खाडीमा काम गर्ने नेपालीहरुको कोरोनाका कारण भिसाको म्याद सकियो ? यसो गर्नुस !

तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ र कोरोनाका कारण भिसाको म्याद थप्न, आईडीकार्ड नवीकरण गर्न, करार सकिएपछि पनि नेपाल फर्कन नपाएर अप्ठेरोमा पर्नु भएको छ ?

कोरोनाका कारण कम्पनीमा काम बन्द भएर घरमै बस्नु परेको छ अथवा कागजातबिहीन हुनुहुन्छ ? यस्तो समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् । खाडीका देश र मलेसियाले यस्ता समस्या समाधान गर्ने प्रावधान ल्याएका छन् ।

कतिपय देशले श्रमिको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेका छन् भने कतिले देशमा रहेका नेपाली दूतावासले यस्तो समस्या भएमा जानकारी गराउन भनेका छन् ।

विदेशमा कामबिहीन भएका र खान बस्न समस्या भएका श्रमिकलाई खाने बस्ने व्यवस्था मिलाउन नेपाल सरकारले नेपाली दूतावासलाई निर्देशन दिईसकेको छ ।

कुन देशमा कस्तो व्यवस्था ?

– कतारमा रहेका कुनै पनि देशका नागरिकलाई कोरोनाको सङक्रमण देखिएमा त्यहाँको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अरुबाट अलग बसी कतार सरकारको कोभिड १९ को हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ । आपतकालीन अवस्था भएमा ९९९ मा फोन गरी एक्बुलेन्स बोलाउन सकिन्छ ।

– कतारले श्रमिकको गुनासो सुन्न छुट्टै हटलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत तपाईँलाई समस्या ९२७२७ नम्बरको हटलाइनमा फोन गर्नुहोस् र आफ्नो समस्या राख्नुहोस् । आफ्नो आईडी अथवा भिसा नम्बरसहित आफ्नो समस्या यो नम्बरमा म्यासेज पनि गर्न सकिन्छ ।

– कतारको श्रम मन्त्रालयका अनुसार, बिदामा गएका तर कोरोनाका कारण कतार फर्कन नपाएका श्रमिकको यो अवस्थाको अन्त्य भएपछि स्वतः कतारको भिसा नवीकरण हुने र कतार फर्कन पाउने व्यवस्था गरेको छ ।

– नेपाल फर्कने टिकट काट्नुभएको छ, तर सरकारले यात्रामा रोक लगाएको कारण देश फर्कन पाउनुभएन भने एअरलाइन्स कम्पनीसँग सम्पर्क गर्नुहोस् । आफ्नो समस्या बताउनोस् । अहिले धेरै एअरलाइन्स कम्पनीले बिना शुल्क यात्रा मिति सारिदिन्छन् ।

– यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था htpps://portal.moi.gov.qa/visitvisaextension बाट थाहा पाउन सकिन्छ ।

– कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्नुहोस् ।

– कोभिड १९ पोजेटिभ देखिएका श्रमिकलाई मुकाइनिस क्षेत्रका केन्द्रहरुमा क्वारेण्टीनमा राखिने र त्यहाँ सबै आवश्यक उपचार खाना र बस्नको निःशुल्क व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यो सबै सुविधा कतारमा काम गर्ने घरेलु श्रमिकको हकमा पनि लागू हुन्छ ।

– कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ ।

साउदी अरब 

– साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने भएको छ ।

– साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ ।

– साउदी अरेबियाले फाइनल एक्जिट भिसा, एक्जिट भिसा, र रिइन्ट्रि भिसा लागेका विदेशी नागरिकलाई यस्तो भिसा क्यान्सिल गरी लाग्नसक्ने जारिबानाबाट बच्न अनुरोध गरेको छ ।

– त्यसैले यस्तो छाप आफ्नो पासपोर्टमा लागेको भएमा साउदीको आन्तरिक मन्त्रालयको वेवसाइट Absher वा Muqeem बाट यो छाप हटाउने प्रक्रिया अघि बढाउनुहोस् ।

– यो पोर्टलबाट सेवा लिन समस्या भएमा दूतावासको हटलाइन ०५५९३८९६०० नम्बरको ह्वाट्एपमार्फत आफ्नो विवरण पठाउनुहोस् । प्रक्रिया अघि बढाउन तपाईँलाई दूतावासले सहयोग गर्छ ।

– कोरोनाको जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउनुहोस् ।

– बिदामा घर आएका बेला उडान बन्द भयो । काममा फर्कन नपाउँदै भिसा सकिन लागेको छ भने आफ्नो रोजगारदातालाई खबर गर्नुहोस् ।

– तपाईँको उपस्थिति नभए पनि रोजगारदाताले कुवेतको भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

– भिसा नवीकरणका लागि रोजगारदाता कम्पनीले www.moi.gov.kw मा गई युजर नेम बनाई कुवेतको आवासीय भिसा नवीकरण गरिदिनेछन् । बरु यो जानकारी तपाईँ आफैं रोजगारदातालाई दिनुहोस् ।

