जीवराज आश्रितकी छोरीको अनुरोध, ‘विद्या आन्टी र केपी अंकल दासढुंगा प्रकरणको छानविन होस्’

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना हुन्थे वा हुन्थेनन्, अहिले अनुमान गर्न कठिन हुन्छ ।

बुबा र मदन अंकल पोखरा हुँदै चितवन जानुभन्दा अघिल्लो दिन १ जेठ ०५० मा काठमाडौमा भीषण वर्षा भएको थियो । हामी त्यतिबेला डल्लुमा बस्थ्यौं । बुबा तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय रहेको बागबजारबाट डेरा आउँदै गर्दा पानी परेकाले म छाता लिएर डल्लु पुल नजिक गएँ । उहाँ एउटा पसलमा ओत लागेर बस्नुभएको थियो । मैले बुबालाई छाता ओडाएर ल्याएँ । मेरो जीवनमा बुबासँगको त्यो नै अन्तिम यात्रा बन्न पुग्यो ।

भोलिपल्ट २ जेठमा बुबा पोखरा जानुभयो । म र भाइ (डा. सागर न्यौपाने) स्कूल गइसकेका कारण बुबा घरबाट निक्लँदा हाम्रो भेट भएन ।

बुबालाई पेटको रोग थियो । डा. सुन्दरमणि दीक्षितले अल्सर भइसकेको बताउँदै धेरै हिँडडुल नगर्न, बाहिर खाना नखान सुझाव दिनुभएको थियो ।

विद्या आन्टी केपी अंकललाई एउटै अनुरोध गर्न चाहन्छु– कृपया यहाँहरुको कार्यकालमा दासढुंगा प्रकरणको छानविन र सत्यतथ्य सार्वजनिक होस्
तर, पार्टी महासचिव (मदन भण्डारी) र संगठन विभाग प्रमुख (बुबा) पोखरा हुँदै चितवन जाने कार्यक्रम पहिल्यै तय भएकाले उहाँहरु जानुभयो ।

पोखराबाट चितवन पुगेर अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो । त्यतिबेला पार्टीका मुख्य कार्यक्रम, सभा–सम्मेलन र निर्णयहरु मदन अंकल र बुबाकै सल्लाहमा हुन्थे ।

मदन अंकल र बुबा २ जेठमा पोखरा पुगेर हरि पाण्डेको घरमा बास बस्नुभयो । ३ जेठको बिहान खान खाएर अमर लामाले चलाएको जीपमा चितवन जाँदै गर्दा दासढुंगामा घटना भयो । मदन भण्डारी र बुबालाई हामीले सदाका लागि गुमायांै ।

त्योबेला हाम्रो डल्लुको डेरामा ल्याण्डलाइन फोन थियो । चितवनतिर लाग्नुअघि बुबाले हरि पाण्डेको घरबाट गर्नुभएको फोन मैले नै उठाएकी थिएँ । बुबाले भन्नुभएको थियो, “चस्मा लगाउन नबिर्सनू, नत्र आँखा बिग्रन्छ । अनि ममी र भाइको ख्याल गर्नू ।”

आखिर त्यस्तै भयो, बुबा नभएपछि ममी, भाइ र मैले एकअर्काको हेरचाह गर्नुपर्ने बाध्यता आइलाग्यो ।

२०४६ अघि पार्टीका अरु नेताजस्तै बुबा पनि भूमिगत हुनुभएका कारण हामीले उहाँको सानिध्य कमै पायौं । जनआन्दोलन सफल भएपछि मात्र हामी बुबासँग काठमाडौंमा बस्न पायौं ।

डल्लुभन्दा अघि कालिमाटीमा हाम्रो डेरा थियो । त्यसअघि करिब चार वर्ष पोखरा बस्दा बुबा यदाकदा हामीलाई भेट्न आउनुहुन्थ्यो ।

बुबा व्यक्तिगत सरसफाइमा निकै ध्यान दिने अनुशासित नेता हुनुहुन्थ्यो । एकदमै अनुशाशित भएकाले अरु नेताहरु बुबाँसग हच्किन्थे । पार्टीगत र व्यक्तिगत खर्च एक–एक गरी डायरीमा टिप्ने बुबाको बानी थियो । उहाँ सिलबरे भाँडामा कोइला राखेर कपडामा आइरन लगाउनुहुन्थ्यो ।

बुबा घरमा हुँदा सँधै बीबीसी रेडियो सुन्नुहुन्थ्यो । उहाँ पार्टी स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेको भेऊ हामीले २०४६ को जनआन्दोलन पछि मात्र पायौं ।

एकदमै अनुशासित, कसैले झूठो बोलेको नसहने, अध्ययनशील भएकाले बुबालाई पार्टीले रणनीतिक जिम्मेवारी दिएको हुनुपर्छ । एमालेको महासचिवपछिको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो, उहाँ ।

आजकल माधवकुमार नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रितहरुलाई देख्दा मलाई बुबाको धेरै याद आउँछ ।

३ जेठ २०५० मा मदन–आश्रित सवार जीप त्रिशुलीमा खसेको पहिलो जानकारी हामीलाई प्रदीप नेपालको परिवारले दिएको थियो । त्यसअघि अपरिचित व्यक्तिले फोन गरेर जीप त्रिशूलीमा खसेको बताएको ममीले सुनाउनुभयो ।

दुर्घटनापछि हाम्रो डेरामा पार्टी नेता–कार्यकर्ता आउन थाले । नेपाली कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र गणेशमान सिंह पनि आएर सान्त्वना दिनुभयो ।

