घोराही। विश्व यतिबेला कोरोनाको संक्रमणले आक्रान्त बनिरहेको छ। वैदेशिक रोजगारीमा पुगेका थुप्रै नेपाली विभिन्न मुलुकमा अलपत्र छन्। कति संक्रमित छन् भने कति संक्रमणको उच्च जोखिममा छन्।
दाङका एक नेपाली पनि अहिले खाडी मुलुक कतारमा कोरोनाबाट संक्रमित छन्। घोराही उपमहानगरपालिकाका २७ वर्षीय उनमा पाँच-छ दिनयता कोरोना पोजेटिभ देखिएपछि उनी कतारको रस्लाफान अस्पतालमा उपचारत छन्।
छ महिनाअघि स्वदेश आएर उनी पुनः कतार फर्किएका हुन्। उनी कतारको सनैया शहरको एउटा कम्पनीमा कार्यरत थिए। कोरोनाको संक्रमण बढ्दै गए पनि काममा भने गइरहेकै थिए। एकदिन उनको मुखमा घाउ भयो। केही दिनपछि शरीर पूरै दुख्न थाल्यो। टाउकोमा दुखाइ बढ्यो। रुघा खोकीले समात्यो।
उनी अस्पताल पुगे। कोरोना परीक्षण गरियो। रिपोर्ट पोजेटिभ आयो। लगतै उनलाई अस्पताल भर्ना गरियो र उपचार थालियो। चार दिनयता उनी अस्पतालमा उपचाररत छन्। उनी भन्छन्– ‘शुरुमा पोजेटिभ भएको सुन्दा डर लागेको थियो। अहिले अवस्था सामान्य छ। छिट्टै निको हुन्छु भन्ने विश्वास छ।’ अहिले आफू संक्रमित भएकाले तत्काल स्वदेश फर्किन नसके पनि संक्रमणमुक्त भएपछि स्वदेश फर्किने इच्छा रहेको बताए। भन्छन्– ‘स्वदेश फर्किने मन कसलाई हुँदैन र ?’
उनले आफू कार्यक्षेत्रबाटै कोरोना संक्रमित भएको बताए। ‘काम गर्दा सामान यताउता पु¥याउनुपथ्र्याे’– उनले भने–
‘विभिन्न मानिससँग सम्पर्कमा रहनुपथ्र्याे। मलाई लाग्छ म
काम गर्ने ठाउँबाटै संक्रमित हुन पुगेको हुँ।’ कतारमा अहिले संक्रमणको जोखिम बढिरहे पनि थुप्रै नेपाली काममा गइरहेको उनले बताए। ‘संक्रमण बढिरहेको छ। तर यसबीच पनि थुप्रै नेपालीले काम गरिरहेका छन्’– उनले भने– ‘कार्यक्षेत्रमै नेपालीलाई संक्रमणको जोखिम छ।’
अस्पतालमा उपचारत रहेका उनले कतार सरकारबाट आफ्नै नागरिक सरह उपचार पाइरहेको बताए। उनी भन्छन्– ‘निःशुल्क उपचार भइरहेको छ। हामीलाई उपचार सेवामा कुनै विभेद छैन। आशा छ म पनि कोरोनालाई जित्नेछु। र, छिट्टै स्वदेश फर्किनेछु।’