खरीपाटीमा कोरोनाको त्रास : क्वारेन्टाइनस्थल अगाडिका स्थानीयले ताला लगाएरै घर छाडे

४ फागुन, काठमाडौं।  चीनमा रहेका नेपालीहरुलाई कोरोना भाइरस एपीसेन्टरबाट उद्दार गरि भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयहरु त्रासका कारण घर छोडेर भाग्न थालेका छन्। भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल यतिबेला सुनसान छ ।

नेपाल विद्युत प्राधिकरण ठीक अगाडिको उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएको देख्दा कुनै प्रलयको पूर्वानुमान गरेर मानिसहरु बसाइँ सरे झैं लाग्छ । सधैं भेला भएर चिया खाने पसलमा मानिसहरु देखिँदैनन् । त्यो टोलमा मान्छे भेट्न नै मुस्किल छ ।

अहिले सुनसान रहेको यो टोलमा दुई दिनअघि रौनक अर्कै थियो । प्राधिकरण अगाडिको चिया पसलमा मान्छे भरिभराउ थिए । बाटामा चहल-पहल पनि बाक्लै थियो । ‘सरकारले हाम्रो कुरा सुनेन, अब कता गएर पो बस्ने हो’ भन्दै गुनासो पोखिरहेका मानिसहरु बग्रेल्ती भेटिन्थे।

‘चीनबाट ल्याउने नेपालीहरुलाई क्वारेण्टाइनका लागि खरीपाटीमा नराखियोस्’ भन्ने उनीहरुको एकमात्र चाहना थियो । सोही कारण उनीहरुले नारा जुलुस र विरोध प्रदर्शनसमेत गरे । सडकदेखि संसदसम्म खरीपाटीको विकल्प खोज्न माग गरिएको थियो । तर, सरकारले विकल्प खोजेन ।

फलस्वरुप, बाँसबारी टोलका स्थानीयहरु विकल्प खोज्दै त्यहाँबाट बसाइ सरेका छन् । सुनसान रहेको टोलमा घुम्ने क्रममा हामीले आइतबार चिया पसलमा एकजना ७० वर्षीया कृष्णमाया मगरलाई भेट्यौँ । दुई दिन अघिसम्म भरिभराऊ पसल आज खाली थियो । ग्राहक नभए पनि उनी पसल रुँघिरहेकी थिइन् ।

उनले हामीलाई देख्नासाथ भनिन्, ‘हिजो बेल्काबाट छोराछोरी च्यापेर जम्मै भागे नि त..।’

सोध्यौँ, ‘तपाई त घरमै हुनुहुँदोरहेछ नि ?’

उनले हाँस्दै भनिन्, ‘छोराबुहारीले त नबस् भनिराछन्, आ.. मर्नेबला भएको मान्छेलाई केको डर.. ?’

त्यहीबेला एकजना महिला चिया पसल अगाडिको बाटो भएर अघि बढिन् । कृष्णमायाले रोक्दै आग्रह गरिन्, ‘सलले मुख छोपेर हिँड्नु है ।’

जवाफ नआउँदै उनले थपिन्, ‘बजारबाट फर्कदाँ मास्क ल्याइदिनु ल ।’

ती महिला ‘हवस्’ भन्दै त्यहाँबाट हिँडिन् ।

हामीले उनलाई टोल सुनसान हुनुको कारण सोध्यौं । उनले त्यही कुरा दोहोयाइन्- डर र ज्यानको माया ।

कृष्णमायाका अनुसार २ दिनअघि डाक्टरहरु आएर कोरोनाका बारेमा जनचेतना फैलाएका थिए । संक्रमण नभएकाहरुलाई मात्रै ल्याउने भएकाले केही नहुने आश्वासन पनि दिएका थिए । तर, सरकारी आश्वासनको विश्वास कसैले गरेनन् ।

