धमाधम भेडा मर्न थालेपछि मूर्छित भए भेडापालक, दुई सय भेडाको चिकित्सकद्वारा वनमै उपचार

निमुसंगम घर्ती

दाङ।  रुकुमपूर्व भूमे गाउँपालिका–१ लुकुमका ५८ वर्षीय रामकृष्ण पुन चौरमा पल्टिनुभएको छ । शरीर काँपिरहेको छ । ओठ फुटेका छन् । भेडाको ऊनले बुनेको कम्बल ओछ्याउनुभएको छ र ओड्नुभएको छ । रातभरि पानी र असिना परेर कपडा निथ्रुक्कै भिजेका छन् ।

घोराही उपमहानगरपालिका–१९ पाँचपाखेरीमा सिमेन्टका बोराले छाएको सानो छाप्रो बनाइएको छ । छाप्रोभित्रबाट आगोको धुवाँ बाहिर आएको छ । छाप्रो नजिकै पल्टिएका रामकृष्णलाई बज्रपात परेको छ । रुकुमबाट चराउन ल्याइएका ८० बढी भेडाहरु मरेका छन् ।

पुसको अन्तिम साता रोल्पाको सातदोबाटोबाट दाङ हिँडेपछि बाटैभरि भेडाहरु मर्दै गए । पाँच पोखरी आइपुग्दा पनि मर्ने क्रम रोकिएन । आयआर्जनको पेशा नै भेडा भएका कारण स्रोत नै मरेर सकिन थालेपछि रामकृष्ण बिरामी पर्नुभएको छ ।

उच्च ज्वरो छ भने शरीर पनि कमजोर बनेको छ । भएका जति भेडा मरेर सकिन लागेको पीडाले मात्रै उहाँलाई तड्पाएको छैन भएको छोरा पनि अमेरिकामा जेल परेका छन् ।

३४ लाख रुपैयाँ पैसा खर्च गरेर अमेरिका पठाएको छोरा विवेक तीन महिनादेखि जेलमा परेको खबरले घरमा श्रीमती र यता जंगलमा भेडा पालेर बसेका रामकृष्ण मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ ।

आफूहरुको पुख्र्यौली पेशा नै भेडा पालन भएको तर यस वर्ष जस्तो विपत्ति कहिल्यै नआएको उहाँ बताउनुहुन्छ । सैघामा बोल्दी, पाँचपोखरी, कालापोखरा, मालारानी, फागुने खोरलगायतका ठाउँमा रुकुमबाट वर्षांैदेखि भेडा चराउन ल्याउने गरेको भेडा पालक बताउँछन् । उनीहरुले भेडा चराउन आउने क्रममा ती स्थानमा बिघांै विगाह जग्गासमेत किनेका छन् ।

उहाँसँगै भेडा लिएर आउनुभएका पिलम पुन पनि १४ वर्षको उमेरदेखि नै भेडी गोठालो बन्नुभयो । चिसो छल्ने र चराउने भनी रोल्पा हुँदै दाङ आउँदा सम्म झण्डै साढे दुई सय भेडा मर्दा निकै पीडाबोध भएको बताउनुहुन्छ ।

घरपरिवार पाल्ने, लालनपालनकै आधार भेडा भएको भन्दै यस घटनाले ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । सात हजारदेखि २५ हजारसम्मका भेडा मरेको भन्दै झण्डै १६ लाख रुपैयाँ नोक्सान भएको उहाँको भनाइ छ ।

म’र्ने क्रम रोकिदै

भेडाहरु मर्ने क्रम नियन्त्रणउन्मुख हँुदै गएको छ । गएको पुस २९ गते रोल्पा हुँदै घोराही उपमहानगरपालिका– १९ सैघाको पाँचपोखरीमा ल्याइएका भेडा मर्ने क्रम बढेपछि थालिएको उपचारले नियन्त्रणउन्मुख हुँदै गएको हो । चिसो छल्न र चराउन रुकुमको भूमे गाउँपालिका–१ लुकुमबाट ल्याइएका मध्ये रोल्पादेखि दाङको सैघासम्म एक सय १० वटा र रोल्पाको सातदोबाटोमै एक सय २० वटा भेडा मरेको पिलम पुनले जानकारी दिनुभयो ।

झोक्राउने, उच्च ज्वरो आउने र पातलो दिसा गर्ने लक्षणपश्चात भेडाहरु धमाधम मर्ने गरेका थिए । यसै क्रममा शुक्रवार पशु स्वास्थ्य प्राविधिकहरुको टोलीले उपचार गरेको थियो ।

साथै आइतवार भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. वेदबहादुर केसी र घोराही उपमहानगरको पशु सेवा शाखाका प्रमुख जीवराज पौडेलको नेतृत्वमा गएको प्राविधिक टोलीले झण्डै दुई सय भेडाको वनमै उपचार गरेको छ । भेडालाई एन्टिबायोटिक औषधिको खोप र ज्वरो तथा एलर्जी नियन्त्रण गर्ने खोप दिइएको छ ।

उपचारमा डा. वेदबहादुर केसी, जीवराज पौडेल, गोविन्द नेपाली, महेन्द्रप्रसाद चौधरी, ननसरा पुन र दिपीका बुढासहितको पशु स्वास्थ्य प्राविधिक टोलीले उपचार गरेको हो । साथै वडा नं. १९ का सदस्य जंग रोकासमेत पशु स्वास्थ्य प्राविधिकसहितको टोलीमा पाँच पोखरी पुगेर उपचार र व्यवस्थापनमा सहजीकरण गर्नुभएको छ । रामकृष्ण पुन, पिलम पुन, धर्मकुमारी पुन र धर्म बुढाले झण्डै पाँच सय भेडाबाख्रा दाङमा ल्याउनुभएको छ ।

यसैबीच भेडाहरुको रगत, कचेरा समेत जाँचका लागि ल्याइएको छ भने आन्द्रा जाँचका लागि समेत भेटेरेनरी अस्पतालले मरेका भेडा कार्यालयमा ल्याएको छ । यसअघि जाँचका लागि नमूना क्षेत्रीय पशुरोग अन्वेषण प्रयोग शाखा सुर्खेतमा पठाइएको छ । केन्द्रका प्रमुख डा. केसीका अनुसार पाचन प्रणाली र स्वासप्रस्वासमा समस्या देखिएको पाइएको छ ।

पोष्टमार्टम गर्दा फोक्सो र ठूलो आन्द्रामा घाउ भेटिएको छ । विज्ञ केन्द्रका प्रमुख केसीले चिसोका कारण पनि यस्तो समस्या आउने र यो सरुवा रोग भएको बताउनुभयो ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…