– तपाईँ कुवेतमै हुनुहुन्छ र भिसा सकिन लागेको छ । तर कोरोना भाइरसका कारण नवीकरण भएको छैन भने आफ्नो रोजगारदातालाई भन्नुुहोस् । रोजगारदाता कम्पनी वा व्यवस्थापकले www.moi.gov.kw मा युजरनेम बनाई अनलाइनबाटै भिसा नवीकरण गरिदिनेछन् ।

– काम गर्ने भिसा – १८ र घरेलु श्रमिक भिसा– २० दुवै खालको भिसा यही प्रक्रियामार्फत नवीकरण गर्न सकिन्छ ।

– अहिले कुवेत सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कफ्र्यु लगाएको छ । यस्तो बेला बाहिर नहिँड्नुहोस् । कुवेत सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् र कम्पनीको नियम पनि पालना गर्नुहोस् ।

– यूएईको भिसा सकिएको छ भने अब नआत्तिनुहोस् । यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई निःशुल्क तीन महिना थपिदिने भएको छ ।

– यूएई घुम्न जानुभएको थियो तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन पाउनुभएको छैन भने पनि भिसा थप गर्न पाउनुहुनेछ ।

– भिजिट या टुरिस्ट भिसामा यूएई गएकाले त्यहाँको कानुन अनुसार कुनै पनि टुर एण्ड ट्राभल एजेन्सीमार्फत भिसा थप गर्न सकिन्छ ।

– तर यो अबधिमा जसले आफ्नो भिसा थप्दैनन् । उनीहरुले प्रत्येक दिनको ओभरस्टे वापतको रकम तिर्नुपर्ने हुन्छ । भिसा अवधिभन्दा बढी अथवा ओभरस्टे भएर बसेमा प्रत्येक दिन बराबर दुई सय दिर्हाम जरिबाना लाग्नेछ ।

– यस्ता समस्या छन् र दूतावासको सहयोग चाहिएको छ भने यूएईमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । कोरोनाका कारण उत्पन्न परिस्थितीले समस्यामा परेको भए आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर सहयोग लिनुहोस् ।

– ओमानमा पनि भिसा, आइडी वा करार अवधि सकिन लागेको छ भने ओमानमा रहेको नेपाली दूतावासका द्वितीय सचिव सुमेश थापालाई ७१५३०८४० मा सम्पर्क गर्नुहोस् ।

– यस्तै कोरोनाका कारण कुनै समस्या उत्पन्न भएमा दूतावासको हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन सकिन्छ ।

– कोरोनाको शंका लागेमा ओमानको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर २४४४१९९ मा सम्पर्क गर्न सकिन्छ ।

– घर फर्कन टिकट काटिसक्नु भएको थियो, तर कोरोनाका कारण उडान रद्द हुँदा घर फर्कन पाउनुभएन र त्यहीँ अड्किनु परेको छ भने दूतावासमा सम्पर्क गर्नुहोस् । बहराइनमा रहेको नेपाली दूतावासले नै यस्ता समस्या समाधान गर्न सहयोग गर्छ ।

– ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा तुरुन्त सम्पर्क गर्नुहोस् । आफ्नो स्वास्थ्यसँग सम्झौता नगर्नुहोस् ।

– जस्तोसुकै समस्या परे पनि बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गरेर आफ्नो समस्या जानकारी गराउनोस् ।

– रोजगारदाता कम्पनी र बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । कोरोनाको जोखिमबाट बच्नुहोस् ।

– नेपाल फिर्ता हुने टिकट थियो, तर क्यान्सिल भयो अनि भिसा पनि सकिंदै छ भने सबैभन्दा पहिला कम्पनीलाई जानकारी गराउनुहोस् ।

– भिसा सम्बन्धी समस्या समाधानका लागि मलेसियाको अध्यागमन विभागमा सम्पर्क गर्नुहोस् ।

– मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले दूतावासमा अप्रिल २ अर्थात स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन दूतावासले भनेको छ ।

– जानकारीका लागि अनलाइमार्फत पनि आवेदन भर्न सकिने दूतावासले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

– अनलाइनमार्फत आवेदन भर्न नसक्नेले ६०१६२४७२७७७ मा ह्वाट्स्एअप मार्फत आफ्नो विवरण पठाउन सकिन्छ । पासपोर्टमा उल्लेख भएको आफ्नो नाम, पासपोर्ट नम्बर, मोबाइल नम्बर, मलेसियन भिसाको किसिम र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बरसहित लेखी पठाउनु पर्नेछ ।

– घर बिदामा नेपाल आउनुभएको छ, तर कोरोनाका कारण तोकिएको समयमै फर्कन पाउनुभएको छैन भने रोजगारदातालाई सो कुराको स्पष्ट जानकारी दिनुुहोस्। अवस्था सामान्य नहुँदासम्म सुरक्षित भएर कोरोनाबाट जोगिन घरमै बस्नुहोस् ।

– कुनै समस्या परेमा अथवा थप जानकारी र सहयोगका चाहिएमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्नुहोस् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…