कृष्णमाया भन्छिन्, ‘केही नभएको भए त उनीहरुको परिवारलाई भेट्न दिहाल्थ्यो नि’ भन्दै टोलका सबै उठेर हिँडे।’

अहिले प्राधिकरणको गेट अगाडिको ‘क्वारेण्टाइन स्थल राख्न’ पाइँदैन लेखिएको’ पम्प्लेट हटाइएको छ । गेटको ठीक अगाडि नेपाल रेडक्रस सोसाइटीको हेल्थ क्याम्प छ । क्याम्पमा रहेका स्वास्थ्यकर्मीले बाटोमा हिँड्नेहरुलाई कोरोनाबारे जानकारीमूलक पर्चा बाँडिरहेका छन् ।

गेटमा तैनाथ सुरक्षाकर्मीहरु पनि पर्चा चाख मानेर पढिरहेका छन् । चीनबाट ल्याएका विद्यार्थीका अभिभावक अहिलेसम्म गेटमा पुगेका छैनन् । सरकारले स्थानीयका लागि न हेल्थ क्याम्प राखेको देखिन्छ, न त अभिभावकलाई सूचना दिने कुनै व्यवस्था । प्राधिकरणको गेट बाहिर सरकारको उपस्थिति शून्य देखिन्छ । जसका कारण स्थानीयमा डर बढिरहेको छ । अनावश्यक भ्रम फैलिइहेको छ ।

त्यहीबेला चीनबाट फकाइएका एक विद्यार्थीका आफन्त सुटकेश बोकेर प्राधिकरणको गेटमा पुगिन् । तर, सुरक्षाकर्मीले उनलाई भित्र छिर्न दिएनन् । सरकारले प्रष्ट भनेको छ, ‘१४ दिनसम्म आफन्तहरु भेट्न दिइने छैन ।’

स्वास्थ्यकर्मीले त्यही जानकारी उनलाई दिए । उनले अरु सामान नलगे पनि भित्र ‘सिम कार्ड र मास्क लगिदिनू’ भनेर आग्रह गरिन् । तर, सुरक्षाकर्मीले बाहिरको कुनै पनि सामान भित्र दिन नमिल्ने कुरा दोहोर्‍याए । तर, ती आफन्तले आफ्नो जिद्दी छाडिनन् । केही क्षणको कुराकानीपश्चात गेटमा रहेका सुरक्षाकर्मीले उनीहरुका इञ्चार्जलाई बोलाए । उनले मास्क र सिमकार्ड गेटमा छाड्न भने । ती आफन्त ‘सामान भित्र पुर्‍याइदिनु है..’ भन्दै त्यहाँबाट निस्किइन् ।

त्यहीबेला सुनसान रहेको टोलमा एकजना महिला देखिइन् ।

बिन्दा नेपाली नाम बताउने उनले भनिन्, ‘छिमेकीहरु सब हिजो राति नै हिँडे, अहिले त मलाई नि डर लागिरहेको छ ।’

उनकाअनुसार शनिबार साँझसम्म टोलमा मानिसहरु थिए । कोही राति नै आफन्तकहाँ गए । कसैले बिहानै टोल छाडे । छिमेकीहरुले टोल छाडेको देख्दा उनलाई पनि डर लागिरहेको छ । जाने ठाउँ नपाएर घरमा बसिरहेको उनी सुनाउँछिन् । भन्छिन्, ‘यहाँ त काम गर्ने मानिसहरु पनि कोही आएनन्, टोल रित्तिएको देख्दा विरक्त लागिसक्यो ।’

उनी अबको एक दुईदिनको अवस्था हेरेर टोल छाड्ने / नछाड्ने मनस्थिति बनाउने बताउँछिन् । सरकारले हेल्थ क्याम्प राखेर स्थानीयलाई पनि काउन्सिलिङ गरे टोल नछाड्ने उनको कथन छ ।

‘क्वारेण्टाइनस्थलभित्र मात्रै डाक्टरसहितको सेवा भएकाले बाहिर झन डर बढेको छ’ उनी भन्छिन्, ‘दुई/तीनदिन अगाडि नै सरकारले हेल्थ क्याम्प राखेर काउन्सिलिङ गरेको भए टोलका मानिस सबै हिडँदैनन् थिए कि ?’

