काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले नेपाल—भारत सीमाका सम्बन्धमा भारतीय सेना प्रमुखले दिएको भनिएको अभिव्यक्ति आधिकारिक भए त्यो गलत भएको बताउनुभएको छ । उहाँले नेपाल सरकार सीमा विवादका सम्बन्धमा कसैको इसारामा नचलेको भन्दै नेपालले वार्ता माफर्त नै समस्याको निकास निकाल्ने बताउनुभयो ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालले ‘अरु कसैको इसारामा’ पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको आरोप लगाएको समाचार बाहिरएपछि मन्त्री त्रिपाठीले यस्तो प्रतिक्रिया दिनुभएको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै त्रिपाठीले भारतीय सेना प्रमुख जस्तो पदमा भएको व्यक्तिले सीमा सम्बन्धमा नेपालले गरिरहेको विरोधमा चीनको हात रहेको भन्ने भनाई गलत भएको बताउनुभयो ।
उहाँले भारतसँग नेपालको धेरै ठाउँमा सीमा जोडिएको भन्दै सीमा सुरक्षा र मिचिएको भूभाग फिर्ता गर्ने विषयमा भारत सरकारसँग कुटनीतिक पहल भइरहेको जानकारी दिनुभयो । सरकारले शुक्रवार सार्वजनिक गरेने नीति तथा कार्यक्रममा लिम्पयाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरिसकेको छ ।
मन्त्री त्रिपाठीले भन्नुभयो,‘भारतसँंग बार्ताबाटै सीमा समस्या सल्टाउछौँ । भारतीय सेनाध्यक्षले भनेको कुरा सत्य हो भने त्यो गलत भयो । यो सीमा विवाद कसैको इसारामा निकालिएको हैन । हाम्रो भूमिका विषयमा हामी कुरा गर्छौ । चीनको इसारामा नेपाल सरकार नाचेको छैन् । आन्दोलनले भूमि फिर्ता आउदैन । कूटनीतिक र राजनीतिक वार्ताबाट मात्रै भूमि फिर्ता ल्याउनुपर्छ’ ।
उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम वास्तविक भएको र कोरोनालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । अहिले पनि ६५ प्रतिशत जनता कृषिमा आधारित रहेकाले कृषिलाई प्रधामिकता दिएको भन्दै त्रिपाठीले नेपालको कुल जीडीपीमा समेत २७ प्रतिशत कृषिको योगदान रहेको र कोरोनाले गर्दा सरकारका प्राथकिमताहरु पनि परिवर्तन भएको भनाई राख्नुभयो ।
मन्त्री त्रिपाठीले मेलम्ची, निजगढ र पोखरा विमानस्थल जस्ता केही महत्वपूर्ण र सम्पन्न हुन लागेका आयोजनाहरुलाई परम्परा भन्न नमिल्ने भन्दै केहिलाई निरन्तरता दिएको बताउनुभयो । अहिले जीवन जोगाउने र जनजीनव चलाउने गरी नीति तथा कार्यक्रम आएको दावी गर्दै उहाँले लामो भयो भनेर विरोध गर्नुको अर्थ नभएको र अर्थतन्त्रमा परेको प्रभावले सवै क्षेत्रलाई हानेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘रोजगारीमा चुनौती देखिएको छ त्यसैले कृषिलाई पुन परिभासित गरिएको हो । स्वास्थ्य संरचनाहरु पहिले बन्न सकेनन् । पहिले स्वास्थ्य क्षेत्रमा संरचना बनाउन सकेको भए अहिले यो सम्सया आउने थिएन । नीति र कार्यक्रममा एक तिहाई कृषिलाई प्राथमिकता दिएको हो । जे सामथ्र्य थियो त्यसमा यो सरकारले थपिरहेको छ । जनताको जिवन जोगाउन जे पर्छ त्यो सरकारले गर्छ’ ।