नेपाल फर्किने बेला तान्जानियाकी साथीले आँसुका डल्ला खसाल्दै भनिन्- काश म पनि नेपाली हुन्थेँ!

शनिबार बिहानैदेखि वुहानको मौसम गडबड थियो। हिउँ, पानी र बतास चल्दै थियो। देश फर्किने तयारी गरिरहेका चन्द्रभूषण साहको मनमा भने खुसीको सीमा थिएन।

उनले सबेरै उठेर कोठा सरसफाइ गरे। केही दिनअघि किनेको चामल, तरकारी र पिउने पानी बचेको थियो। उनी ती सामान एउटै तलामा बस्ने तान्जानियाकी साथी लिलियानलाई दिन चाहन्थे।

चन्द्रभूषण सामान दिन लिलियानको कोठामा पुगे। जसै ढोका खुल्यो, वुहानको मौसमजस्तै मलिन लिलियानलाई देखेर उनको मुटु चसक्क भयो।

अघिल्लो दिनसम्म मज्जाले कुराकानी गरिरहेका लिलियानलाई एकाएक निन्याउरो देखेर उनले सोधे, ‘के भयो तिमीलाई?’

लिलियानले केही जवाफ दिन सकिनन्। यत्ति भनिन्, ‘आई विस आई कुड बी नेपाली (काश म पनि नेपाली हुन्थेँ!)’

चन्द्रभूषण स्तब्ध भए।

न लिलियानले केही भन्न सकिन्, न चन्द्रभूषणले केही सोध्न। उनी केही बेर लिलियानसँगै बसे। एउटै कोठामा, दुवै मौन।

‘हामी फलानोले के भन्यो, ढिस्कानोले के भन्यो भनेर सोध्छौं, कहिलेकाहीँ कस्ताे हुँदो रहेछ भने, मनको कुरा बुझ्न केही भन्नै नपर्ने, केही सोध्नै नपर्ने,’ आइतबार नेपाल फर्किएर खरिपाटीको क्वारेन्टाइन सेन्टरमा बसिरहेका चन्द्रभूषणले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भने, ‘हामी दुवै मौन थियौं, तर दुवैले एकअर्काको भावना साटिरहेका थियौं।’

केही बेरको मौन संवादपछि चन्द्रभूषण आफ्नो कोठामा फर्के।

वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि विदेशी विद्यार्थीहरू धमाधम घर फर्किसकेका थिए। पहिले २० जना बस्ने तलामा १८ जना घर गइसकेका थिए। दस दिनदेखि त्यो तलामा दुई जना मात्र थिए- चन्द्रभूषण र लिलियान।

उनीहरू दिनभर कुराकानी गरेर समय कटाउँथे। एकअर्कालाई सान्त्वना दिन्थे। शनिबार भने चन्द्रभूषण पनि १ सय ७५ जना नेपालीसहित काठमाडौं फर्के।

फर्केको भोलिपल्ट आइतबार बिहानै चन्द्रभूषणको मोबाइलमा सन्देश आयो- ‘तिमी नेपाल पुग्यौ?’

सन्देश पठाउने उही लिलियान थिइन्।

चन्द्रभूषणको मनमा गहिरो उदासी छायो- अब लिलियानलाई कसले सान्त्वना दिने? उसले कोसँग कुराकानी गर्ने?

यही कुरा मनमा खेलेर उनले सन्देशको जवाफधरि तुरून्तै पठाउन सकेनन्।

अलि बेरमा लेखे- ‘म राम्ररी आइपुगेँ। त्यहाँ तिमी पनि राम्ररी बस्नू है।’

‘मलाई थाहा छ, अहिले लिलियान सुनसान कोठामा एक्लै छ। मेरो म्यासेज हेरेर त्यही म्यासेजसँग एक्लै कुरा गर्दै होलिन्,’ चन्द्रभूषणले भने।

उनलाई पनि लिलियानसँग छुट्टिन कम्ता गाह्रो परेको थिएन। त्यसमाथि बिहान आफ्नो बचेको रासन दिन जाँदा लिलियानको निन्याउरो अनुहार देखेपछि त उनको छटपटी झनै बढ्यो।

एकातिर रोगको संक्रमणबीच देश फर्किने उत्साह, अर्कातिर त्यो संकटको घडीमा साथीलाई एक्लै छाडेर हिँड्नुपर्दाको पीडा!

