्रतिशत नेपाली कामदार छन् । संक्रमित भएकामध्ये कम्तीमा १० प्रतिशत नेपाली छन् ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिले संक्रमणका केस हरेक दिन तीव्र गतिले बढिरहेको जनाएको छ । ‘संक्रमण अघिल्लो साताको तुलनामा ५० प्रतिशतले बढेको छ,’ समितिका अध्यक्ष अब्दुल्ला हतिफ अलखलले नियमित प्रेस बिफ्रिङमा भने, ‘सामाजिक दूरीको अभावले संक्रमण बढेको हो ।’ स्वास्थ्य परीक्षण दर बढाएकाले संक्रमितको संख्या धेरै देखिएको उनको भनाइ छ ।

राष्ट्रिय महामारी प्रतिरोधक समितिका अनुसार अधिकांश संक्रमितमा लक्षण नै देखिएको छैन । पाल्पाका ३० वर्षीय युवकलाई ३५ दिनभित्र ४ पटकको परीक्षणमा पोजिटिभ देखिँदा पनि लक्षण देखिएको छैन । उनी अप्रिल ३ तारिखदेखि क्वारेन्टाइनमा छन् । उनी ड्राइभर हुन् । सडक बनाउने कामदारलाई ल्याउने, लैजाने काम गर्थे ।

कम्पनीमा संक्रमित देखिएपछि उनीसहित ३० जनालाई क्याम्पबाट सिधै क्वारेन्टाइनमा राखिएको थियो । त्यसमध्ये ३ जना नेपाली थिए । १६ जना निको भएर क्याम्पमै फर्किसके । लक्षण नदेखिएपछि उनलाई अस्पताल लगिएको छैन । औषधि पनि चलाइएको छैन । ‘तातो पानी खानू, त्यसले ठीक गर्छ भनिरहेका छन्,’ उनले कान्तिपुरसित फोनमा भने ।

कतारमा कार्यरत स्याङ्जाका एक युवकले कोभिड–१९ पोजिटिभ हुँदैमा डराउनु नपर्ने बताए । ‘रोग प्रतिरोधक क्षमता छ भने सामान्य अवस्थामा क्रमिक रूपमा आफैं ठीक हुँदै जाने रहेछ । हल्का टाउको पनि दुखेको छैन,’ उनले भने ।

गम्भीरलाई मात्र अस्पताल

संक्रमितलाई अवस्था हेरी क्वारेन्टाइनपछि अस्पताल र पुन: अन्तिम क्वारेन्टाइनमा लैजाने गरिएको छ । झापाका ३३ वर्षीय किरण परियार ११ दिनदेखि मिसाइदस्थित हमाद अस्पतालमा उपचाररत छन् । ‘सुरुमा अलि कठिन भएको थियो ।

अहिले अलि सजिलो भएको छ,’ उनले कान्तिपुरसँग भने । समितिका अनुसार कूल संक्रमितमध्ये ३६.७ प्रतिशत २५ देखि ३४ वर्षका छन् जसमा कामदार बढी छन् । ४० देखि ४९ उमेर समूहका बिरामी आईसीयूमा छन् । कतारमा सयौं जना क्याम्पमा सँगै बस्दा संक्रमितको संख्या बढ्दै जान थालेको हो । संक्रमित हुनेमा अधिकांश ड्राइभर, क्लिनर, सेल्स र मर्चेन्टाइजरका रूपमा काम गर्ने छन् ।

ड्राइभरकै काम गर्दै आएका सिन्धुपाल्चोकका एक युवकले शंका लागेपछि सबैलाई एउटै क्वारेन्टाइनमा ल्याएर राखिएको बताए । ‘क्वारेन्टाइनमा ठाउँ अभावले बाहिर टेन्ट हालिएको छ । टेन्ट अव्यवस्थित छ । अन्य बिरामी नहुँदा मात्र टेन्टबाट बिल्डिङतिर सारिन्छ,’ उनले भने । नउनले एउटै टेन्टभित्र १ हजार ८ सय जनालाई राखिएको सुनाए । ‘खाजा र खाना खान निस्कँदा ठेलमठेल हुन्छ । पोजिटिभ देखिएका र नदेखिएका एउटै टेन्टभित्र छन्,’ उनले भने, ‘ठीक भइसकेकालाई पनि यहीं राखिएको छ ।’

स्वास्थ्य परीक्षणका लागि मात्रै कतारमा ६ हजार ५ सयभन्दा बढी कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । त्यसअघि पनि ठूलो संख्यामा कामदारलाई क्वारेन्टाइनमा राखिएको थियो । स्याङ्जाका युवकले नेगेटिभ आइसकेपछि आफैं होसियारी भएर बस्नुपर्ने बताए । ‘नयाँ मान्छेलाई पनि कोठामा हालिदिँदा भने डर लाग्छ,’ उनले भने ।

कतिपयले उपचार र खानामा समस्या नभएको बताएका छन् । ‘कम्पनीले पनि नियमित चासो दिइरहेको हुन्छ’, ४० दिनदेखि क्वारेन्टाइनमा बसेका धनुषाका रामललित रावतले भने, ‘हाम्रो कसैसँग पनि केही गुनासो छैन ।’

१४ महिनादेखि कतारमा मेसन काम गर्दै आएका उनको ५ पटकको परीक्षणमा पनि पोजिटिभ देखिएको छ । ‘डाक्टरले शरीरमा केही छैन भनेका छन् । तातोपानी खाएर बस्नु भनेका छन्,’ उनले भने, ‘बिहान २ घण्टा र दिउँसो धाममा २ घण्टा हिँड्छु । हिँड्दा कोरोना भाग्छ होला ।’

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…