दुर्घटना भएको पर्सिपल्ट बुबाको शव जीपभित्रै भेटियो । मदन भण्डारीको पनि शव भेटिएपछि काठमाडौं ल्याइयो । बागबजारको पार्टी मुख्यालय सानो भएकाले दिवंगत नेताद्वयको शव दशरथ रंगशालामा राखियो । पार्टीका नेताहरुले हामीलाई डेराबाट रंगशाला लगे ।

दुई नेताको अवशानपछि नेकपा (एमाले) २०५१ सालदेखि सत्तासीन हुन थाल्यो । शुरुमा अल्पमतको सरकार र त्यसपछि धेरैपटक अनेक तरिकाले सत्तामा रह्यो पार्टी । आजसम्म दासढुंगा दुर्घटनाको गहन छानविन हुन नसक्नु चाहिँ विडम्बना बन्न पुगेको छ ।

श्रद्धाञ्जलीपछि दुवै जनाको शवलाई अलग गाडीमा राखेर नगरपरिक्रमा गराइयो । पार्टी नेताहरुसहित म र ममी बुबाको शव भएको गाडीमा बस्यौं । भाइको परीक्षा भएकाले उसलाई दागबत्ती दिने बेलामा सीधै आर्यघाट ल्याइयो । त्यसरी मदन–आश्रितलाई हामीले सधैंका लागि विदा गरेका थियौं ।

हामी बुबाविनाका यी २७ वर्ष करिब गुमनाम जीवन बाँचेका छौं । २०७४ सालमा ममी सांसद भएपछि हाम्रोबारे पार्टीभित्र र बाहिरबाट सामान्य सोधीखोजी भएको अनुभूति भयो ।

मदन भण्डारी बैचारिक नेता, आश्रित सांगठनिक अगुवा– मार्क्स र लेनिनजस्तै । यी दुईको योगफल तत्कालीन एमाले थियो । उहाँहरु एमालेरुपी सिक्काका दुई पाटा हुनुहुन्थ्यो । २०४८ सालको आम चुनावमा मदन अंकल काठमाडौं १ मा बिजयी हुनुभयो, तर बुबा गुल्मीमा पराजित हुनुभयो ।

भण्डारी र आश्रित कहिले डल्लुको हाम्रो डेरामा त कहिले भण्डारीको नक्सालस्थित डेरामा घन्टौं पार्टी र देशबारे गम्भीर छलफलमा जुटुनुहुन्थ्यो ।

उहाँहरुको निधनपछि त्रिशुलीमा जति पानी बगेर गयो, एमाले पार्टीको जीवनमा पनि त्यति नै आरोह–अवरोह आएका छन् ।

तत्कालीन एमालेका संगठन विभाग प्रमुख र स्थायी कमिटी सदस्य बुबा महासचिवपछि दोस्रो बरियताका नेता हुनुहुन्थ्यो । पार्टी मुख्यालय बल्खु सरेपछि भने स्वर्गीय बुबाप्रति सबैले देख्ने गरी विभेद गरियो । पार्टी कार्यालयमा मदन भण्डारीको मात्र शालिक राखियो । पार्टीका सभा–बैठकमा बुबाको योगदानको चर्चा गर्न पनि छाडियो ।

दिनहरु बित्दै जाँदा बुबालाई ३ जेठको स्मृति सभामा सीमित गरियो । उहाँकै सानिध्य पाएर नेतृत्वमा पुगेकाहरुबाट यस्तो विभेद भएको देख्दा ज्यादै खिन्नताबोध हुने गरेको छ ।

२७ वर्षको यो अवधिमा मदन र आश्रितका दुई परिवारको आर्थिक–सामाजिक अवस्था, सार्वजनिक हैसियतबारे दुनियाँ जानकार छ । अहिले एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकार छ । बुबाकै सहकर्मी केपी ओली अंकल प्रधानमन्त्री पदमा विराजमान हुनुहुन्छ अनि मदन अंकलकी पत्नी विद्या भण्डारी आन्टी राष्ट्रपति हुनुहुन्छ ।

हामीलाई धेरै सयमसम्म एकोहोरो सुनाइएको कुुरा के थियो भने दासढुंगा दुर्घटना होइन, षडयन्त्र र हत्या हो । केपी अंकल विद्या आन्टी दुबैजनाले सार्वजनिक रुपमा यही कुरा भन्दै आउनुभएको छ । त्यो सत्य हो भने दासढुंगा दुर्घटनाको छानविन गर्न अहिले जति अनुकुल समय कहिल्यै हुँदैन ।

त्यसैले राष्ट्रप्रमुख र सरकार प्रमुखलाई एउटै अनुरोध गर्न चाहन्छु– कृपया यहाँहरुको कार्यकालमा दासढुंगा प्रकरणको छानविन र सत्यतथ्य सार्वजनिक होस् । सत्ताप्राप्तिका लागि मात्र दासढुंगा प्रकरणलाई षडयन्त्र, हत्या भनिएको हो भने त्यो मदन–आश्रितको घोर अपमान हुनेछ ।

जीप चालक अमर लामाको पनि हत्या भएका कारण दासढुंगा प्रकरण अझ रहस्यमय बनेको छ । लामाका हत्यारा पनि पत्ता लागेका छैनन् । तर, सरकारले चाहेको खण्डमा अपराधविज्ञहरु राखेर उच्चस्तरीय छानविन समिति बनाउन कठिन छैन । त्यसबाट केही न केही परिणाम पक्कै आउने छ ।

नेकपाको सरकारले मदन–आश्रितप्रति अर्पण गर्ने यो भन्दा सच्चा श्रद्धाञ्जली अरु हुनै सक्दैन । साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…