देउवाको कारण नेपाली काङ्ग्रेस पुरै पार्टी धरापमा पर्‍यो : पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय सच्याउनुपर्ने अडान राखेका छन्।

महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गराएको आरोप लगाए।

सभापति देउवाले आफू पक्षका केन्द्रीय सदस्यको उपस्थितिमा शुक्रबार केन्द्रीय समितिबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने र २८ विभाग बढाएर ४७ वटा बनाउने निर्णय गराएका थिए।

बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका केन्द्रीय सदस्य शुक्रबारको बैठकमा सहभागी थिएनन्। आफूहरू नै सहभागी नभएको बैठकबाट एकलौटी ढंगले विधान मिचेर निर्णयहरू भएपछि पौडेल पक्षले महामन्त्री कोइराला निवासमा शनिबार छलफल गरेका हुन्।

आफ्नो पक्षका नेतासँग छलफल गरेपछि पौडेलले पत्रकार सम्मेलन गरी सभापति देउवाको आलोचना गरे। पार्टीलाई धरापमा पार्ने काम सभापतिले गरेको उनको दाबी थियो।

‘पार्टीलाई धरापमा पारियो,’ उनले भने, ‘हामीसँग जति भए पनि समय थियो। मंसिर ४/५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो। तर ०७७ को पल्लाछेउमा लगेर महाधिवेशनको मिति तोकियो। यो नै डरलाग्दो कुरा हो।’

पौडेलले विधानको घेराभित्र रहेर सहमतिअनुसार पार्टी सञ्चालन गर्नुपर्ने बताए। भातृ संस्था नेविसंघ, दलित संघलगायतको अधिवेशन नगराएर संकटमा पुर्याउने काम सभापति देउवाले गरेको पनि पौडेलले बताए।

‘भातृ संस्थाको अधिवेशन नेतृत्वको हेलचक्राइँका कारणले कयौं वर्षदेखि रोकिएको छ। भातृ संस्था अलपत्र छ,’ उनले भने, ‘हामीले पार्टीलाई एउटा सिष्टममा चलोस् भनेका हौं।’

उनले १३ औं महाधिवेशनबाट आएको नेतृत्वको कार्यकाल यही फागुनमा सकिने भए पनि कुनै छलफल विना एक वर्ष कार्यकाल थप गरिएको पनि उल्लेख गरे।

‘आफ्नै पार्टीभित्र पनि केही मान्छेमात्रै बसेर महाधिवेशन घोषणा गर्ने?,’ उनले प्रश्न गरे, ‘आम चुनाव घोषणा गर्दा त सबै पार्टीसँग छलफल गरिन्छ। विधानमै नभएको व्यवस्थाअनुसार कहाँबाट ४७ विभाग गठन गर्ने निर्णय आयो?’

गत मंसिरमा भएको महासमिति बैठकले गरेका निर्णय उल्टाउने अधिकार सभापति देउवालाई नभएको उनले बताए।

‘१२ सय जना महासमिति सदस्यले महासमिति बैठकबाट गरेको निर्णय केन्द्रीय समितिमा बहुमत छ भन्दैमा मिच्ने?,’ उनले भने, ‘२८ विभागलाई ४७ बनाउनु भनेको पद सिर्जना गरेर बाँड्ने पपञ्च र षड्यन्त्र हो।’

सभापतिले विधानका केही धारा निलम्बन पनि गरेको पौडेलको भनाइ छ। ‘अहिले क्रियाशील सदस्य भयो भने अहिले नै भोट हाल्न पाउने गरी निलम्बन गरिएको छ,’ उनले भने, ‘महाधिवेशन हुनुभन्दा छ महिना पहिले क्रियाशील सदस्यता लिनेले मात्रै भोट हाल्न पाउने विधानमा व्यवस्था थियो, त्यो किन निलम्बन गरियो?’

सभापतिले वैधानिक पार्टीलाई भताभुंग पार्न खोजेको आरोप उनले लगाए। ‘गलत मनशायबाट निर्णय भएका छन्। ती निर्णय सच्याउनुपर्छ,’ उनले भने, ‘सच्चिएन भने देशभरका कार्यकर्तामाझ हामी जान्छौं।’ देशभरका साथीहरू भेटेपछि पार्टीलाई सुधार गरेर लैजाने दाबी पौडेलले गरे।

उनले नेतृत्वबाट सजक रहन देशभरका कार्यकर्तालाई आग्रह गरेका छन्। ‘साथीहरूलाई सजक रहन अपिल गर्छु। बहुमत छ भन्दैमा एकलौटी निर्णय छुट छैन,’ पौडेलले भने।

उनले सुरूमै कोइराला निवासमा पत्रकारहरूलाई आफ्ना तर्फबाट स्वागत पनि गरेका थिए।

पौडेलपछि बोलेका वार्ता टोली संयोजक पूर्वमहामन्त्री सिंहले पनि सहमतिमै पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए। विवादका विषयमा आफू र उपसभापति विमलेन्द्र निधिबीच कुराकानी चलिरहेको तथा सहमतिमा पुग्नै लागेका बेला एकलौटी निर्णय भएको उनले बताए।

महामन्त्री कोइरालाले सभापति र बरिष्ठ नेतालाई मिलेर नै अघि बढ्न आफूले पटकपटक आग्रह गर्दै आएको उल्लेख गरे।

‘यो निर्णयले पार्टीलाई झन् धरापमा पारेको छ,’ कोइरालाले भने, ‘सबैभन्दा पहिले पार्टी एक गर्नुपर्यो। सभापति र बरिष्ठ नेताले सोच्नुपर्छ। अनि मात्रै कम्युनिष्टहरूसँग लड्न सकिन्छ।’

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…