भारतमा संक्रमितको संख्यामा तीव्र वृद्धि, देशव्यापी लकडाउनलाई निरन्तरता दिने सम्भावना

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा तीव्र वृद्धि भएपछि भारतले देशव्यापी लकडाउनलाई निरन्तरता दिने सम्भावना बढेको छ ।

बुधबार साँझसम्ममा भारतमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार ३ सय नाघिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ७ सय ७३ नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट हालसम्म १ सय ४९ जनाको ज्यान गइसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विपक्षी दलका नेता तथा संसद्मा रहेका अन्य पार्टीका प्रतिनिधिहरूसँगको भिडियो संवादमा कोरोना संक्रमण रोक्न लकडाउन लम्ब्याउने संकेत गरेका हुन् ।

मोदीले बुधबार राज्यसभाका विपक्षी दलका नेता गुलामनवि आजाद र नेसनलिस्ट कंग्रेस पार्टीका प्रमुख शरद पवारलगायत विभिन्न राज्यका प्रमुख नेताहरूसँग संवाद गरेका थिए । संवादमा मोदीले कोरोना भाइरसविरुद्धको लडाइँ लामो भएको हुँदा लकडाउनले निरन्तरता दिइने संकेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा गत २४ मार्चदेखि लागू गरिएको तीन साता लामो लकडाउन कायम छ । लकडाउन सकिन अझै एक साता बाँकी रहे पनि केही राज्यहरूले संक्रमण बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।

यद्यपि केन्द्र सरकारले भने लकडाउन बढाउने वा नबढाउने सम्बन्धमा निर्णय लिन बाँकी नै रहेछ । मोदीले राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेपछि यस विषयमा अन्तिम निर्णय लिने सम्भावना छ । मोदीले मुख्यमन्त्रीहरूसँग आगामी शनिबार त्यस सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

भारतमा कोभिड–१९ को पहिलो केस जनवरी ३० मा दक्षिणी भारतीय राज्य केरलामा पुष्टि भएको थियो । यस अवधिमा भाइरसले पूरै भारत छोइसकेको छ । भारतका ३६ प्रदेश र केन्द्रशासित राज्यमध्ये ३० वटामा भाइरसको संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी ८ सय ६८ जनामा महाराष्ट्रमा देखिएको छ । जसमध्ये ४५ को मृत्यु भइसकेको छ । यता राजधानी दिल्लीमा मात्र ५ सय २५ जना बिरामी पहिचान भएका छन् । तीमध्ये ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमणको फैलावटलाई विश्लेषण गर्दै स्वास्थ्य मन्त्रालयले अहिलेको अवस्थालाई महामारीको स्टेज दुई र स्टेज तीनको बीचको अवस्था भनेको छ । जसको अर्थ भारतमा कोरोना महामारी स्थानीयबाट सामुदायिक संक्रमणको चरणमा प्रवेश गर्ने क्रममा रहेको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले सामुदायिक संक्रमणको चरणमा पूर्णरूपमा प्रवेश गरेको खण्डमा भयावह स्थिति निम्तिने चेतावनी दिँदै आएका छन् । तर यद्यपि सरकारी अधिकारीहरूले भने सामुदायिक संक्रमणको चरणमा प्रवेश गर्नुअघि नै यसलाई नियन्त्रण लिइने दाबी गर्दै आएका छन् ।

कोभिड–१९ को संक्रमण विस्तार हुने क्रमसँगै तीन साता लामो लकडाउनले निरन्तरता पाउने, नपाउने बहस पनि सुरु भएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि केन्द्र सरकार लकडाउनलाई निरन्तरता दिने, नदिनेमा प्रस्ट नभइसके पनि राज्य सरकारहरूले आआफ्नो हिसाबले विशेष रणनीति अख्तियार गर्न थालेका छन् ।

संक्रमणको बढ्दो जोखिमकै कारण कतिपय राज्यले लकडाउनलाई निरन्तरता दिने बताइसकेका छन् । केन्द्र सरकारले २४ मार्चदेखि लागू गरेको तीन साताको देशव्यापी लकडाउनको अवधि १४ अप्रिलमा सकिन्छ । तर लकडाउनको अवधि सकिँदै जाँदा संक्रमणमा पनि तीव्र विस्तार देखिएको छ ।

बढ्दो संक्रमणकै कारण महाराष्ट्र, गुजरात, तेलंगना, राजस्थान, यूपी, आसामलगायतका राज्यले देशव्यापी लकडाउन फिर्ता भए पनि राज्यस्तरमा निरन्तरता दिने बढी सम्भावना छ । तेलंगनाका मुख्यमन्त्री केसी रावले त लकडाउन जारी रहने घोषणा नै गरिसकेका छन् ।

अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पनि कोरोनाविरुद्धको लडाइँ थप सघन बनाउने घोषणा गरेको छ । मंगलबार मात्र मुख्यमन्त्री केजरीवालले महामारीविरुद्ध जुध्न पाँच ‘टी’ को रणनीति अख्तियार गर्ने घोषणा गरेका छन् । जसअन्तर्गत टेस्टिङ, ट्रेसिङ, ट्रिटमेन्ट, टिमवर्क र ट्र्याकिङ छन् । केजरीवालले कोरोना संक्रमणका तीस हजार केसलाई आवश्यक पर्ने गरी पूर्वाधार विकासको काम अगाडि बढाइएको समेत दाबी गरेका छन् । हालसम्म दिल्लीमा ५ सय २५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना संक्रमणको उच्च फैलावटले नेपालमा पनि जोखिम बढाएको छ । विशेषगरी नेपाली कामदारको बाक्लो उपस्थिति रहेको महाराष्ट्र, गुजरात, कर्नाटक, दिल्लीमा कोरोनाको संक्रमण देखिएको हुँदा विशेषगरी फर्केकाहरूबाट कोरोना संक्रमण फैलन सक्ने जोखिम पनि त्यत्तिकै छ ।

पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा पहिचान भएका कोरोना बिरामीहरू मुम्बईबाट फर्केमध्ये केहीमा कोरोना भाइरस संक्रमण देखिनुले त्यो पुष्टि हुन्छ । र, यी राज्यहरूबाट फर्केका नेपालीहरूको वास्तविक अभिलेख नराखिएकाले पनि सुदूरपश्चिम र अन्य भागमा संक्रमणले कुन रूप लिएको छ भन्ने यकिन गर्न गाह्रो छ ।

अर्कोतर्फ खुला सीमा भएका कारण भारतले कोरोना भाइरसको महाव्याधिमाथि जति चाँडो नियन्त्रण पाउँछ त्यसले पनि नेपालमा यसको संक्रमणको फैलावट निर्धारण गर्नेछ । विशेषगरी नेपालसँगका सीमावर्ती राज्यहरू बिहार र उत्तरप्रदेशमा महामारीले कुन रूप लिन्छ त्यसले पनि नेपालमा कारोनाको जोखिमको तस्बिर बताउनेछ । अत्यधिक जनघनत्व भएका भारतका यी दुई राज्य स्वास्थ्य सुविधाका हिसाबले सबैभन्दा कमजोर मानिन्छन् ।

दक्षिण भारतीय राज्यहरूले संक्रमितको पहिचान र परीक्षणलाई तीव्रता दिए पनि अत्यधिक जनघनत्व भएका उत्तरप्रदेश, बिहारलगायतका राज्यको अवस्था निकै दयनीय छ । सीमित परीक्षणै कारण नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा महामारीको वास्तविक अवस्था बाहिर आउन सकेको छैन ।

दुई राज्यमा मात्रै ३५ करोडको बसोबास छ । यी दुई राज्यबाट ठूलो संख्यामा रोजगारीका लागि दिल्ली, महाराष्ट्र, बैंग्लोरलगायत राज्य जाने गरेका छन् । कोभिड–१९ को त्रास बढ्दै गएपछि २४ मार्चदेखि लागू भएको लकडाउन हुनुअघि नै ती राज्यमा रहेका कामदारको ठूलो हिस्सा घर फर्केका थिए । कतिपय त हिँडेर नै गएका थिए ।

भाइरसको संक्रमण बढी देखिएका राज्यबाट आआफ्ना गाउँ फर्केका ती आप्रवासी कामदारहरूको व्यवस्थित ढंगले क्वारेन्टाइन र स्वास्थ्य परीक्षण नभएकाले यूपी र बिहारमा भित्रभित्रै संक्रमणले भयावह रूप लिएको हुन सक्ने आशंका पनि गरिएको छ ।

त्यसमाथि यति धेरै जनसंख्या भएर पनि यी दुई राज्यमा मात्र चारवटा स्थानमा मात्र कोरोना भाइरसको परीक्षणको सुविधा छ । त्यसमाथि आधारभूत स्वास्थ्य सेवाका हिसाबले पनि यी राज्य निकै पछाडि मानिन्छन् । जसले गर्दा यी राज्यको संक्रमणलाई नजिकबाट नियाल्दै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ । अन्यथा नेपालले कोरोना महामारी नियन्त्रणका लागि जतिसुकै कडा कदम चाले पनि खुला सीमाका कारण त्यसको संक्रमण कुनै पनि बेला भित्रिनेछ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…