स्कुटर चलाउने केटो, बाइक चलाउने केटी

केटा लाउँछन् कानमा मुन्द्रा, कपाल लामा लामा
केटी भने पाइन्ट लाउँछन, लाउन छाडे जामा
पछि पछि गएँ म त, छोटो कपाल देखी
केटा भनी बोलाएको, रैछे त्यो त केटी
आचकलको फेसनले, झन्डै मलाई मार्यो
केटाकेटी छुट्टाउनै, भयो साह्रै गाह्रो-२

केही दिनअघि पुरानो किताबमा रहेको कागजको चिर्कोटमा मैले यो कविता भेटेँ। १७ वर्षअघि यो कविता लेख्दा म भर्खरै एसएलसी परिक्षा दिँदै थिएँ। पोखरेली युवा साँस्कृतिक परिवारले मासिक रूपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्या (हाल पनि जारी) मा बाचन पनि गरेको थिएँ। संयोग, त्यस दिन उपन्यासकार सरुभक्त श्रेष्ठ दाइ कार्यक्रममै हुनुहुन्थ्यो। उहाँ पनि लामो कपाल पाल्नु हुन्थ्यो। कविता बाचन सकिएपछि सबै गललल्ल हाँसे। मैले सोचेँ, कविता सुनेर हाँसे, तर धेरैले सरुभक्त दाइको कपाल हेरेर हाँसेछन्।

उ बेलाको मेरो बाल मस्तिस्कमा समाजले त्यस्तै चित्र बनाइदिएको थियो, सायद। त्यसैले कापीका पानामा घोटिएको कलमले माथिका कविता फुरायो। समयले सयौं फन्को लगाएपछि बिस्तारै केटाले कपाल पाल्ने, केटीले पाइन्ट लगाउने मामला सामान्य हुँदै गएको छ। तर अझै पनि हामी माझ ‘केटाले यो गर्न नहुने’ र ‘केटीले यो गर्नैपर्ने’ नयाँ नयाँ परिभाषाहरू मलजल गरिएका छन्।
तीन वर्षअघि भदौ महिनाको कुरा। ठूलो झरी परेकाले सडक जलाम्य थियो। म स्कुटरमा फूल रेनकोट ओढेर काठमाडौं थापाथली हुँदै पुल्चोक कुद्दै थिएँ। मभन्दा अल्लि अघि बाइकमा दुई जना केटा थिएँ। उनीहरू छाता ओढिरहेका थिए।

मैले ओभरटेक गर्दा स्कुटरको रफ्तारले सडकमा जमेको पानी उनीहरूतिर उछिट्टिएछ। एउटोले मुख खोलिहाल्यो, ‘ओ बहिनी यसरी नछेप न।’

सुनेपछि मैले पनि हाँसो थाम्न सकिनँ, फरक्क पछाडि फर्किहालेँ। केटाहरूले खित्का छाड्न थाले, ‘सोल्टिनी भनेको सोल्टा परेछ।’
स्कुटर केटीले नै चलाउने हो भन्ने भ्रम अझ पनि धेरैमा छ। म स्कुटरसँग रमाउने मान्छेलाई कहिलेकाहीँ यस्ता कुराले चिमोट्छ।
केही वर्षअघिको कुरा। बिहान ८ बजेका लागि एउटा कार्यालयमा मेरो भेटघाट तय भएको थियो।

म समयभन्दा ५ मिने अघि कार्यालय पुग्दा त्यहाँ कोही पनि आइपुगेका थिएनन्। म सरासर कोठामा पुगेर आराम गरेँ। भेटघाटको समय १५ मिनेट घर्किसक्दा पनि मलाई बोलावट भएन। म सोझै कार्यक्रम निर्देशकको कोठामा पुग्दा त उहाँ आइसक्नुभएको रहेछ।
‘ए तिमी आइसक्यौ?’ उहाँले अचम्म मान्दै सोध्नुभयो।

‘१५ मिनेट भैसक्यो त, कोठैमा थिएँ, बोलाउनु भएन,’ मैले थपेँ।
‘मैले तल बाइक देखिनँ त।’

‘म स्कुटर चलाउँछु नि।’
‘ए स्कुटर चलाउँछौ?’