अनि केही छिन टक्क रोकिएर भन्छिन्, ‘हुन त अहिले सरकारको विश्वास नै कसलाई छ र ? मनको बाघले खाएपछि कसैको विश्वास नलाग्ने र छ ।’

क्वारेण्टाइनस्थलभन्दा केही पर चाँगुनारायण नगरपालिकाको भवन छ । उक्त भवनको क्याण्टिनमा पनि दुई दिनअघिको भन्दा कमै चहल-पहल छ । तर, फिटिक्कै मानिस नभएका भने होइनन् । प्राधिकरण भवन अगाडिको टोलजस्तो त्यो टोल सुनसान पनि छैन ।

त्यो टोलका केही मानिसहरुलाई हामीले सोध्यौं,

‘पल्लो टोलका मानिसहरु कहाँ गए… ?’

जवाफ आयो- ‘हाम्रो टोलका पनि धेरै मानिसहरु हिँडिसके, हामी दुई/चार घरका मात्र बाँकी हो ।’

उनीहरुको अभिव्यक्ति सुन्दा लाग्थ्यो, विकल्प नभएका कारण उनीहरु त्यहाँ बसिरहेका छन् ।

‘हो, यहाँ संक्रमित भएकाहरुलाई बसाउने होइन । यहाँ राख्दैमा कोरोना सर्ने पनि होइन..’ त्यहाँ भेटिएका एकजना मानिस जंगिए, ‘तर.. सरकारले कम्तिमा यहाँका स्थानीलाई त केही हुन्न भनेर बुझाउनुपर्थ्यो नि । नबुझाएपछि घर छाडिहाल्छन् नि । अहिलेसम्म यहाँका स्थानीयलाई भनेर हेल्थ डेस्क राखेको छैन ।’

त्यहाँका अधिकाशं मानिसका गुनासो थियो, ‘सरकारले बुझाउन नसकेकाले प्राधिकरण भवन अगाडिको टोलका मानिसले घर छाडे । नियमित जाँचका लागि हेल्थ डेस्क नराखिएकाले टोलमा बस्न हिम्मत गरेनन् ।

चाँगुनारायणका मेयर सोमप्रसाद मिश्रले पनि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेण्टाइनमा बस्नेहरुका लागि हरेक दिन स्वासथ्य जाँच गर्दा त्यहाँका स्थानीयको पनि स्वास्थ्य जाँच गर्नुपर्ने उनको माग छ।

तर आइतबारसम्म सरकारले स्थानीयका लागि हेल्थ डेस्क स्थापना गरेको छैन । सोही कारण स्थानीयहरुले टोल छाडेको उनको कथन छ । भन्छन्, ‘सरकारले त्यहाँ निःशुल्क हेल्थ डेस्क राखेर जाँच गरेदेखि स्थानीहरुको डर घट्थ्यो र उनीहरुले घर छाड्दैनथिए ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल स्थानीयहरु डराउनुपर्ने कुनै अवस्था नरहेको बताउँछन् ।

स्थानीयहरुका लागि नियमित स्वास्थ्य जाँचको आवश्यकता नरहेको उनको कथन छ । स्थानीयहरुका लागि काउन्सिलिङ गर्न सोमबारबाट मन्त्रालयले स्वाथ्यकर्मी खटाउने बताउँदै उनले भने, ‘मन्त्रालयले स्थानीयहरुका लागि काउन्सिलिङ गर्छ । यदि कसैले टोल छाडेका छन् भने टोल फर्काउने वातावरण निर्माण गर्छ ।’ साभार : अनलाइन खबरबाट 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…