यही उधेडबूनले होला, उनले अन्तिम समय लिलियानलाई बोलाउने आँटसम्म गरेनन्। खाना खाएर उनलाई भेट्दै नभेटी होस्टलबाट निस्किए। ‘हिँड्ने बेला मलाई उसको अगाडि पर्न एकदमै गाह्रो भयो,’ उनले भने।

उनी अढाई बजे कोठाबाट निस्किए। होस्टलबाट बस भएको ठाउँसम्म पुग्न १० मिनेट लाग्थ्यो। बाहिर हिउँ-पानी थामिएको थिएन। उनी एउटा हातमा २० किलोको ब्याग र अर्को हातले छाता ओडेर कोठाबाट निस्किए।

विश्वविद्यालयको मूलगेट मात्र कट्न लागेका थिए, होस्टल वार्डेन सिफूले सानो स्वरमा भने, ‘च्याङ्चिहुवा वी वील मिट सुन।’

‘च्याङ्चिहुवा’ चन्द्रभूषण साहको चिनियाँ नाउँ हो। सिफूको कुराले साहको मन भारी भयो।

उनी टक्क अडिए। फरक्क फर्किए। उसै त चिम्सा सिफूका आँखा नाकमुख ढाकेको मास्कले थिचेर झनै चिम्सा भएका थिए। हिउँ-पानीले हो वा आँशु रसाएर, उनका आँखा भिजेका देखिन्थे।

चन्द्रभूषणले केही भन्नै सकेनन्। मनमा भावनाको तातो उर्लिंदा शब्दहरू पनि जमेर हिउँ हुँदा रहेछन्।

‘नेपालबाट फर्किंदा एउटा कोसेली ल्याइदिन्छु है सिफू,’ उनले यति भनेर बरफझैं जमेका गोडाहरू बल गरेर फटाफट चाले।

पछाडि फर्केर हेर्ने आँट पनि आएन। सिफू भने उनी आँखाबाट ओझल नहुँदासम्म उनकै बाटो हेरिरहेका थिए कि!

तेज हावा चल्दै थियो। हावाको झोंक्काले चन्द्रभूषणको छाता भाँच्चियो। त्यही भाँच्चिएको छाताले टाउको जोगाउँदै उनी बस भएतिर अघि बढे।

उनको शरीर निथ्रुक्कै भिजेको थियो, मनजस्तै।

‘मलाई भने ज्यान पूरै भिजेको छ भन्ने पनि हेक्का भएन। मन ठेगानमा नभएको बेला यस्तै हुन्छ होला है,’ चन्द्रभूषणले भने, ‘म पुग्दा बस आइपुगेको थिएन। नेपाल जाने अर्का साथी अशोक मात्र थिए। हामी पुगेको १० मिनेटपछि मात्र बस आयो।’

बसभित्र २५ जना विद्यार्थी थिए। अगाडि सिट खाली रहेछ। उनी त्यहीँ गएर बसे। अशोक अर्को कुनातिर गएर बसे।

चन्द्रभूषणले टाउको वरिपरि घुमाएर बसमा रहेका सबैलाई हेरे। सबै जना चुपचाप। मास्क, चस्मा लगाएकाले कसैलाई चिन्ने अवस्था थिएन।

बस अघि बढ्यो। बाटोमा अरू विद्यार्थीलाई टिप्दै साढे पाँच बजे विमानस्थल पुग्यो।

विश्वविद्यालयबाट बस चढेर विमानस्थल आउँदा देखिएको वुहानको दृश्य। तस्बिर: चन्द्रभूषण साह
विमानस्थल आउँदा बसभित्र। तस्बिर: चन्द्रभूषण साह
त्यत्रो ठूलो विमानस्थलमा दुई-चार जना कर्मचारी र सुरक्षाकर्मी मात्र देखिन्थे। चन्द्रभूषणका आँखा सिधै ‘डिस्प्लेबोर्ड’ मा ठोक्कियो।

‘त्यस दिन वुहानबाट एउटा मात्र उडान थियो,’ उनले भने, ‘वुहान टू काठमाडौं।’

बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कने आफ्ना नागरिकको नामावली विमानस्थल पठाइसकेको थियो। एक जना कर्मचारीले बोर्डिङ पास निम्ति लाम लाग्न आग्रह गरे।

चन्द्रभूषण अग्रपङ्तिमा उभिए। बोर्डिङ पास लिएर उनी विमास्थलको गतिविधि नियाल्न थाले। कोही लगाएको ज्याकेट फुकालेर कसरत गर्दै थिए। कोही आफूसँग भएको थर्मामिटर झिकेर तापक्रम नाप्दै थिए।

‘शरीरको तापक्रम बढेर कतै नेपाल जान नपाइने हो कि भनेर धेरै आत्तिनुभएको थियो,’ उनले त्यहाँको गतिविधि सुनाए।

त्यसपछि उनीहरूलाई मेडिकल जाँच निम्ति बोलाइयो। उनीहरू फेरि लाम बसे।

चन्द्रभूषणको शरीरको तापक्रम ठिक आयो। ‘मेरो नेपाल जाने साइत जुरेको रैछ,’ उनले भने, ‘छ जना साथीहरू त तापक्रमका कारण नेपाल आउनै पाउनुभएन।’

अध्यागमन अगाडि फेरि तापक्रम जाँचियो। बिहान पानीमा झमझमी भिजेर आउँदा पनि तापक्रम ठिक भएपछि उनको मनोबल दह्रो भयो।

उनी जहाज चढ्ने अन्तिम विन्दुमा पुगे। अरू पनि भेला भए। जहाज अवतरण भइसकेको थिएन। यो पर्खाइबीच सबै जना एकअर्कासँग खुसी साट्दै थिए।