‘अनि के म जहाज चलाउँछु त?’
दुवैको हाँसो गुञ्जियो। स्कुटर चलाउने केटा मान्छेका किस्सा धेरै हुँदा रहेछन्। मेरो एक जना साथीलाई भने पुलिसले साँझ चेकिङ नै नगरी छाड्छ भनेर चित्त दुख्दो रैछ। ‘बाइकवाला केटाहरूलाई साइड लगाएर केरकार गर्छन्,’ उनी सुनाउँदै थिए, ‘स्कुटर चलाउने केटालाई बिचरो भन्दो रैछ क्यारे, जानुस् भनिहाल्छ।’ आफू पनि धेरैपटक उस्तै अवस्थामा परेकाले मैले उनको मर्म बुझेँ।

हामी आफैंलाई नियाल्ने हो भने यस्ता धेरै घटना आँखा अघि आइपुग्छन्। महिलाले चलाएको टेम्पु चढ्ने कुरा त सायद सामान्य भैसक्यो अब। तर, महिला पाइलटले उडाएको जहाज चढ्दा अझै पनि हामीबीच केहीको मन चसक्क गर्छ। महिलाले कार चलाएको देख्दा अझै पनि नौलो मानेर परसम्म हेरिरहने बानी हामीमाझ छ नै। यस्ता धेरै सामान्य कुरा छन् जसलाई हामी असामान्य बनाइराखेका छौं।

मेरी एक दिदी छिन्, विष्णु। अर्का दाइ छन् तुलसी। विष्णुको फोन आयो भन्दा कसैले पनि खासै वास्ता गर्दैनन्। ‘तुलसीलाई फोन गर्छु है एकैछिन’ भन्न हुन्न साथीहरू खिस्स हाँस्छन्। सायद कुनै केटीसँग मिसकल मारिराछ भन्दा हुन्।

हामीमाझ धेरै महिला साथीहरू पनि होलान् जसले आफ्नो ब्वाइपे्रmन्डको मोबाइलमा ‘यो को तुलसीले रैछे’ भन्दै सोधखोज गर्दा हुन्। यस अवस्थामा हामीले आफ्नो सोचको आकाश फराकिलो पार्नुको विकल्प छैन। यो विकल्पलाई अझै पूर्ण रुपमा अंगाल्न नसक्ने म पनि धेरै ठाउँमा गलत साबित भएको छु।

तीन वर्षअघिको कुरा। विभिन्न जिल्लाका आममानिसले भोगेका समस्या बटुलेर कथामा उन्ने हाम्रो योजना थियो। यी कथालाई रेडियो नाटक र टेलिभिजनका पर्दामा देखाउने सोचअनुरुप कैलालीको धनगढीमा हामीले अञ्चलभरीका प्रतिनिधि पात्रहरू बोलाउँदै थियौं। सबैलाई बोलाउने जिम्मा जिल्लाकै एक बहिनीलाई दिइएको थियो। निम्तो कहाँ कहाँ पुग्यो भन्ने लेखाजोखा गर्न हामी भेट्ने तय भयो। चर्को घाममा उनी बसेको ठाउँमा पुग्न मलाई हम्मे हम्मे भएको थियो। उनी पनि पसिनाले निथ्रुक्कै भिजेकी थिइन् र दौडधुपले थकित पनि।

हामी एक कोल्ड स्टोरअघि बसेर कुरा गर्दै थियौं। समय कम थियो। गर्मी चर्को थियो। उनले साइकल लिएर आएको जस्तो पनि लागेन। अझै धेरै जनालाई चिठ्ठी दिन बाँकी रहेको थाहा पाएपछि टिठ लाग्यो। मैले मन थाम्न नसकेर सोधिहालेँ, ‘कसरी बाँड्छौं त यति धेरै चिठी, बैनीको साइकल छैन?’

मेरो प्रश्न सुनेर उनी खिस्स हाँसिन्। म अचम्म परेँ। उने मुख खोलिहालिन्, ‘दाइ म बाइक चलाउँछु।’
स्कुटर चलाउने यो ज्यान खङग्रङै भयो। अघिदेखि पसल अघिल्तिर रोकिराखेको हिरो होन्डा बाइक उनैको रहेछ।

सेतोपाटीमा प्रकाशित भवसागर घिमिरेद्वारा लेखित लेख हामीले हुबहु साभार गरेका हौं।  पहिलो लेखन मिति मिति:  २०७३ – २९ – आश्विन। फोटो श्रोत : गुगल 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…