एक घन्टापछि नेपाल एयरलाइन्सको वाइडबडी वुहानमा अवतरण गर्यो। चन्द्रभूषणले जहाजतिर आँखा लगाएर सोचे- ‘बल्ल उड्ने भइयो।’

त्यसको डेढ घन्टापछि उनीहरू सबै जहाजभित्र छिरे। सबैको सिटमा मास्क, पन्जा, एउटा पाउरोटी, तीनवटा केरा र दुइटा जुस थियो। भोकले रन्थनिएका चन्द्रभूषणले सिटमा बस्नेबित्तिकै एउटा केरा र जुस खाए।

परिचारिकाले सबै यात्रुलाई आ-आफ्नो सिटमा बस्न र विमानस्थलले दिएको फारम भर्न लगाए। परिचारिकाहरू सबैले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ लगाएका थिए।

जहाज उडानका लागि धावनमार्गतिर गयो। बिहान १२ बजेर ५० मिनेटमा जहाज वुहानबाट काठमाडौं उड्यो।

थकान र तनावले धेरै यात्रु निदाए। चन्द्रभूषणको पनि केही बेर आँखा झप्प भयो। चिसो मौसमका कारण केही यात्रुको तापक्रम बढेको थियो। बेलाबेला चिकित्सक आउँथे, जाँच गर्थे र नआत्तिनू भन्थे।

एक निद्रापछि साह ब्युँझिए। काठमाडौं अवतरण हुन एक घन्टा बाँकी रहेछ। उनी त्यसपछि फेरि निदाउन सकेनन्। एकोहोरो जहाजभित्रको दृश्य नियालिरहे। कोही सुतेका थिए, कोही यत्तिकै बसेका।

जहाज विस्तारै काठमाडौंको आकाशमा प्रवेश गर्यो। काठमाडौंको झिलमिली देख्नेबित्तिकै जहाजभित्र उत्साहको लहर दौडियो।

आइतबार बिहान ३ बजेर २२ मिनेटमा जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्यो।

‘ल्यान्ड भएपछि फेरि हामीले ताली बजायौं,’ उनले भने, ‘त्यो मातृभूमि फर्किन पाउनुको खुसी थियो।’

काठमाडौं ओर्लेपछि जहाजभित्रै सबैको तापक्रम नापियो। त्यसपछि पाँच-पाँच जनाका दरले हरेकलाई एक-एक मिटरको दुरी राखेर ओर्लिन भनियो।

वुहानबाट ल्याइएका १ सय ७५ जना नेपालीलाई खरिपाटी पुर्याउन ६ वटा बस तयारी अवस्थामा थिए। उनले बस चढेपछि घरमा फोन गरेर आफू नेपाल आइपुगेको जानकारी गराए।

फोनमा आमाले भनिन्, ‘म भेट्न आउँछु।’

चाहना त चन्द्रभूषणको पनि थियो, आमासँग कसिलो र न्यानो अंगालो मार्ने। तर उनीहरूले कम्तिमा दुई साता कसैलाई भेट्न पाउँदैनन्।

उनले भारी स्वरमा आमालाई फकाए, ‘अहिले भेट्न मिल्दैन आमा, पन्ध्र दिनपछि म आफैं आइहाल्छु।’

एम्बुलेन्स र प्रहरीको एस्कर्टिङमा खरिपाटी पुग्दा उज्यालो भइसकेको थियो। त्यहाँ सबैको बेड नम्बर छुट्याइएको थियो। चन्द्रभूषणले आफ्नो बेड नम्बर हेरे।

कोठामा तीनवटा बेड थियो। मास्क, स्याम्पू, रूमाल सबै राखिएका। रातभरिको थकानले गलेका साह एकछिन आफ्नो बेडमै बसे। त्यसपछि नुहाउन बाथरुम छिरे। लगाएको कपडा प्लास्टिकमा पोको पारे।

केही बेरमा खाजा खान माइकिङ भयो। खाजा प्याक गरेर टेबलमा राखिएको थियो। उनले कोठामै ल्याएर खाए।

‘मैले सोचेभन्दा राम्रो सुविधा रहेछ। क्वारेन्टाइनमा बस्नेहरूका लागि ब्याडमिन्टन, क्यारम बोर्ड र लुडो खेल्ने बन्दोबस्त छ,’ उनले भने, ‘अहिले त सबै थाकेर बसेका छन्। फ्रेस भएपछि खेलौंला नि।’

चन्द्रभूषणले हिजो र आजमा धेरै नै फरक महशुस गरेका छन्। भन्छन्, ‘सास फेर्न सजिलो भएको छ। हिजो पिँजडाको सुगा थिएँ, आजदेखि जंगलको सुगा भएँ।’

यत्ति हो, यो जंगलको सुगा वुहानमा एक्लै छाडेर आएका तान्जानियाकी साथीको यादले घरिघरि छटपटाइरहन्छ।

उनको साथी अझै पिँजडामा थुनिएकी जो छिन्। यो आलेख विवेक राईले सेतोपाटीका लागि लेख्नु भएको हो। 

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…